उदयपुर- चोरीको आरोपमा उदयपुर त्रियुगा नगरपालिका ११ मिनी मार्केट क्षेत्रबाट सोमबार दिउँसो प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। डलर, भारु, यूरोसहित खोटाङ दिक्तेल रुपाकोट मझुवागढी–१० पाथेका २१ वर्षीय सुजन गिरीलाई प्रहरीले पक्राउ गरेको हो।
मिनी मार्केट नजिकैको गिफ्ट पसलमा पेस्तोल किन्न भन्दै गएका गिरीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक राकेशकुमार पोदारले बताए। गिफ्ट पसलमा पेस्तोल पाइन्छ भनी सोधिरहेको सूचना पाएपछि प्रहरीले गिरीलाई नियन्त्रणमा लिएको प्रहरी नायव उपरीक्षक पोदारले बताए।
पक्राउ परेका गिरीसँगको प्रारम्भिक सोधपुछमा ५/६ दिनयता उनी गाईघाट बजारको मेलिना होटलमा रहेको खुलेको प्रहरी नायव उपरीक्षक पोदारले बताए। गिरी बस्दै आएको होटलमा खनतलासी गर्दा नेपाली रुपैयाँ १ लाख ८५ हजार ४ सय १५, अमेरीकी डलर २ सय ९२, भारतीय रुपैयाँ २ लाख ५९ हजार एक सय र ८० यूरो बरामद गरिएको प्रहरीले जनाएको छ।
त्यसैगरी चाँदीको जस्तो देखिने सिक्री २ थान, चाँदीको जस्तो ब्रासलेट एक थान, सुन जस्तो देखिने पहेंलो धातुको औँठी १, घडी १ थान, मोबाइल, बुद्धचित्त र रुद्राक्षको एउटा माला र ४ वटा सिमाला बरामद भएको प्रहरी नायव उपरीक्षक पोदारले बताए। उनलाई पक्राउ गरेर अनुसन्धान थालिएको प्रहरीको भनाइ छ।