काठमाडौं– सैनिक प्रहरीले नेपाली सेनाका उपरथी प्रेम शाहीलाई नियन्त्रणमा लिएको छ। शाही सर्वोच्च अदालतले पदावधि नथपेको भए २० पुसमा उमेर हदका कारण अवकाशमा जाँदै थिए। उपरथी शाहीले आफ्नो पदावधि एक वर्ष बाँकी रहेको दाबीसहित जंगी अड्डा र रक्षा मन्त्रालयविरुद्ध सर्वोच्चमा रिट दायर गरेका थिए।
सोमबार मात्रै सर्वोच्चले शाहीको पक्षमा फैसला गरेको थियो। फैसलाको सक्कलसहित जंगी अड्डा जानै लाग्दा उनलाई सैनिक प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ। मंगलबार उपरथी शाहीलाई आर्थिक अनियमितता गरेको आरोपमा नियन्त्रणमा लिएको सैनिक प्रवक्ता सहायक रथी कृष्ण भण्डारीले पुष्टि गरे।
उनले भने, ‘आर्थिक अनियमितता लगायतका विषयमा छानविन गर्न उहाँलाई ब्यारेकमै बस्न निर्देशन दिइएको हो। अहिले स्वास्थ्य परीक्षणका लागि वीरेन्द्र सैनिक अस्पताल छाउनी लगिएको छ। अनुसन्धान नसकिएसम्म जंगी अड्डाकै उपयुक्त ठाउँमा राखिनेछ।’