बिहीबार, जेठ २८, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • गुल्मीमा सुन्तला महोत्सव, बढी खानेले पाए नगद पुरस्कार

गुल्मीमा सुन्तला महोत्सव, बढी खानेले पाए नगद पुरस्कार

उत्पादित सुन्तलाको प्रदर्शन, सुन्तलाबाट बन्ने परिकारको प्रदर्शनी र विभिन्न प्रतियोगिताका साथ महोत्सव गरिएको हो।
 |  शुक्रबार, पुस ८, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस ८, २०७९

गुल्मी– गुल्मीमा सुन्तला खाने र सुन्तला बोकेर दौड्ने प्रतियोगितासहित ‘छत्रकोट सुन्तला महोत्सव गरिएको छ। जिल्लाको छत्रकोट गाउँपालिका–३ लुम्छामा बिहीबार सुन्तला महोत्सवको क्रममा उक्त प्रतियोगिता गरिएको हो।

National life

सुन्तला खाने प्रतियोगितामा ६ जनाले सहभागिता जनाएका थिए। सबैभन्दा बढी सुन्तला खाएर सुशील खनाल पहिलो भए। उनले तोकिएको पाँच मिनेटमा एक किलोग्राम ७६५ ग्राम सुन्तला खाएका थिए। उनले १ हजार नगद पुरस्कार पाए। 

त्यस्तै, प्रतियोगितामा सहभागी मनोज अर्यालले एक किलो ४६० ग्राम, प्रेम पन्थले एक किलोग्राम ३४० ग्राम, कुशल पन्थले एक किलो ९० ग्राम, हरिप्रसाद कँडेलले ९६० ग्राम र रिजन पन्थले ४८५ ग्राम सुन्तला खाएका थिए। सुन्तला बोकेर दोड्ने प्रतियोगितामा ९ जना सहभागी  भएका थिए। डोकोमा २० किलो सुन्तला बोकेर एक किलोमिटर बाटोमा दौडिँदा भीमकला भुसाल र आशा अर्याल प्रथम भए। 

दोस्रोमा राधा पन्त र वर्षा पन्त, तेस्रोमा लक्ष्मी अर्याल र सावित्रा पन्थ भए। सुन्तला किसानलाई खेतीमा प्रोत्साहित, बजारीकरणको ग्यारेन्टी, स्थान विशेष पहिचानको कायम र कृषि पर्यटनलाई प्रवद्र्धन गर्न महोत्सव गरिएको आयोजक अनमोल किसान समूहका अध्यक्ष विष्णुप्रसाद पन्थले जानकारी दिए। 

सुन्तला खेतीको भू–अनुकूल विस्तार र विकास, स्वरोजगार आयआर्जनबाट हुनेछ भरपर्दो निकास नाराका साथ सुन्तलाको प्रदर्शन, सुन्तलाबाट बन्ने परिकारको प्रदर्शनी र विभिन्न प्रतियोगिताका साथ महोत्सव गरिएको हो। छत्रकोटमा ५० हेक्टर क्षेत्रफलमा सुन्तला खेती हुने गरेको गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डेले बताए। सुन्तला महोत्सवबाट स्थान विशेष पहिचानसहित बजारीकरणमा सहयोग पुग्ने उनको अपेक्षा छ। 

Shivam cement

२०६० देखि सुन्तला किसानलाई आबद्ध गराएर अनमोल कृषि समूहले काम गरिरहेको छ। सुन्तला महोत्सवमा स्थानीय लाखे नाच र पञ्चैबाजालगायतको प्रतियोगिता राखिएको थियो। गुल्मीमा सुन्तला जोनमा २०६ समूह सहकारीमा आबद्ध भई काम गरेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाइ सुन्तला जोनका कार्यालय प्रमुख गंगाकुमारी पोखरेलले जानकारी दिइन्। 

सुन्तला जोनले जिल्लामा प्राविधिक सहयोग, साना सिँचाइ, बगैँचा व्यवस्थापन र तालिमसमेत सञ्चालन गर्दै आएको छ। जिल्लामा सुन्तला जोन अन्तर्गत १ हजार १०५ हेक्टरमा सुन्तला लगाइएको छ । सोमध्ये ४१७ हेक्टरमा उत्पादन भइरहेको छ।

गुल्मीमा कुल ९९७ हेक्टर क्षेत्रफलमा सुन्तला खेती भइरहेको कृषि ज्ञान केन्द्र गुल्मीका प्रमुख नवराज भण्डारीले जानकारी दिए। जिल्लामा यस वर्ष ६ हजार ८३९ मेट्रिक टन सुन्तला उत्पादन भएको अनुमान गरिएको छ। यसबाट २९ करोड ३७ लाख रुपैयाँ आम्दानी हुनेछ।–रासस

प्रकाशित: Dec 23, 2022| 19:00 शुक्रबार, पुस ८, २०७९
प्रतिक्रिया दिनुहोस्