रामेछाप- पुर्ख्यौली पेसा संकटमा परेपछि तामाकोसी नदी किनारमा बस्दै आएका माझी माझी समुदायका युवाले वैकल्पिक पेसा रोज्न थालेका छन्। सो नदीमा माछा पाउन छाडेपछि वैकल्पिक पेसा रोज्न थालेका हुन्।
उनीहरु अन्य पेसा व्यवसायमा लाग्दा माझीहरूको पुर्ख्यौली पेसा भने संकटमा परेको छ। मन्थली नगरपालिका–१ का हरि माझीले तामाकोसी नदीमा माछा पाउन छाडेपछि र पक्की पुल बनेपछि डुङ्गा तार्ने र माछा मार्ने समुदायको अहिले आफ्नो पुर्ख्यौली पेसा छोडेर नेपाल प्रहरी, नेपाली सेनामा जागिर खाने, वैदेशिक रोजगारीमा जाने र अन्य पेसा व्यवसायमा लाग्ने क्रम बढेको बताए।
गैरकानुनी रूपमा करेन्ट लगाएर माछा मार्ने क्रम बढेका कारण नदीमा माछा पाउन छाडेपछि कोसी किनारमा बसोबास गर्ने माझी समुदायका पुरुषहरू वैदेशिक रोजगारीमा जाने र महिलाहरू किनारा पसललगायत अन्य पेसा व्यवसायमा लाग्ने क्रम बढेको मन्थली–१ की मञ्जु माझीले गुनासो गरे।
तामाकोसी नदी किनारमा बस्ने माझी समुदायका अधिकांश मानिसहरू पुर्ख्यौली पेसा छाडेर कतिपय वैदेशिक रोजगारीमा गएका छन् भने केही इँटाभट्टालगायत अन्य पेसा व्यवसायमा लागेका छन्। सीमान्तकृत जातिमा पर्ने माझी समुदायको आफ्नो भाषा, संस्कार संस्कृति लोप हुँदै गइरहेको अवस्थामा सो समुदायले आफ्नो भाषा, संस्कार, संस्कृति र रीतिरिवाजको संरक्षण गर्दै आएका थिए। जिल्लामा माझी समुदायको जनसङ्ख्या ६ हजार ४२ रहेको छ।