शुक्रबार, वैशाख १४, २०८१

किन अभिनयमा फर्किन सकेनन् रंगमञ्चका यी गुरु?

आरोहण गुरुकुलका सुनिल पोखरेल, सर्वनाम थिएटरका अशेष मल्ल, शिल्पी थिएटरका घिमिरे युवराज, मण्डला थिएटरसँग जोडिएका दयाहाङ राई, राजन खतिवडा, सोमनाथ खनाल, सिर्जना सुब्बा, एक्टर स्टुडियोका अनुप बराल, थिएटर भिलेजका विमल सुवेदी, राष्ट्रिय नाचघरका विरेन्द्र हमाल, नेपाल प्रज्ञा प्रतिष्ठानका हरिहर शर्माले अभिनयमा नफर्किएको दशकभन्दा बढी भइसक्यो।
 |  सोमबार, मंसिर २६, २०७९

राज सरगम

राज सरगम

सोमबार, मंसिर २६, २०७९

काठमाडौं– ‘पुराना रंगकर्मीले अभिनय गरेको नाटक हेर्नै नपाइने भो,’ यही मंसिर ९ गतेदेखि सुरु भएको दोस्रो अन्तर्राष्ट्रिय नाटक महोत्सवमा नियमित नाटक हेर्ने एक दर्शकले सुनाएको गुनासो हो यो। ‘अभिनयमा फर्किन नसकेका ती पुराना रंगकर्मी को हुन् त?’ महोत्सवमा भेटिएका ती दर्शकलाई सोध्दा उनले धेरै रंगकर्मीको नाम लिए, जो वर्षौंदेखि अभिनयमा फर्किएका छैनन्।

triton college

नयाँ कलाकारको उपस्थिति रंगमञ्चमा बाक्लिए पनि पुराना रंगकर्मी अभिनित नाटक मञ्चन हुन किन छोड्यो त? स्वतन्त्र रंगकर्मी पुरू लम्साल भन्छन्, ‘अघिल्ला छिमलका रंगकर्मीहरू गुरू भएर सकिए।’

आरोहण गुरुकुलका सुनिल पोखरेल, सर्वनाम थिएटरका अशेष मल्ल, शिल्पी थिएटरका घिमिरे युवराज, मण्डला थिएटरसँग जोडिएका दयाहाङ राई, राजन खतिवडा, सोमनाथ खनाल, सिर्जना सुब्बा, एक्टर स्टुडियोका अनुप बराल, थिएटर भिलेजका विमल सुवेदी, राष्ट्रिय  नाचघरका विरेन्द्र हमाल, नेपाल प्रज्ञा प्रतिष्ठानका हरिहर शर्माले अभिनयमा नफर्किएको दशकभन्दा बढी भइसक्यो। १२ वर्षपछि रंगकर्मी विमल सुवेदी २०७८ को अन्तिमतिर आफ्नै निर्देशनमा ‘पल्पसा क्याफे’मार्फत अभिनयमा फर्किएका थिए। चार वर्ष अगाडि ‘मिमांसा’ र ‘मार्क्स फर्किए’ नाटकबाट सुनिल पोखरेल अभिनयमा फर्किएका थिए।

सात वर्ष अगाडि घिमिरे युवराज माधवी नाटकमा देखिएका थिए, त्यसयता उनले कुनै नाटकमा अभिनय गरेका छैनन्।  

घिमिरे युवराज, सुनिल पोखरेल र विमल सुवेदीबाहेक अन्य पुराना रंगकर्मीले दशकभन्दा बढी समयदेखि नाटकमा अभिनय गरेका छैनन्। जसले निर्देशनमा समय दिन सके, थिएटर चलाउन पनि सके, नयाँ पुस्तालाई नियमित प्रशिक्षण र तालिम दिन सके, चेतनामूलक प्रोजेक्ट नाटक गर्न सके र मेला महोत्सवमा नाटकको सैद्धान्तिक र प्राविधिक पक्षमाथि लामै बोल्न सके तर अभिनयलाई भने पछाडि परे। किन?

corrent noodles
Metro Mart

रंगकर्मी विमल सुवेदीका अनुसार नेपालका रंगकर्मी स्वयम्ले व्यवस्थापनको पाटो हेर्नुपर्ने भएकाले अभिनय पछाडि परेको हो। उनी भन्छन्, ‘रंगकर्मीले अभिनयसँगै मञ्चको व्यवस्थापन पनि आफैंले गर्नुपरेको छ। त्यो जिम्मेवारी बहन गर्दागर्दै समय निस्किएको पत्तै हुँदैन। त्यसपछि अभिनय पछाडि पर्दोरहेछ।’ 

थिएटर व्यवस्थापनको चटारो
मंसिर ९ गते दोस्रो अन्तर्राष्ट्रिय नाटक महोत्सवको उद्घाटनमा भारतीय अभिनेत्री शवाना आजमीले आश्चर्य व्यक्त गरिन्, ‘रंगकर्मीहरू मिलेर नाटकघर निर्माणदेखि नाटक महोत्सवसमेत आयोजना गरेको देखेर म आश्चर्यमा छु।’ आजमीले यसो भनिरहँदा सबैभन्दा बढी खुशी रंगकर्मी नै थिए। सायद प्यासनका साथ रंगमञ्च निर्माणमा लाग्थेनन् भने अन्तर्राष्ट्रिय नाटक महोत्सव गर्न आँट आउँदैनथ्यो।

दश वर्ष अनामनगरमा संघर्ष गरेर उठेको मण्डला थिएटर थापागाउँमा सर्यो, जसको व्यवस्थापनमा स्वयम् रंगकर्मीहरु नै लागे। ‘हामीलाई आफ्नोजस्तै नाटक घरको पनि चिन्ता हुन्छ। जमिन भाडामा लिएर काम गरेपछि भाडा तिर्ने चिन्ता पनि उस्तै हुन्छ। अनि मिलिजुली नाटकघरलाई नै निरन्तरता दिन खोज्दा अभिनय छुट्छ,’ रंगकर्मी सिर्जना सुब्बाले भनिन्।

व्यवसायिक रंगमञ्च अघि पनि नेपालमा नाटक मञ्चन हुन्थ्यो। नेपाली रंगमञ्चको विकास र विस्तार लिच्छवीकालमा भएको मानिन्छ। नेपालमा लिच्छवीकालको लगभग ३ सय ५० वर्षको इतिहास छ। कौटिल्यको अर्थशास्त्र र चिनियाँ यात्री वाङ हुएनचेको यात्रा वृत्तान्तअनुसार वैशालीबाट आएकाहरूले किराँतहरूलाई विस्थापित गरी लिच्छवी वंशको स्थापना गरेका हुन्। लिच्छवी राजाहरूले नै नेपालमा संगीत, नाच र कलाकौशलको विकास गरेको कृष्ण शाह यात्रीद्धारा लिखित पुस्तक ‘नेपाली रंगमञ्चः विगत र आगत’मा छ। नेपाली रंगमञ्चको आधुनिक कालचाहिँ वि.सं. १९९५ देखि सुरु भएको शाहको अध्ययनले भन्छ। तर त्यो समय राजा रजौटाको मनोरञ्जनका लागि नाटक मञ्चन हुन्थ्यो, त्यसको व्यवस्थापन सरकारी कर्मचारीले गर्थे। 

सुनिल पोखरेल
राष्ट्रिय नाचघर, नेपाल प्रज्ञा प्रतिष्ठान, सभा गृह लगायतका मञ्चबाट नाटकमा संघर्ष गरेर आएका अशेष मल्ल, सुनिल पोखरेल लगायतका रंगकर्मीले व्यावसायिक नाटकको थालनी गरे। निजी लगानीमा सर्वनाम थिएटर गुरुकुलजस्ता नाटकघर स्थापना गरेर मल्ल र पोखरेलले धेरै कलाकार जन्माए। 

पञ्चायतका समर्थकहरूले नाट्यकर्ममा क्रियाशील भएकाहरुलाई अति नै दुःख दिन थालेपछि ०३८ सालमा समूहबोध बुझेर सर्वनाम स्थापना गरेका मल्लले अहिलेसम्म पनि त्यही नाम र झण्डामुनि आफ्ना एजेन्डाहरू पूरा गर्दै आएका छन् । उनको ठूलो एजेन्डा भने ०६८ सालमा पूरा भयो । त्यो थियो, एउटै छहारीमुनि कला, साहित्य, संस्कृतिका अनेक छटाहरू पस्किने गरी भएको ‘सर्वनाम थिएटर’ को स्थापना।

अभिनयबाट उदाएका मल्लले रंगमञ्चलाई त स्थापित गरे तर अभिनय उनीबाट छुट्यो। पुरानो बानेश्वर हाइटस्थित स्थापित गुरुकुल सञ्चालन गरेको ९ वर्षपछि सन् २०११ मा बन्द भयो। गुरुकुललाई थापागाउँमा स्थापना गर्न पोखेरललाई ठिक अर्को दश वर्ष लाग्यो। गुरुकुल आरोहण भत्किएसँगै बितेका दश वर्ष रंगकर्मी पोखरेल लामो समय निराशाबाट गुज्रिनु पर्यो। नेपाली रंगमञ्चलाई व्यावसायिक बनाउन लागेको पोखरेल आफैं टुटे र पनि उनले मण्डला र राष्ट्रिय प्रज्ञा प्रतिष्ठानमा दुई नाटकमा अभिनय गरे। 

लकडाउनपछि उनले थापागाउँमा गुरुकुललाई फर्काए। गुरुकुल फर्किएसँगै पुरानै नाटक ‘पुतलीको घर’ नाटकमार्फत रंगकर्मी निशा पोखरेललाई अभिनयमा फर्काए तर उनी अभिनयमा फर्किन सकेनन्। 

शिल्पी थिएटरका सञ्चालक तथा रंगकर्मी घिमिरे युवराजले टंक चौलागाईंको निर्देशनमा सात वर्ष अगाडि ‘माधवी’ खेले। त्यसयता कुनै नाटकमा अभिनय गरेका छैनन् उनले। 

थिएटर भिलेज नाटकघर स्थापना गरेर नाटकमा निरन्तर लागेका विमल सुवेदीको इच्छा अभिनय र निर्देशन दुवै हो। तर नाटकघरको व्यवस्थापनको जिम्मेवारी सम्हाल्नुपर्ने भएपछि गाह्रो भएको बताउँछन्। भन्छन्, ‘एकजनाले धेरै काम गर्न गाह्रो छ। गतिलो प्रडक्ट आउँदैन। फेरि निर्देशन र अभिनयसँगै लैजाँदा आफ्नो काम हेर्न पनि पाइँदैन।’ 

थिएटर भिलेज खोलेपछि चाहेर पनि नाटक निर्देशन गर्न सकेनन् सुवेदीले। उनले भने, ‘नाटक घर व्यवस्थापन गर्न जोखिम भएकाले पनि राम्रा रंगकर्मीहरु अभिनयमा फर्किन सकेका छैनन्।’ रंगकर्मीको माग सिनेमाले गर्न थालेपछि नाटकमा कम समय दिएको बताउँछन् उनै सुवेदी। भन्छन्, ‘सिनेमाले राम्रो पैसा र पपुलारिटी दिने भएपछि रंगमञ्चतिर फर्किन गाह्रो त हुन्छ नै किनकि बाँच्ने आधार जता हुन्छ त्यतै लाग्ने त हो।’ 

सिनेमाको मोह
निर्देशक निश्चल बस्नेतले रंगमञ्चका कलाकारहरू समेटेर फिल्म बनाए। बक्स अफिसमा हिट भयो लुट। एउटा धार नै स्थापित भयो सिनेमाको। त्यही न्यारेसनलाई दयाहाङ राई, सौगात मल्ल, भोला सापकोटा, कमलमणि नेपाल, सरिता गिरी, बुद्धि तामाङ, कामेश्वर चौरसियालगायत रंगकर्मीले आज पनि पछ्याइरहेका छन्। दामसँगै पपुलारिटी हुन थालेपछि रंगमञ्चमा अभिनय छुट्न थाल्यो। निर्देशनमा अलिअलि देखा परे पनि नाटकमा अभिनयमार्फत देखा पर्न सकेनन्। 

‘रंगमञ्चमा लागेर पेट पाल्न पनि गाह्रो भएको बेला सिनेमाले रंगकर्मीलाई दालभात खाने बनायो। यो अवसरलाई रंगकर्मीले क्याच पनि गर्न सके। अहिले उनीहरु बिना फिल्म विरलै बनेका छन्’, रंगकर्मी सिर्जना सुब्बाले भनिन्। 

सुब्बा चार वर्ष अगाडि अनुप बराल निर्देशित नाटक ‘महाभोज’मा देखा परेकी थिइन्। हुन त रंगमञ्च प्यासनले चलेको क्षेत्र हो। बाहिरबाट हेर्दा नाटक चलिराखेको छ, हाउसफुल छ भन्ने लाग्छ। तर, भित्र रंगकर्मको आफ्नै छ पीडा। नाटक गर्नेहरूलाई पैसा दिन सकेको अवस्था छैन। 

दयाहाङ राई
‘नाटक गर्नेहरूलाई चिया–खाजा खर्च पाँच सय, हजार रुपैयाँ दिएकोलाई पैसा दिएको के भन्नु,’ रंगकर्मी राज शाह भन्छन्, ‘रंगकर्म मात्र गरेर बाँच्ने अवस्था नभएकाले वैकल्पिक काम गर्नु बाध्यता नै हो। त्यो वैकल्पिक काम सिनेमा र प्रोजेक्ट नाटक बनेको छ।’

राम्रा रंगकर्मीहरूले फिल्ममा मौका पाउन थालेका छन्। यो देखेर नयाँ रंगकर्मीहरू नाटकलाई फिल्ममा जाने भर्याङ बनाउन एकोहोरिएका पनि छन्। रंगकर्मीलाई यो सुखद् लागे पनि रंगमञ्चबाटै आम्दानी गर्न सक्ने वातावरण भने अझै छैन। यस्तो हुनुको कारण नाटक बलियो नभएको ठान्छन् सुवेदी। भन्छन्, ‘पुराना रंगकर्मीलाई अभिनयमा फर्काउन नाटक पनि बलियो हुनुपर्छ। यतिखेर नाटकको अभाव पनि खड्किएको छ।’

सुवेदीको कुरामा सहमत छन् वरिष्ठ रंगकर्मी अनुप बराल। भन्छन्, ‘पहिलो कुरा त नाटक नै कम छ। भनेजस्तो नाटक नभएकै कारण पनि अभिनयमा फर्किन सकिएको छैन।’ 

नाटक नै छैनन्
‘रंगमञ्चमा बलियो नाटक आएन,’ प्रायः रंगकर्मीको यस्तै गुनासो सुन्न पाइन्छ। जसरी वरिष्ठ रंगकर्मीको अभिनय पछाडि पर्यो, त्यसैगरी नाटक लेखन पनि पछाडि पर्यो। 

पछिल्लो समय प्रयोगका रूपमा रंगमञ्चमा साहित्यका अरू विधाहरू कथा, कविता, निबन्ध, लघुकथालाई पनि नाटकमा मञ्चन गरेको पाइन्छ।  

पहलमान स्वाँरद्धारा लिखित नाटक अटलबहादुर पहिलो नाटक हो। र बालकृष्ण समको ‘मुकुन्द–इन्दिरा’ को प्रदर्शनपछि आधुनिक नाटक प्रवेश भएको मानिन्छ। त्यसमा १९९५ देखि ०२९ सालसम्म आधुनिक रंगमञ्चको प्रथम चरण, ०३० देखि ०४६ सम्म द्वितीय चरण र ०४७ देखि ०७२ सालसम्मलाई तृतीय चरणको रूपमा उनै शाहले दाबी गरेका छन्। बालकृष्ण सम, मानबहादुर सुब्बा, गोविन्द बहादुर मल्ल गोठाले, गोपालप्रसाद रिमाल, सत्यमोहन जोशी, अभि सुवेदीका विविध नाटकहरु आए। ती नाटकलाई निर्देशन गरिरहेका वरिष्ठ रंगकर्मीहरु अभिनय भने गर्दैनन्। अहिले बलियो नाटकको अभाव छ। 

नाटक कमजोर भए भन्ने गुनासो गरिरहेका वरिष्ठ रंगकर्मीले नाटक किन लेख्दैनन् भन्ने प्रश्नमा बराल भन्छन्, ‘नाटक लेखकले नै लेख्ने हो रंगकर्मीले होइन।’ नाटकको सैद्धान्तिक र प्राविधिक पक्षको राम्रो ज्ञान भएका रंगकर्मीले नाटक लेखनमा कलम चलाए फरक नपर्ने हो तर बराल नाटक लेखकबाटै लेखिनुपर्ने बताउँछन्। 

मण्डला थिएटरमा चलेको महोत्सव सुरु हुनु अगाडि वरिष्ठ रंगकर्मी अनुप बराललाई यो पंक्तिकारले सोधेको थियो। उनले अनकनाउँदै भने, ‘बलियो नाटकको अभावमा मैले नाटकमा अभिनय नगरेको हुँ।’

‘तपाई‌‌ किन नाटक खेल्नु हुन्न’ भन्ने प्रश्नमा उनले भने, ‘पहिला त मलाई कास्ट नै गरिरहेका छैनन्। दोस्रो नाटकको अभाव पनि हो।’  नाटकको अभाव, थिएटर व्यवस्थापनमात्रै नभएर वरिष्ठ रंगकर्मी गुरु भएका कारण पनि अभिनयमा फर्किन नसकेको बताउँछन् रंगकर्मी सुवेदी।

 गुरू भएपछि...
रंगकर्मी अनुप बरालले नाटक नै पढे। नाटक नै गरे। नाटकमै बाँचिरहेका छन्। उनीबाट नाटक सिकेर रंगमञ्चमा स्थापित भएका थुप्रै कलाकार छन्। यसर्थ रंगमञ्चमा अशेष मल्ल, सुनिल पोखरेल, विरेन्द्र हमाल, अनुप बराललाई गुरु मान्ने थुप्रै रंगकर्मी स्थापित कलाकार भएका छन्। तर उनीहरु भने गुरुमै सीमित भए। बरालकै शिष्य तथा पत्नी दिया मास्केले पछिल्लोपटक ‘कथा कस्तुरी’ निर्देशन गरिन्। 

गुरुमै सीमित भएका बराल भने आफूले बलियो नाटक नपाएकै कारण अभिनयमा फर्किन नसकेको बताउँछन्। भन्छन्, ‘बलियो नाटक र निर्देशनको अभाव भएकै कारण नाटकमा अभिनय गर्न पाएको छैन,’ बरालले भने। वरिष्ठ रंगकर्मीलाई नाटकमा अभिनयका लागि किन अनुरोध गर्दैनन् त? 

वरिष्ठहरू गुरू भएकै कारण अभिनयमा फर्किन नसकेको बताउने रंगकर्मी लम्साल भन्छन्, ‘पहिलो कारण त गुरु नै हो। गुरु भइसकेपछि जुनियरले काम लगाउन, निर्देशन दिन गाह्रो मान्छन्, तर नाटक नगरेका भने होइनन्। तुलनात्मक रूपमा कमचाहिँ भएको हो।’ 

anup baral
अनुप बराल
निर्देशनमा हात हालेपछि अभिनय गर्दा आफ्नो काम आफैंले हेर्न पाइँदैन, त्यसैले पनि अभिनय र निर्देशनमा एउटा रोज्नुपर्ने भएकाले अभिनय पछाडि परेको लाग्छ कौशी थिएटरकी आकांक्षा कार्कीलाई। भन्छिन्, ‘निर्देशनमा लागेपछि अभिनय गर्न सकिन्न, गाह्रो हुन्छ।’

तर रंगकर्मी राज शाह भने पुराना रंगकर्मीले पनि अभिनय गरेको जिकिर गर्छन्। भन्छन्, पुरानाले युवा रंगकर्मीले बनाएको नाटकमा बकाइदा अभिनय गरेका छन्, नयाँ रंगकर्मीको काम र प्रस्तुति हेरेर सुझाव र प्रशंसा दिएका छन्। एक–अर्काको अस्तित्व स्वीकारेका छन्। तर, रंगकर्मीबीच पर्याप्त अन्तरक्रिया भने हुन सकेको छैन।’

आकांक्षा कार्की भने यस कुरामा सहमत छैनन्। ‘वरिष्ठलाई प्रस्ताव राख्न नै डर लाग्छ,’ ४ वर्ष अगाडि अभिनय गरेकी रंगकर्मी कार्कीले भनिन्, ‘त्यसअनुसारको पारिश्रमिक पनि दिन सकिन्न।’ 

‘गुरु भएपछि नयाँ पुस्तालाई अघिल्ला पुस्ताले कक्षा दिन थाले। पढाउन थाले। त्यसपछि नयाँ पुस्तालाई नै नाटक गर्न झकझकाउन थाले र सिकाइरहेकाहरू गुरू भए। गुरु देखेर नडराउने शिष्य को होला र? यसर्थ, वरिष्ठ रंगकर्मी हावी हुन्छन् कि भन्ने डर पनि आजका निर्देशकलाई छ। त्यसो हुँदा पनि वरिष्ठहरु अभिनयमा फर्किने वातावरण भएन,’ कार्कीले थपिन्।

प्रकाशित: Dec 12, 2022| 07:31 सोमबार, मंसिर २६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।
जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।
चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।