बुधबार, चैत ८, २०७९
  • गृहपृष्ठ
  • प्रदेश
  • शिक्षकले यौन दुर्व्यवहार गरेपछि अरोमा कलेजका विद्यार्थी न्याय माग्दै सडकमा

शिक्षकले यौन दुर्व्यवहार गरेपछि अरोमा कलेजका विद्यार्थी न्याय माग्दै सडकमा

अरोमा कलेजका कम्प्युटर शिक्षक रामकृष्ण सुवेदीले छात्राहरुमाथि यौन दुर्व्यवहार गरेको भन्दै विद्यार्थीहरु यसरी दिनभर आन्दोलनमा उत्रिएका हुन्।
 |  मंगलबार, पुस ५, २०७९

निशा श्रेष्ठ

निशा श्रेष्ठ

मंगलबार, पुस ५, २०७९

भरतपुर- चितवनको भरतपुर महानगरपालिका-१० मा रहेको अरोमा कलेज मंगलबार दिनभर तनावग्रस्त रह्यो। विद्यालय परिसरमा बाक्लै संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी तैनाथ थिए। विद्यार्थीहरु कलेज पोसाकमै आन्दोलनरत थिए। 

National life insurance

‘वी निड जस्टिस, पीडितलाई न्याय दे’ जस्ता नारा लगाइरहेका विद्यार्थी आक्रोशित हुँदै न्यायको माग गरिराखेका थिए। अरोमा कलेजका कम्प्युटर शिक्षक रामकृष्ण सुवेदीले छात्राहरुमाथि यौन दुर्व्यवहार गरेको भन्दै विद्यार्थीहरु यसरी दिनभर आन्दोलनमा उत्रिएका हुन्। गत शुक्रबार कक्षा ११ व्यवस्थापन संकाय पढ्ने एक छात्राले शिक्षक सुवेदीले यौन दुर्व्यवहार गरेको भन्दै कलेज प्रशासनमा उजुरी दिएकी थिइन्। तर कलेज प्रशासनले शिक्षकलाई कानुनी कठघरामा उभ्याउन पहल नगरेको भन्दै विद्यार्थी आन्दोलनमा उत्रिएका हुन्। 

सोही कलेजको कक्षा ११ मा पढ्ने एक विद्यार्थीले शिक्षक सुवेदीले कम्प्युटर ल्याबमा सिकाइका क्रममा संवेदनशील अंगमा छोएको भन्दै उजुरी दिएकी थिइन्। कक्षा ११ मा पढ्ने एक छात्राले एक पटकमात्रै नभएर पटकपटक ती शिक्षकले संवेदनशील अंगमा छुन खोज्ने, धाप मार्ने, गाला सुमसुम्याउन खोज्ने जस्ता हर्कत देखाउने गरेको सुनाइन्। ‘हामीलाई ल्याबमा पढ्ने बेला नराम्रोसँग छुन खोज्नुहुन्थ्यो। हामीले पढेको कुरा नजानेर सोध्दा कस्तो राम्रो हात भन्दै मुसार्न खोज्नुहुन्थ्यो। तर हामीले प्रतिकार गरिरह्यौं। शुक्रबार मेरै साथीलाई नराम्रोसँग प्राइभेट पार्टमा छोएपछि उसले कलेजमा उजुरी गरेकी थिई,’ उनले भनिन्,‘अहिले हामीले बोलेपछि १२ कक्षामा पढ्ने दिदीहरुले पनि त्यो सरले यस्तै नराम्रो व्यवहार गर्नुभएको कुरा खोल्नुभएको छ।’

कलेजमा उजुरी गरे पनि ती शिक्षकलाई कलेजले दुई दिनको ‘सस्पेन्ड’को नाटक गरेर कानुनी पक्रियामा नलगेको उनले आरोप लगाइन्। ‘म्यानेजमेन्ट ब्लकको हेडसरलाई हामीले खबर गरेका थियौं तर उहाँले सस्पेन्ड गरेको मात्र भन्नुभयो। अहिले हामीले बोलेनौं भने अब आउने ११ कक्षाका बहिनीहरुले पनि त्यही भोग्नुपर्छ। त्यसैले हामीले बोलेका हौं,’ उनले भनिन्। 

पीडित विद्यार्थीसँग माफी माग्नुपर्ने र कानुनी कारबाहीमा पीडकलाई लग्नुपर्ने आफूहरुको माग रहेको उनले सुनाइन्। ‘पीडितको खुट्टा ढोगेर माफ माग्नुपर्छ र कानुनी कारबाहीमा लग्नुपर्छ,’ उनले भनिन्। विद्यार्थीहरुले गरेको आन्दोलनमा प्रहरीले लाठीचार्ज गरेर ज्यादती गरेको पनि उनको आरोप थियो। सोही कलेजमा कक्षा १२ मा पढ्ने विवश रानाले कलेजले घटना दबाउन खोजेको बताए। ‘एक-दुईचोटी भए पो ! पटक–पटक यस्तो घटना भइराखेको छ। कलेजले नै घटना दबाउन खोजेजस्तो लाग्छ। टिचरलाई सस्पेन्ड गर्ने र छाड्ने गरेर भएन। कानुनी कारबाही हाम्रो माग हो,’ उनले भने। 

worldlink

कक्षा १२ मा विज्ञान संकायमा पढ्ने सलिना थापाले आफ्नै कलेजमा बहिनीहरुले दुर्व्यवहार भोगेको थाहा पाएपछि आन्दोलनमा उत्रिएको बताइन्। ‘हामी साइन्स पढ्नेले बल्ल थाहा पाएका हौं। भोलि हामीलाई पनि यस्तो भोग्न नपरोस् भनेर आन्दोलनमा उत्रेका हौ‌,’ उनले भनिन्। 

अरोमा कलेजका प्रिन्सिपल शेरबहादुर क्षेत्रीले घटनाबारे आइतबार मात्रै आफूले जानकारी पाएको र तुरुन्तै आरोपित शिक्षकलाई सोधपुछ गरी कलेजबाट निष्कासित गरेको बताए। ‘कम्प्युटर शिक्षकबाट ब्याड टचको कुरा आएकाले आइतबार व्यवस्थापन समितिसहितको बैठक बसेर निस्कासित गरेका हौं,’ उनले भने।