काठमाडौं- नेपाल विद्यार्थी संघले ग्रेडिङ मार्क्समा त्रिभुवन विश्वविद्यालयले व्यापक त्रुटि गरेको भन्दै तत्काल सच्याउन माग गरेको छ।
संघले सोमबार प्रेस विज्ञप्ति जारी गरी विद्यार्थीहरूबाट गुनासो आएकाले सच्याउन माग गरेको हो।
विज्ञप्तिअनुसार हालै सम्पन्न भएको ४८ औँ दीक्षान्त समारोहमा उपस्थित त्रिभुवन विश्वविद्यालयको सेमेष्टर प्रणालीअन्तर्गत परीक्षा उत्तीर्ण विद्यार्थीहरूको शैक्षिक प्रमाणपत्र, लब्धांक पत्र र चारित्रिक प्रमाणपत्रमा समेत उल्लेख भएको ग्रेडिङ मार्क्समा व्यापक त्रुटि आएको गुनासो आएको छ।
‘सेमेष्टर प्रणाली अन्तर्गतको डेभिएशन सिस्टमलाई समेत पालना नगरी अंक निर्धारण गरेको र विद्यार्थीले छनोट गरेको मुख्य विषय उल्लेख नगरी सबैमा अल भनी उल्लेख गरेकोले विद्यार्थीले मुख्य अध्ययन गरेको विषय नछुट्ट्याएको भनी व्यापक असन्तुष्टि आएकोमा गम्भीर ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा उल्लेख छ।
संघले यी गल्ती यथाशिघ्र सच्याउन र भावी दिनमा विद्यार्थीहरूको शैक्षिक भविष्यमाथि गम्भीर असर पर्ने यस्ता गल्ती नदोहोर्याउन समेत माग गरेको छ।