काठमाडौं– शिक्षाको पहुँच तथा गुणस्तर अभिवृद्धि गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र गाउँपालिका राष्ट्रिय महासंघबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ। विद्यालय शिक्षा क्षेत्र योजना( १० वर्षे विद्यालय सुधार योजना) को कार्यान्वयन सन्दर्भमा स्थानीय तहमा कार्यक्रम सञ्चालनका लागि समन्वय र सहजीकरणका लागि समझदारीपत्रमा हस्ताक्षर भएको हो।
विद्यालय शिक्षामा सबैको समतामूलक पहुँच, गुणस्तर र सान्दर्भिकता, समन्व्य र सहकार्य मार्फत शैक्षिक सुशासन प्रवद्र्धन गर्ने उद्धेश्यका साथ विद्यालय शिक्षा क्षेत्र योजना कार्यान्वयनलाई सुदृढ र प्रभाकारी बनाउन दुवै पक्षबीच समझदारीपत्रमा हस्ताक्षर भएको शिक्षामन्त्री देवेन्द्र पौडेलले जानकारी दिए।
‘शैक्षिक नीति तथा कार्यक्रमलाई गाउँपालिकामा प्रभावकारी रुपमा कार्यान्वयन गरी सबै बालबालिकालाई गुणस्तरयुक्त विद्यालय शिक्षा उपलब्ध गराउने समझदारीपत्रको उद्देश्य हो,’ उनले भने, ‘यसले मन्त्रालय र गाउँपालिकाबीचको सम्बन्ध थप नजिक हुने र संविधान कार्यान्वयनमा सहज हुनेछ।’
महासंघले विद्यालय शिक्षासँग सम्बन्धित राष्ट्रिय नीति, योजना तथा कार्यक्रम निर्माण प्रक्रियामा आवश्यकताअनुसार मन्त्रालयसँग समन्वय, राय, सल्लाह र सुझाव दिनेछ। समझदारी कार्यान्वयनका क्रममा समस्या आए दुवै पक्षले सहमतिबाट समस्याको समाधान गरी कार्यान्वयन गर्ने उल्लेख छ। समझदारीको समयावधि २०८३÷८४ सम्म रहने मन्त्रालयले जनाएको छ।
मन्त्रालयले गाउँपालिकाको शैक्षिक योजना निर्माण एवं कार्यान्वयनमा आवश्यक प्राविधिक सहायता उपलब्ध गराउनेछ। दिगो विकाश लक्ष्य पञ्चवर्षीय योजना, सरकारका शैक्षिक नीति योजना तथा कार्यक्रम सम्बन्धमा गाउँपालिकाका निर्वाचित जनप्रतिनिधि तथा कर्मचारीको क्षमता विकासमा काम गरिने मन्त्रालयका शिक्षा सचिव रामकृष्ण सुवेदीले जानकारी दिए।
विद्यालय तहको शिक्षाका सबै विषयमा छलफल गरी तिनमा गर्नुपर्ने सुधारलाई नियमित गर्न तथा गाउँपालिकामार्फत कार्यान्वयन हुने कार्यक्रमको नियमित प्रगति प्रतिवेदन प्राप्तिमा सहजीकरण हुने लक्ष्य रहेको छ। समझादारीपत्रमा मन्त्रालयका सहसचिव डा. हरि लम्साल र गाउँपालिका राष्ट्रिय महासंघ नेपालकी अध्यक्ष लक्ष्मीदेवी पाण्डेले हस्ताक्षर गरे।