काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको कोटामा परेको गृह मन्त्रालयले सुरक्षाकर्मीलाई राजनीतिक दलका नेतालाई नभेट्न र भेट्नैपर्ने भए आफ्नो अनुमति लिन निर्देशन दिएको छ।
बिहीबार मन्त्रालयका सहसचिव तथा प्रवक्ता फणीन्द्रमणि पोखरेलले विज्ञप्ति निकालेर विभागीय स्वीकृतिबिना विभिन्न राजनीतिक दलका नेता र कूटनीतिक नियोगका पदाधिकारी भेट्ने सुरक्षा पदाधिकारीलाई कारबाही हुने चेतावनी दिएका हुन्।
सुरक्षाकर्मीले विभागीय स्वीकृति लिएर मात्रै राजनीतिक नेतृत्व र कूटनीतिक नियोगका पदाधिकारीलाई भेट्न सक्ने मन्त्रालयले स्पष्ट पारेको छ। ‘शान्ति–सुरक्षा तथा अमनचयन कायम गर्ने प्रमुख जिम्मेवारी भएको सुरक्षा निकायका कतिपय पदाधिकारी कर्तव्य पालनाको सिलसिलामा बाहेक पनि विभिन्न कूटनीतिक नियोग, राजनीतिक नेतृत्वसँग भेटघाट गर्ने गरेको बुझिन आएको हुँदा सुरक्षाकर्मी पदाधिकारीले कूटनीतिक नियोग, विभिन्न राजनीतिक दलका कार्यालय वा नेतृत्वसँग भेटघाट गर्नैपर्ने भए स्पष्ट प्रयोजन र विभागीय स्वीकृति लिएर मात्र गर्नू÷गराउनूहुन तथा सोको प्रभावकारी कार्यान्वयन तथा अनुगमन सम्बन्धित संगठन प्रमुखले मिलाउन अनुरोध छ’, विज्ञप्तिमा भनिएको छ, ‘निर्देशन विपरीत कार्य गरेको पाइए प्रचलित कानुनबमोजिम अनुशासनसम्बन्धी कारबाही हुने बेहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ।’