काठमाडौं–नेपाल निर्माण व्यवसायी महासंघको ११ औं अधिवेशनमा अध्यक्षका लागि चार जनाले भिडन्त गरिरहेका छन् । जसमा तीन जना प्यानलसहित उठेका छन् भने एक जनाले स्वतन्त्र उमेदवारी दिएका छन् ।
प्यानलसहित उठ्नेहरुमा रामशरण देउजा, रवि सिंह, यज्ञध्वज कार्की रहेका छन् भने पुरुषोत्तम मानन्धर प्यानलरहित स्वतन्त्र रुपमा उठेका हुन् ।
अध्यक्षको प्रत्यासी रामशरण देउजाको प्यानलमा महासचिव दिपक गौचन, उपमहासचिवमा(नीतिगत) पदका उमेदवारमा चन्द्रशेखर मल्ल, उपमहासचिव(आन्तरिक) उमेदवारमा निलध्वज थापा, कोषाध्यक्षमा माधव घिमिरे लगायत ६ पदाधिकारीहरु आवद्ध छन् । उनी महासंघका निवर्तमान महासचिव हुन् ।
त्यस्तै अध्यक्षका उमेदवार रवि सिंहको प्यानलमा वरिष्ठ उपाध्यक्षमा निकोलश पान्डे, महासचिवमा हुमनाथ कोइराला, कोषाध्यक्षमा हिरण श्रेष्ठ लगायतका १३ जना आवद्ध छन् ।
उनीसँग महासंघको केन्द्रीय सदस्य, कोषाध्यक्ष, द्धितिय उपाध्यक्ष र वरिष्ठ उपाध्यक्षको अनुभव छ । अर्का अध्यक्ष यज्ञध्वज कार्कीको प्यानलमा वरिष्ठ उपाध्यक्षमा लक्ष्मण कुमार राना, महासचिवमा रोशन दाहाल, कोषाध्यक्षमा गौरीप्रसाद उप्रेती छन् ।
कार्की महासंघका सल्लाहकारको रुपमा रहेका थिए । उनीसँग अध्यक्ष भएर महासंघमा काम गरेको अनुभवका साथै निर्माण व्यवसायको २८ वर्षको अनुभव छ ।
महासंघको नयाँ नेतृत्वका लागि भएको निर्वाचनको मतगणना शुरु भएको छ । दिउँसो चार बजेदेखि मतगणना शुरु भएको निर्वाचन समितिका अधिकृत नवराज भन्डारीले जानकारी दिए ।
‘बिहान झन्डै १० बजेदेखि मतदान सुरु भएको थियो,’ उनले भने ‘साढे दुई बजे मतदान सकियो ।’९३७ मत खस्नु पर्नेमा ९०८ संख्यामा खसेको छ । साँझ करिब ११ बजेसम्ममा मतदान परिणाम आउने उनको भनाइ छ ।
यस २० औं साधारणसभा तथा ११ औं अधिवेशनद्धारा ५९ जना पदाधिकारीहरु चयन गरिनेछन् । जसमा ५३ जना सातै प्रदेश, महिला, जनजाति, पिछडिएको वर्ग, वस्तुगत समूह लगातयबाट छनौट गरिनेछ ।
पाँच जना पदाधिकारीलाई अध्यक्षले मनोनित गर्नेछ भने एक जना निवर्तमान अध्यक्षको रुपम रहनेछ । साधारणसभाको बिहीकारनै प्रधानमन्त्री केपी ओलीले उद्घाटन गरेका थिए । साथै सोही दिन बन्दसत्र सम्पन्न भएको थियो ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४