शुक्रबार, कात्तिक २, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

किनाराकृत राजनीति पर्खिरहेको 'रवि उछाल'

सधैं विवाद र चर्चामा रहने रवि लामिछानेले गृहमन्त्री भइसकेपछि कसरी काम गर्लान्? यो आम चासोको विषय बनेको छ। नेताहरूलाई कुशलतापूर्वक जिम्मेवारी निर्वाह किन नगरेको भन्दै खरो प्रश्न तेर्स्याउने रवि आफू नै नेता भइसकेपछि उनको कार्यशैली कस्तो रहला भनेर चासो बढेको हो।
 |  सोमबार, पुस १८, २०७९
nespernesper

यज्ञराज जोशी

यज्ञराज जोशी

सोमबार, पुस १८, २०७९

काठमाडौं– नेपालमा पछिल्ला केही वर्षयता चर्चामा रहिरहने नाममा पर्छ– रवि लामिछाने। उनी पत्रकारितामा हुँदा होस् वा राजनीतिमा होमिँदा, सधैं कुनै न कुनै रुपमा चर्चामा नै रहे। छोटो समयमा राजनीतिक दल दर्ता गरेर उपप्रधान एवम् गृहमन्त्री भएपछि त उनको चर्चा थप चुलिएको छ।

triton college

सुरुमा अलिकति पृष्ठभूमि जोडौं। 

२०७२ असोज २४ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पहिलो पटक प्रधानमन्त्रीमा नियुक्त भएका थिए। त्यसको केही समयपछि उनले ‘सिधा कुरा प्रधानमन्त्री’सँग नामक कार्यक्रमको परिकल्पना गरे। त्यसको होस्टको रूपमा रवि लामिछाने थिए। 

ओली सरकार २ सय ८७ दिन चल्यो। कांग्रेस र माओवादी केन्द्रले संसद्मा आफूविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेपछि ९ साउन २०७३ मा ओलीले प्रधानमन्त्रीबाट राजीनामा दिए। त्यसपछि २०७३ साल साउन १९ गते पुष्पकमल दाहाल ‘प्रचण्ड’ दोस्रो कार्यकालका लागि प्रधानमन्त्री भए। त्यसपछि नेपाल टेलिभिजनको ‘सिधा कुरा प्रधानमन्त्रीसँग’बाट रवि निकालिए।

२०७३ असोज ५ गते रवि लामिछानेले त्यही ‘ब्रान्ड’ क्यास गर्दै नयाँ कार्यक्रम ‘सिधा कुरा जनतासँग’ ल्याउने घोषणा गरे। र, उनले न्युज २४ टिभीबाट उक्त कार्यक्रम चलाउन थाले। त्यसक्रममा उनी सधैंजसो चर्चामा नै रहे। उनको खरो प्रस्तुति र जनताका कुरा जस्ताको त्यस्तै राख्ने फरक ढंगको समाचारप्रधान कार्यक्रम भएकाले कार्यक्रम निकै रुचाइयो। कार्यक्रमले राम्रो चर्चासमेत बटुल्यो।

Metro Mart
vianet

त्यसभन्दा पहिले उनी केही समय अमेरिकामा पनि बसे। अमेरिकामा उनका दुई छोरी छन्। उनले पूर्वपत्नीसँग सम्बन्ध विच्छेदसमेत गरेका छन्। सन् २०१३ को अप्रिलमा नेपालको न्युज २४ टेलिभिजनमा निरन्तर ६० घण्टाभन्दा बढी समय टेलिभिजन अन्तर्वार्ता चलाएर उनले विश्व रेकर्ड कायम गरेका छन्।

पछि ‘सिधा कुरा जनतासँग’ चलाउने क्रममा २०७६ भदौमा उनीविरुद्ध सहकर्मी शालिकराम पुडासैनीलाई आत्महत्या दुरुत्साहन गरेको आरोप लाग्यो। पत्रकार पुडासैनीले आत्महत्या गर्नुअघि रेकर्ड गरेको भिडियोमा रवि लामिछानेसहित युवराज कँडेल र अस्मिता कार्कीको नाम उल्लेख गरेका थिए। उनीहरुकै कारण आफूले आत्महत्या गर्नुपरेको उनले दाबी गरेका छन्। यसैका आधारमा प्रहरीले तीनैजनालाई आत्महत्या दुरुत्साहन कसुरमा पक्राउ गर्यो। पछि सबैजना धरौटीमा छुटे र जिल्ला अदालत चितवनले सबैलाई सफाइ पनि दियो।

उनले तीन वर्षअघि २०७५ माघ ७ गते चलचित्र विकास बोर्डकी पहिलो महिला अध्यक्ष निकिता पौडेलसँग ‘कोर्ट म्यारिज’ गरे। २०७८ असोज १५ गते रविले ग्यालेक्सी टेलिभिजनको नियमित प्रसारण सुरु गरे। न्युज २४ मा आफूले ब्रान्ड बनाएको कार्यक्रम ‘सिधा कुरा जनतासँग’ को कपिराइट विवादपछि ग्यालेक्सीमा रविले ‘सिधा कुरा’ नामक कार्यक्रम उही शैलीमा सञ्चालन गरे। यी घटनाक्रमले पनि उनी सधैं चर्चामा नै रहे।

यहीबीचमा २०७९ असार ७ गते रविले ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ को घोषणा गरे। असार १७ गते राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोगमा दर्ता भयो। दल दर्ताको निवेदन आयोगमा परेदेखि स्वतन्त्रहरु ले सो दलको नाममा विरोध जनाउँदै आएका थिए। दलको विरुद्धमा सर्वोच्चमा रिटसमेत दर्ता भएको थियो। दलको चुनाव चिन्ह गोलाकारभित्र घण्टी राखियो।

एउटा आक्रामक टिभी पत्रकारले अचानक पत्रकारिता छाडेर राजनीतिमा प्रवेश गरेको छोटो समय ६ महिनामा नै आफ्नो दललाई राष्ट्रिय दलको रुपमा दर्ज गराए। प्रतिनिधिसभामा प्रत्यक्षमा सात सिट जितेको रास्वपालाई समानुपातिकसहित २० सिटको सफलता दिलाउँदै उनले नेपाली राजनीतिको मूल धारमा आफूलाई वार्गेनिङ पावर भएको दलको अध्यक्षको रुपमा स्थापित गरे। जसले गर्दा उनी अनपेक्षित रुपमा उपप्रधानमन्त्रीसहित गृहमन्त्री बन्न पुगे। 

२०७२ सालमा बनेको नयाँ संविधानपछि कार्यान्वयनमा ल्याइएको संघीय व्यवस्थामा यो दलले आफ्नो प्रतिबद्धता कायमै राखे पनि प्रदेशसभा खारेज हुनुपर्ने मत राखेको छ स्वतन्त्र पार्टीले। उसले प्रदेशसभामा उम्मेदवारी नै नदिएर प्रदेशसभाको विपक्षमा आफ्नो अडान स्पष्ट गरिसकेको छ। 

प्रतिनिधिसभा निर्वाचन २०७९ मा चितवन–२ बाट चुनाव लडेका लामिछानेले लोकप्रिय मत प्राप्त गरेका थिए। यति बेला पनि उनी विवादमा नै छन्। रविसँग अमेरिकाको ग्रिनकार्ड भएको विषय पनि बाहिर आएको छ। तर, उनले पछि ग्रिनकार्ड त्यागेको घोषणा गरे। उनी सन् २००७ देखि २०१७ सम्म अमेरिकी नागरिक रहेको तथ्य भेटिन्छ। एक दशक अमेरिका बसाइपछि फर्किए पनि उनले ग्रिनकार्ड छाडेका थिएनन्। यो विषय बाहिर आएपछि उनले ग्रिनकार्ड त्यागेको घोषणा गर्दै नेपाली हरियो पासपोर्टमा विदेश यात्रा गरेको सार्वजनिक गरेका थिए।

रविको नाम धेरै महिलासँग पनि जोडियो। जसमध्ये लोकप्रिय नायिका करिश्मा मानन्धर पनि हुन्। करिश्मासँग उनी अमेरिकामा लिभिङ टुगेदर बसेको विषय बाहिर आएको थियो। करिश्माले यसबारे पत्रकारहरुको प्रश्नको सामना पनि गर्नुपरेको छ पटकपटक। रवि लामिछाने हिरासतमा हुँदा उनका समर्थकहरुलाई करिश्माले भेडाको संज्ञा दिएर ट्विट गरेकी थिइन्।

रविको एउटा मुद्दा अहिले पनि सर्वोच्च अदालतमा विचाराधीन छ। लामिछानेको नागरिकता र पासपोर्ट विवादबारे परेको मुद्दाको टुंगो अझै लागेको छैन। यद्यपि, सर्वोच्चले लामिछानेलाई सांसदको शपथ लिने बाटो भने खोलिदिएको छ। रवि लामिछानेविरूद्ध प्रतिनिधिसभाका सदस्यको रूपमा शपथ नगराउन मंसिर २८ गते रिट दायर भएको थियो। लामिछानेले अमेरिकी नागरिकता लिँदा नेपाली नागरिकता खारेज नगरेको र फेरि अमेरिकी नागरिकता त्याग गरेपछि पनि पुनः पुरानै नागरिकताको प्रयोग गरेको आरोप छ।

यस्तै अमेरिकी पासपोर्ट हुँदाहुँदै नेपाली पासपोर्ट पनि लिएको आरोप छ। लामिछानेले २०५० सालमा प्राप्त गरेको नागरिकता नै प्रयोग गरिरहेका छन्। उनले अमेरिकी नागरिकता लिएपछि पनि नेपाली नागरिकता त्यागेको देखिँदैन। विदेशी नागरिकता लिनेबित्तिकै नेपाली नागरिकता कायम रहँदैन। विदेशी नागरिकता लिने भएपछि आफैंले नागरिकता त्याग्नुपर्छ। तर उनले निष्क्रिय भइसकेको नागरिकताका आधारमा २०१५ मै नेपाली पासपोर्ट लिएको देखिन्छ। लामिछानेले मंसिर ४ को चुनावमा पुरानै नागरिकताको प्रयोग गरी उम्मेदवारी दिएका थिए। 

यस विषयमा निर्वाचन आयोगमा पनि उनीविरूद्ध उजुरी परेको थियो। आयोगले स्पष्टीकरण सोध्दासम्म मतदान भइसकेको थियो। त्यसपछि उनीविरूद्ध गृह मन्त्रालयमा उजुरी परेको थियो। उक्त उजुरी परेपछि गृहबाट काठमाडौं प्रशासनलाई पत्राचार गरिएको थियो। प्रशासनले परिसरलाई निर्देशन दिएपछि अनुसन्धान थालेको थियो।

विदेशी नागरिकता त्याग्नुभन्दा पहिले नै नेपाली राहदानी लिएको अनुसन्धानबाट देखिए लामिछानेलाई जरिवाना र कैद सजाय हुन सक्छ। कसैले झूटा विवरण दिएर राहदानी वा यात्रा अनुमति लिने वा लिने प्रयत्न गरेमा पनि कानुनले सजाय तोकेको छ। राहदानी ऐन २०७६ को दफा २१ क मा झूटा विवरण दिई राहदानी लिन नहुने उल्लेख छ। यदि लिएमा भने दफा २२ बमोजिम दुई लाखदेखि पाँच  लाख रूपैयाँसम्म जरिवाना वा एक वर्षदेखि ३ वर्षसम्म कैद सजाय वा दुवै सजाय हुने कानुनी व्यवस्था छ।

यो त भयो रविको विवाद, चर्चा र सफलताको श्रृंखला। सधैं विवाद र चर्चामा रहने रविले गृहमन्त्री भइसकेपछि कसरी काम गर्लान्? यो आम चासोको विषय बनेको छ। नेताहरूलाई कुशलतापूर्वक जिम्मेवारी निर्वाह किन नगरेको भन्दै खरो प्रश्न तेर्स्याउने रविले आफू नै नेता भइसकेपछि उनको कार्यशैली कस्तो रहला भनेर आम चासोको विषय बनेको हो।

राजनीतिक विश्लेषक एवम् नागरिक आन्दोलनका अगुवा श्याम श्रेष्ठ राजनीतिमा रविको ‘सफलता’लाई पुराना दलका नेताहरूको असफलताको परिणाम मान्छन्। ‘ठूला दलप्रति जनता निरास भए। उनीहरूप्रति जनताको निरासा बढ्यो। त्यसैले कुनै पनि दलले संसदमा अपेक्षा गरे अनुसारको बहुमत प्राप्त गर्न सकेनन्। एउटा–दुई दल मिलेरमात्रै सरकार बन्न सक्ने अवस्था भएन। कि नेकपा एमाले र कांग्रेस मिल्नुपर्थ्यो। त्यो स्थिति थिएन। यस्तो अवस्थामा धेरै दल मिलाउनुपर्ने भएपछि दोस्रो तहका ठूला दलमा रविहरूको बार्गेनिङ पावर बलियो भयो। उनीहरूको महत्व बढ्यो। र, सरकारमा ठूलो भाग पाउन सफल भए,’ श्रेष्ठ भन्छन्।

यस्तो खाले राजनीतिक समीकरण सही ढंगबाट जान सके मुलुकलाई फाइदा हुने र नत्र पुनः पुरानै भद्रगोल अवस्था सिर्जना हुनेप्रति उनको चिन्ता छ। ‘नयाँ सोच र योजनाका साथ अघि बढ्न सके फाइदा हुन्छ। उनीहरू परीक्षणको क्रममा छन्। उनीहरूबाट पनि सिद्धान्तहिनता, नैतिकहिनता प्रदर्शन भयो भने देशलाई घाटा हुन्छ। अहिले त्यसको मझदारमा छ देश,’ उनी भन्छन्। नयाँ शक्ति केही गर्न सक्दैनन् भन्ने अर्थमा भने अहिले नै परिभाषित गर्नु गलत हुने उनको भनाइ छ।

जुनसुकै दल पनि सुरुमा नयाँ शक्तिकै रुपमा आउने भए पनि उनीहरूको भविष्य निर्धारण कार्यशैलीले हुने श्रेष्ठ बताउँछन्। ‘फ्रान्समा नयाँ शक्तिले राम्रो गर्यो। अमेरिकामा बाराक ओबामाले नयाँ शक्तिका रुपमा कुशलतापूर्वक देश चलाए। अब्राह्म लिंकन सुरुमा आउँदा नयाँ नै थिए। नयाँले देश चलाउन सक्दैनन् भन्ने होइन। तर, बाटो विराउनु भएन। नैतिकता र सिद्धान्त भुल्नु भएन। पुराना जस्तै बरालिए भने त देश थप दुर्घटनामा जाने निश्चित नै छ,’ उनले भने।

अहिले धेरै राजनीतिक दल एकै ठाउँमा उभिएकाले विगतबाट शिक्षा लिँदै गठबन्धनमा विश्वासको वातावरण बनाएर अगाडि बढ्नुपर्ने उनको भनाइ छ। ‘नेताहरूले काम गरेनन्। बाचा गरेभन्दा उल्टो दिशातिर हिँडे। जसले गर्दा जनतामा वितृष्णा पैदा भयो,’ उनले भने, ‘दुई वर्षभित्र मुलुकलाई खाद्यान्नमा आत्मनिर्भर बनाउने नेताहरूको बाचा थियो। त्यो समय जति खाद्यान्नमा आयात कहिले भएन। देशमा कृषि क्रान्ति गर्ने भनियो, त्यो समय जस्तो कृषिमा बर्बादी कहिले भएन। शिक्षामा २० प्रतिशत बजेट छुट्याउँछु भनेका थिए। त्यो बेलामा जस्तो शिक्षामा निजीकरण कहिले भएन। यसले नेताहरू गतिहीन मात्रै भएनन्, उल्टो दिशामा गए। यही चरित्र नयाँ उदायका दलले पनि देखाए भने उनीहरूको भविष्य पनि लामो हुने छैन,’ श्रेष्ठले भने। उनले अघिल्लो निर्वाचनमा दुई तिहाइको सरकार बन्दा पनि मुलुकमा अस्थिरता सिर्जना भएकाले त्यसबाट सबैले पाठ सिक्नुपर्ने बताए।

कुर्सीको झगडाका कारण देशले दुःख पाउने अवस्था आउन नहुने श्रेष्ठ बताउँछन्। अहिलेका नयाँ दललाई पुराना दलको चरित्र नदोहोर्याउन उनको सुझाव छ। आफ्नो सिद्धान्त र विचारको जगमा उभिएर परिणाममुखी काम गर्न सके उनीहरूलाई जनताले विश्वास गर्ने श्रेष्ठ बताउँछन्।

‘कृषि र उद्योगमा काम गर्नुपर्यो। युवा शक्ति बाहिरिने अवस्थालाई रोक्न सक्नुपर्यो। बिजुली निर्यात गर्ने नभई नेपालको बिजुली खपत गरेर तयारी सामान निर्यात गर्ने मुलुकमा नेपाललाई परिणत गर्नुपर्छ। त्यसपछि देश विकसित र धनी हुने हो,’ उनले भने। गाउँमा परिवर्तनको अनुभूति अझै हुन नसकेकाले त्यो अनुभूति हुने वातावरणको सिर्जना गर्न सकेमात्रै रविहरूको उज्ज्वल भविष्य रहेको श्रेष्ठको ठम्याइ छ।

प्रकाशित: Jan 02, 2023| 11:59 सोमबार, पुस १८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...