काठमाडौं–काठमाडौंमा सार्क स्तरीय अन्तराष्ट्रिय कृषि सम्मेलन शुरु भएको छ । सम्मेलनको उद्घाटन प्रधानमन्त्री केपी ओलीले गरेका छन् । कृषि तथा पशुपन्छी विकास मन्त्रालयको आयोजना र अन्तर्राष्ट्रिय कृषि प्रसार समिति हैदरावाद भारतको सह आयोजनामा आज (बिहीबार)देखि शुरु भएको उक्त सम्मेलन असोज ७ गतेसम्म चल्नेछ ।
‘सार्क क्षेत्रका कृषकहरुको आय दोब्बर गर्न कृषि प्रसार रणनीति तथा अवधारणा’ मुल नारा रहेको सम्मेलनमा कृषि प्रसार सेवाका लागि नीतिगत सुधार, नवीन र वहुपक्षीय कृषि प्रसार अवधारणा, जलवायु अनुकुलन र साना किसानका लागि कृषि प्रसार विधि लगायत चारवटा विद्यामा कुल ८५ वटा कार्यपत्रहरु प्रस्तुत गरिनेछन् ।
आयोजककाअनुसार सम्मेलनमा नेपाल, भूटान, भारत बंलादेश र श्रीलंकाबाट कृषि क्षेत्रका नीति निर्माताहरु, वरिष्ठ पदाधिकारी, प्राज्ञ, किसान, कृषि प्रसार विज्ञ लगायत करिब ४०० जनाको सहभागिता रहनेछ ।
नेपाल लगायत छिमेकी राष्ट्रहरुले अगामी पाँच वर्षमा कृषिको उत्पादकत्व दोब्बर गर्ने संकल्प गरिरहेका छन् । यसका लागि उपयुक्त नीति तथा कार्यक्रमहरु तर्जुमा गरि कार्यान्वयनको अवस्थामा रहेको छ ।
नेपालले पनि कृषि विकास रणनीति र दीगो विकास लक्ष्यले तय गरेको उद्देश्यहरु प्राप्तिको लागि ‘जिरो हंगर इनिसिएटीभ नेशनल प्लान अफ एक्सन’ र ५८ बुदे कृषि तथा पशुपन्छी क्षेत्रको रुपान्तरणको मार्गचित्र र तिनको कार्ययोजना तयार गरि कार्यान्वयनमा रहेको छ ।
अन्तराष्ट्रिय सम्मेलनमा प्रस्तुत कार्यपत्रहरु एवं विभिन्न मुलकका सम्बन्धीत अनुभवको आदान प्रदानबाट नेपालले प्रशस्त फाइदा लिन सक्ने अयोजकको दावी छ । अन्तमा काठमाडौं घोषणापत्र जारी गर्दै चार दिने उक्त सम्मेलन सम्पन्न हुने कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४