काठमाडौं- देशभरको तापक्रम क्रमिक रुपले घटिरहेका बेला तराईका जिल्लामा बाक्लो कुहिरो र हुस्सु लाग्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
हिमाली क्षेत्र र उच्च पहाडी भूभागमा हल्का हिमपात र तराईका जिल्लामा हुस्सु लाग्ने भएपछि जाडो बढ्ने विभागको भनाइ छ। जाडोबाट बच्न सतर्कता अपनाउन विभागले आग्रह गरेको छ।
विभागका अनुसार आज बुधबार प्रदेश १ को पहाडी भूभागमा आंशिक बदली रहने छ। तराईका जिल्लामा हुस्सु लागे पनि बाँकी भागमा मौसम सफा रहने छ। आज राति प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहने छ।
त्यस्तै, भोलि १४ गते बिहीबार पनि प्रदेश १ र सुदूरपश्चिमको पहाडी भूभागमा आंशिक बदली रहने छ। विभागले जनाएअनुसार प्रदेश १ को उच्च पहाडी भूभागमा हल्का हिमपात हुनेछ।
सोहीअनुसार १५ गते शुक्रबार देशभरिका पहाडी भूभागमा आंशिक बदली रहने छ। एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ। पानी पर्ने भएपछि हिमपात पनि हुनेछ। तापक्रम क्रमशः घट्दैगएकाले न्यानो हुने उपायबारे आवश्यक व्यवस्था गर्न विभागले आग्रह गरेको छ। देशभरको तापक्रम अन्य दिनको तुलनामा घट्दैगएको देखिएको छ।