बिहीबार, जेठ २८, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • सुन्तलाको मौसमसँगै सुन्तलाबारी होमस्टेमा बढ्यो भीडभाड

सुन्तलाको मौसमसँगै सुन्तलाबारी होमस्टेमा बढ्यो भीडभाड

अग्लो डाँडाको काखमा अवस्थित गुरुङ समुदायको बसोबास रहेको पर्यटकीय गाउँ सुन्तलाबारी। सुन्तलाका बगैँचा, बगैँचाभित्र सफा र चिटिक्क परेका माटोका घर।
 |  शनिबार, पुस ९, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, पुस ९, २०७९

वालिङ- यतिबेला बोटमा सुन्तला लटरम्म फलेका छन्। विगतका वर्षभन्दा यसवर्ष सुन्तला धेरै फलेकाले पनि बोट झुकेका छन्। दाना धेरै फलेकाले बोट तथा हाँगालाई आड दिन बोटमा टेका लगाइएका छन्।

National life

अग्लो डाँडाको काखमा अवस्थित गुरुङ समुदायको बसोबास रहेको पर्यटकीय गाउँ सुन्तलाबारी। सुन्तलाका बगैँचा, बगैँचाभित्र सफा र चिटिक्क परेका माटोका घर।

अन्यबेला सुन्तलाका बोटको हरियाली हुने र यो मौसममा सुन्तला बोटमा पाकेर पहेँलपुर छ। हेर्दै आकर्षक, मनमोहक अनि बगैँचामै पसेर आँफूले चाहेजति सुन्तला टिपेर खान पाइने भएकाले पनि यहाँ यो मौसममा अरुबेलाभन्दा बढी पर्यटकको भीड लाग्ने गरेको सुन्तलाबारी सामुदायिक होमस्टेका अध्यक्ष डिलबिक्रम गुरुङ बताउँछन्।

‘यो होमस्टेमा कात्तिकदेखि माघसम्म राम्रो वातावरण हुने भएकाले पाहुनाको आकर्षण बढी हुन्छ’, उनले भने, ‘यतिबेला सुन्तला बगैँचाभरि लटरम्म सुन्तला फलेर पहेँलै देखिँदा पाहुनाको मन आल्हादित हुन्छ, स्थानीयबासीले गर्ने स्वागतले त झनै आनन्द लाग्छ।’

यहाँ देशका ठूला शहर तथा गाउँगाउँबाट पनि घुम्न तथा अध्ययन अवलोकनका लागि आउने गरेका छन्। यहाँ सञ्चालनमा रहेको होमस्टेकाबारेमा जानकारी लिनका लागि विभिन्न सङ्घ संस्था, अन्यत्रका होमस्टे सञ्चालक तथा विद्यालयबाट आउछन्।

Shivam cement

‘यसरी अध्ययन तथा घुम्नकालागि आउने पाहुना यो मौसममा बढी आउनुहुन्छ’, उनले भने, ‘यो मौसममा झण्डै आधाजसो नै बढी आउनुहुन्छ, यहाँ विशेषगरी शुक्रबार र शनिबार बढी भीड हुने गर्छ।’

पाहुनालाई साँझ स्वागत गर्ने, स्थानीय परिकार खान दिने, साँझ नाँचगान तथा सांस्कृतिक कार्यक्रम प्रस्तुत गर्ने, बिहान बिदाई गर्ने गरी प्याकेज बनाइएको उनलेबताए। प्याकेजअनुसार प्रतिपाहुनाले रु एकहजार भुक्तानी गर्नुपर्छ।

सुन्तलै सुन्तलाले भरिएको बगैँचाभित्र रहेको गाउँ, लटरम्म फलेका पहेँला सुन्तला बगैँचाको मनमोहक वातावरण, छाँगाबरोहण, गुरुङ समुदायको सङ्ग्रहालय, देशका विभिन्न भागको दृश्यावलोकन गर्न सकिने बूढाकोट भ्यूटावर, मनकामना तथा कान्छी मनकामना मन्दिरसम्म पदयात्रा गर्न सकिने भएकाले पनि यहाँ पाहुनाको आकर्षण बढ्दै गएको दावी उनको छ।

सुनौली–पोखरा जोड्ने सिद्धार्थ राजमार्गको वालिङ त्रियासीदेखि करिव सात किलोमिटर दूरी पार गरेपछि यो ठाउँमा पुग्न सकिन्छ। वालिङ नगरपालिका–४ मा अवस्थित सुन्तलाबारी गाउँ गुरुङ समुदायको बस्ती रहेको गाउँ हो। यहाँ ३२ घरधुरी रहेतापनि १२ घरमामात्रै होमस्टे सञ्चालनमा छ। यहाँ ८० जनासम्म पाहुना राख्न सकिने क्षमता रहेको अध्यक्ष गुरुङ बताउँछन् 

प्रकाशित: Dec 24, 2022| 05:00 शनिबार, पुस ९, २०७९
प्रतिक्रिया दिनुहोस्