धनगढी- केही सातायता बस्तीमै बाघ डुल्न थालेपछि कैलालीको दक्षिणी क्षेत्रका स्थानीय त्रसित भएका छन्। जिल्लाको कैलारी गाउँपालिका ७ र ५ नम्बर वडाका विभिन्न बस्तीहरूमा बाघको त्रास बढेको हो।
स्थानीयले सो बाघ भारतको दुधुवा नेशनल पार्कबाट वसन्ता कोरिडोर हुँदै बस्तीसम्म पुग्नेको आशंका व्यक्त गरेका छन्। बाघ नरभक्षी रहेको आशंका बढेपछि झनै स्थानीयहरू त्रसित भएका हुन्।
स्थानीयका अनुसार गर्दनमा ‘बेल्ट’ जस्तो बाँधिएको बाघ केही सातादेखि गाउँ, खेततिर देखिने गरेको छ। बाघको गर्दनमा बेल्ट बाँधिएको जस्तो देखिएको वस्तु सम्भवतः ‘रेडियो कलर’ जडान गरिएको अनुमान गरिएको छ।
प्रायः दिनहुँ बाघ देखिन थालेपछि स्थानीय पालिकाले सतर्कता अपनाउन अनुरोध गरेको छ। गाउँपालिकाको ७ नम्बर वडा कार्यालयले बिहीबार एक सूचना जारी गरी स्थानीयलाई सतर्कता अपनाउन अनुरोध गरेको हो। गाउँपालिकाका प्रवक्तासमेत रहेका ७ नम्बर वडाध्यक्ष दीपेन्द्र बमले बाघ देखिएको अवस्थामा इलाका प्रहरी कार्यालय हसुलिया, सशस्त्र प्रहरी बल पोष्ट रामपुर, सबडिभिजन वन कार्यालय वसन्ता वा वडा कार्यालयलाई तत्काल जानकारी गराउन अनुरोध गरेको बताए।