शुक्रबार, फागुन २९, २०८२

शल्यक्रियाबाट भैंसी सुत्केरी गराउँदा...

पशु चिकित्सक डा. ठाकुर नेतृत्वको प्राविधिक टोलीले आरुखर्कका किसान रामप्रसाद ढकालको व्यथा लागेको एक सातासम्म ब्याउन नसकी छटपटाएको भैंसीको शल्यक्रिया गरेको हो।
 |  मंगलबार, पुस १२, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, पुस १२, २०७९

त्रिशूली– नुवाकोटको बेलकोटगढी नगरपालिका–१ आरुखर्कका किसान रामप्रसाद ढकालको ब्याउन नसकेको भैंसीको सोमबार शल्यक्रिया (सिजरिन प्रविधि) प्रयोग गरेर सुत्केरी गराइएको छ। नुवाकोटमा पशुचौपायाको शल्यक्रिया गरेर सुत्केरी गराइएको यो पहिलो पटक भएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र नुवाकोटका पशु चिकित्सक डा.बबलु ठाकुरले जानकारी दिए।

National life

उनको नेतृत्वमा रहेको प्राविधिक टोलीले व्यथा लागेको एक सातासम्म ब्याउन नसकी छटपटाएको भैंसीको सोही गोठमै ‘शल्यक्रिया कक्ष’ बनाएर गरिएको शल्यक्रिया सफल भएको हो।

‘सुत्केरी हुन समय पुगेको उक्त भैंसी व्यथा लागेको एक सातासम्म पनि ब्याउन नसकेपछि एक मात्र अन्तिम विकल्पको रुपमा रहेको शल्यक्रियामार्फत पेट चिरेर पाडो निकालियो’, पशु सेवा विज्ञ केन्द्रका डा.ठाकुरलले भने, ‘पेटमै बच्चा (पाडो) मरेको भएर सुत्केरी हुन नसकेको रहेछ। शल्यक्रियापछि माउको स्वास्थ्य राम्रो छ। घाँसपानी खान थालेको छ।’

केन्द्र प्रमुख भरत पाण्डेले जिल्लामा पशुचौपाय ब्याउन नसक्दा पाठेघरमा हात हालेर निकाल्ने गरेको भए पनि शल्यक्रिया गरेर सुत्केरी गराइएको यो पहिलो पटक र सफलसमेत भएकाले उत्साह जगाएको बताए। यसअघिको समय सुत्केरी हुन नसकी धेरै पशुचौपाया गुमाउनु परेको थियो।

पशुधनको सुरक्षा र कार्यालयका निम्ति सेवा प्रवाहमार्फत किसानको विश्वास जित्न मनोबल उच्च भएको उनको भनाइ छ। ‘दरबन्दी र बजेट कटौतीले दुई जिल्ला (नुवाकोट र रसुवा) हेर्ने भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको भूमिका बनिरहेको थियो’, उनले भने, ‘दक्ष चिकित्सकको क्षमताले गोठमै ‘शल्यक्रिया कक्ष’ खडा गरेर जीवाणुबाट सुरक्षित बनाउनुपर्ने चुनौतीको बीच सफल भएको शल्यक्रियाले केन्द्रलाई उत्साह र किसानका लागि खुसीको सन्देश प्रवाह भएको छ।’

Laxmi sunrise bank
kumari

गत भदौदेखि नुवाकोटमा कार्यरत पशु चिकित्सक डा बबलु ठाकुरको नेतृत्वमा रहेको प्राविधिक टोलीले गरेको शल्यक्रियाको सफलताले नुवाकोट र रसुवाका किसानका लागि पुशधनको सुरक्षा र पशुपालनप्रतिको आकर्षण बढाउन सहयोग पुग्ने देखिन्छ।–रासस

प्रकाशित: Dec 27, 2022| 17:40 मंगलबार, पुस १२, २०७९
प्रतिक्रिया दिनुहोस्