बिहीबार, जेठ २८, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • मुस्ताङका किसानलाई स्याउ बगैँचा व्यवस्थापनको चटारो

मुस्ताङका किसानलाई स्याउ बगैँचा व्यवस्थापनको चटारो

दाना टिपेर पात झरेर रित्ता बनेका स्याउका बोटबाट अनावश्यक हाँगा हटाउने, जरामा मल राख्ने, गोडमेल र सिँचाइ गर्ने काममा कृषक जुटेका हुन्। भदौ असोजमा स्याउको दाना टिप्ने गरिन्छ।
 |  सोमबार, पुस ११, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, पुस ११, २०७९

म्याग्दी- मुस्ताङका कृषकलाई हिजोआजा स्याउ बगैँचा व्यवस्थापनको चटारो छ। मुस्ताङको प्रमुख निकासीयोग्य कृषिउपज स्याउ हो। 

National life

दाना टिपेर पात झरेर रित्ता बनेका स्याउका बोटबाट अनावश्यक हाँगा हटाउने, जरामा मल राख्ने, गोडमेल र सिँचाइ गर्ने काममा कृषक जुटेका हुन्। भदौ असोजमा स्याउको दाना टिप्ने गरिन्छ। फूल खेल्नु र हिउँ पर्नु अघिनै बगैँचा व्यवस्थापन गर्न जुटेका हुन्। हिउँ पर्ने समयमा स्याउ बगैँचाको उचित व्यवस्थापन गर्दा उत्पादन र गुणस्तर सुधार गर्न सकिन्छ। पुष माघ महिनामा कृषकले अनावश्यक हाँगा हटाउने गर्छन्। रोग किरा फैलिन नदिन सर्वो आयल र बोडो पेष्ट लगाउने गर्छन्। 

जरा वरफरको झार हटाएर खन्ने र भेडा, च्याङ्ग्रा, गाई, गोरुको मल हाल्ने गरिएको मार्फाका कृषक दीपक लालचनले बताए। हिउँ परेपछि माटोले छोपेर राखिएको मल मिज्ने र जराबाट बिरुवालाई पौष्टिक तत्व आपूर्ति हुन्छ। स्याउको परागशेचनका लागि माइनस डिग्रीको तापक्रम आवश्यक पर्छ। अनावश्यक हाँगा नहटाउँदा उत्पादन र गुणस्तरमा असर गर्छ। दाना साना लाग्छन्। दानाको स्वाद मीठो हुँदैन। पालुवा र कोपिला पलाउनुअगावै स्याउका बोटमा हाँगा काँटछाँट गर्ने गरिन्छ। स्याउको हाँगा काटेर ग्राफ्टिङ गर्ने सिजन पनि यही हो। 

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको स्याउ जोन, कृषि ज्ञान केन्द्र र स्थानीय तहको कृषि शाखाले कृषकलाई बगैँचा व्यवस्थापनसम्बन्धी तालिम सञ्चालन गरेका छन्। बगैँचा व्यवस्थापनका सामग्री र बोडो पेष्ट उपलब्ध गराएको घरपझोङ गाउँपालिकाका कृषि शाखा प्रमुख रोशन थकालीले बताए। स्याउ तथा फलफूलविज्ञ डा खेमबहादुर शाहीले कृषकलाई तालिम दिएका छन्। मुस्ताङमा यस वर्ष ५९ करोड मूल्य बराबरको स्याउ निकासी भएको छ। छ हजार पाँच सय ९७ मेट्रिक टन स्याउ उत्पादन भएको कृषि ज्ञान केन्द्रले जनाएको छ। 

एक हजार चार सय ७५ हेक्टर जमिनमा स्याउ खेती विस्तार भएकोमा पाँच सय ८० हेक्टरमा लगाइएको स्याउ बोटले उत्पादन दिन्छन्। स्थानीय जातका अलावा ३८ हेक्टर क्षेत्रफलमा इटालीबाट ल्याइएको उच्च घनत्व प्रविधिको स्याउ खेती भएको छ। रासस

Shivam cement

प्रकाशित: Dec 26, 2022| 20:30 सोमबार, पुस ११, २०७९
प्रतिक्रिया दिनुहोस्