बुधबार, वैशाख २६, २०८१
  • गृहपृष्ठ
  • अर्थ
  • औसत ६० प्रतिशत लाभांश दिएको नबिलप्रति किन अरुचि? संस्थापक सेयर बिक्री बढ्दो

औसत ६० प्रतिशत लाभांश दिएको नबिलप्रति किन अरुचि? संस्थापक सेयर बिक्री बढ्दो

नबिल बैंकको करिब २० वर्षको इतिहास हेर्ने हो भने वार्षिक ६० प्रतिशत लाभांश दिँदै आएको छ भने सेयरधनीलाई कुनै वर्ष पनि रित्तो हात पठाएको छैन। तर पछिल्लो समय एनबी बैंकलाई गाभेपछि नबिल बैंकका संस्थापक सेयरधनी बिच्कन थालेका छन्।
 |  बुधबार, पुस ६, २०७९

शर्मिला ठकुरी

शर्मिला ठकुरी

बुधबार, पुस ६, २०७९

काठमाडौं– एनबी बैंकलाई एक्वायर गरेपछि नबिल बैंकमा संस्थापक सेयरधनी बिच्कन थालेका छन्। पछिल्लो समय नबिल बैंकको आफूसँग भएको संस्थापक सेयर बिक्री गरी बाहिरिनेको संख्यामा बढोत्तरी हुन थालेको छ।

triton college

केही दिनअघि मात्र संस्थापक सेयरधनीका रुपमा रहेको हिमालयन क्यापिटल मार्केट्स एन्ड इन्भेस्टमेन्टले आफूसँग भएको नबिल बैंकको सबै सेयर बिक्री गरी नबिल बैंकबाट बाहिरिने निर्णय गरेको छ। 

सो कम्पनीसँग नबिल बैंकको ३ लाख २ हजार ५४५ कित्ता सेयर रहेको छ। नबिल बैंकले सूचना जारी गरी हिमालयन क्यापिटल मार्केट्सले आफूसँग भएको सम्पूर्ण सेयर बिक्री गर्न लागेको जानकारी दिएको हो। हिमालयन बैंकको सहायक कम्पनीको रुपमा रहेको सो कम्पनी नबिल बैंकबाट बाहिरिन खोजेको हो। 

त्यस्तै, गत १५ मंसिरमा बैंकको संस्थापक सेयरधनी बंगलादेशको इन्टरनेसनल फाइनान्स इन्भेस्टमेन्ट एन्ड कमर्स बैंक (आइएफआईसी बैंक) ले पनि आफ्नो स्वामित्वमा रहेको सम्पूर्ण सेयर बिक्री गरी नबिल बैंकबाट बाहिरिने निर्णय गरेको थियो। आइएफआईसीले १ करोड ७७ लाख ३६ हजार ८८ कित्ता संस्थापक सेयर बिक्री गरेर नबिलबाट बाहिरिने निर्णय गरेको थियो। 

यस्तै, गत ११ मंसिरमै बैंकका केही संस्थापक सेयरधनीले आफ्नो नाममा रहेको १ लाख कित्ता संस्थापक सेयर बिक्री गर्ने निर्णय गरेका थिए। योसँगै मंसिरमा मात्रै बैंकले तीन पटक संस्थापक सेयर बिक्रीमा राखेको छ।

corrent noodles
Metro Mart

राम्रो लाभांश दिँदादिँदै पनि किन बाहिरिन चाहे संस्थापक सेयरधनी? 
नबिल बैंकको करिब २० वर्षको इतिहास हेर्ने हो भने वार्षिक ६० प्रतिशत लाभांश दिँदै आएको छ। राम्रो नाफा कमाउन सफल नबिल बैंकले  सेयरधनीलाई कुनै वर्ष पनि रित्तो हात पठाएको छैन भने अहिलेसम्म ३० प्रतिशतभन्दा कम लाभांश दिएको छैन। आर्थिक वर्ष २०६२÷६३ मा  नबिल बैंकले १४० प्रतिशत लाभांश दिएको थियो।

 हेर्नुस्, नबिल बैंकले दिएको लाभांश इतिहास  

राम्रो लाभांश दिँदादिँदै पनि संस्थापक सेयरधनी किन बाहिरिन चाहिरहेका छन् भन्ने प्रश्न गम्भीर छ। नबिल बैंकले पछिल्लो समय नेपाल बंगलादेश बैंकलाई गाभेको छ। गत २७ असारदेखि एकीकृत कारोबार सुरु भएको थियो। एकीकृत कारोबार सुरु भएपछि ५० प्रतिशतभन्दा बढी सेयर स्वामित्व भएको चौधरी ग्रुपबाट सञ्चालक नियुक्त भएका सञ्चालकले मनपरी गर्न थालेपछि संस्थापक सेयर सदस्य बाहिरिन थालेका हुन्। केही व्यक्तिगत सेयर सदस्य पनि पछिल्लो समय नबिल बैंकले प्रतिस्पर्धामा बढी ध्यान दिएर प्रुडेन्ड बैंकिङ गर्न छाडेको भन्दै संस्थापक सेयर सदस्यबाटै बाहिरिएको बताउन थालेका छन्। 

कसले किन्न पाउँछ संस्थापक सेयर? 
संस्थापक सेयर बिक्री गर्दा पहिलो प्राथमिकता संस्थापक सेयर सदस्यलाई नै हुनेछ। संस्थापक सेयर सदस्य र कम्पनीले आफ्नो नाममा रहेको सेयर बिक्री गर्न चाहेको निवेदन नबिल बैंकमा दिएका थिए। सो निवेदन पाएपछि नबिलले सेयर बिक्री प्रक्रिया अगाडि बढाएको छ। नेपाल राष्ट्र बैंकको नियमअनुसार संस्थापक सेयर बिक्रीका लागि पहिलो प्राथमिकता संस्थापक सेयरधनीकै हुनेछ। सो सेयर खरिदका लागि इच्छुक तथा योग्य संस्थापक सेयरधनीले आफूले लिन चाहेको सेयर संख्या र प्रतिकित्ता मूल्य तोकी ३५ दिनभित्र गोप्य सिलबन्दी निवेदन पेस गर्नुपर्नेछ।

उक्त निवेदन बैंकको केन्द्रीय कार्यालय दरबारमार्ग, काठमाडौंस्थित कम्पनी सचिवको कार्यालयमा पुग्ने गरी आवेदन दिनुपर्ने नबिलले जनाएको छ। 

सूचना जारी गरेको ३५ दिनभित्र संस्थापक सेयरधनीले उक्त सेयर खरिद नगरे अन्य व्यक्ति तथा संस्थालाई बिक्री प्रक्रिया अगाडि बढाइन पाउने राष्ट्र बैंकको व्यवस्था छ। राष्ट्र बैंकले गरेको व्यवस्थाअनुसार नै संस्थापक सेयर बिक्री गर्न लागेको नबिलले जानकारी दिएको छ। 

प्रकाशित: Dec 21, 2022| 07:56 बुधबार, पुस ६, २०७९
प्रतिक्रिया दिनुहोस्