काठमाडौं– निर्वाचन आयोगले आगामी २५ माघमा राष्ट्रिय सभाको रिक्त सदस्यका लागि उपनिर्वाचन गर्ने गरी निर्वाचनको मिति तोक्न सरकारलाई सुझाएको छ। सरकारले तोकेको मितिमा आयोगले उपनिर्वाचन गराउनुपर्ने व्यवस्थाअनुसार मिति तोक्न लिखित परामर्श दिएको हो। सोमबार आयोगका प्रमुख निर्वाचन आयुक्तसहितका पदाधिकारीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर यस्तो परामर्श दिएका हुन्।
छलफलमा उपप्रधानमन्त्रीद्वय विष्णुप्रसाद पौडेल, रवि लामिछाने र सरकारका मुख्यसचिव शंकरदास वैरागी उपस्थित थिए। प्रधानमन्त्रीसँगको छलफलमा राष्ट्रिय सभाको रिक्त सदस्य निर्वाचन, राष्ट्रपति तथा उपराष्ट्रपति पदको निर्वाचन र एकीकृत निर्वाचन कानुनलगायत समसामयिक विषयमा छलफल तथा परामर्श भएको आयोगले जनाएको छ।
छलफलमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले राष्ट्रिय सभामा लुम्बिनी प्रदेशबाट निर्वाचित सदस्य खिमलाल भट्टराई (अन्य समूह)को २३ असोज २०७९ मा राजीनामा स्वीकृत भई रिक्त पदको उपनिर्वाचन गर्ने, वर्तमान राष्ट्रपतिको पदावधि २८ फागुन २०७९ सम्म हुने भएकाले सोअगावै राष्ट्रपतिको निर्वाचन र राष्ट्रपतिको निर्वाचन भएको १५ दिनभित्र उपराष्ट्रपति पदको निर्वाचन सम्पन्न गराउनुपर्ने अवस्था रहेको प्रधानमन्त्री प्रचण्डलाई अवगत गराएका थिए।