म्याग्दी- म्याग्दीको दुर्गम धवलागिरि गाउँपालिका-१ गुर्जाकी एक गर्भवतीको हेलिकप्टरबाट उद्धार गरिएको छ।
गर्भवती व्यथा लागेकी ३० वर्षीय अनुवा छन्त्यालको हेलिकप्टरबाट उद्धार गरेर आइतबार पोखरा पुर्याइएको हो। गण्डकी प्रदेश सरकार र धवलागिरि गाउँपालिकाको समन्वयमा हेलिकप्टरबाट उद्धार गरेर पोखरा मणिपाल शिक्षण अस्पताल लगिएको गुर्जा स्वास्थ्य चौकीले जनाएको छ।
पोखरा पुर्याइएकी छन्त्यालले अस्पतालमा छोरीलाई जन्म दिएकी छन्। शनिबार बिहान ७ बजेदेखि सुत्केरी व्यथा लागे पनि आइतबार दिउँसोसम्म बच्चा जन्माउन नसकेपछि हेलिकप्टरबाट उद्धार गरेर पोखरा लगिएको वडाध्यक्ष झकबहादुर छन्त्यालले बताए।
अस्पतालमा चिकित्सकको निगरानीमा छन्त्यालबाट साँझ साढे ६ बजेतिर छोरी जन्मिएको उनले बताए। उनका अनुसार आमा र बच्चाको स्वास्थ्य राम्रो छ।