शनिबार, साउन १२, २०८१
  • गृहपृष्ठ
  • राजनीति
  • समानुपातिक सांसद: एमालेमा ओली रिझाएका, कांग्रेस र माओवादीमा परिवारवाद

समानुपातिक सांसद: एमालेमा ओली रिझाएका, कांग्रेस र माओवादीमा परिवारवाद

दलहरूले समानुपातिक प्रणालीको दुरुपयोग गरी त्यसको मर्मविपरीत आफ्ना नातेदार, श्रीमती र भाइभतिजालाई त्यही छिद्रबाट संसद् छिराउने विकृत परिपाटी विकास भएको छ। यसपटक पनि राजनीतिक दलहरूले त्यही झल्को दिने गरी समानुपातिक उम्मेदवारको अन्तिम सूची निर्वाचन आयोगमा बुझाएका छन्।
 |  आइतबार, मंसिर २५, २०७९

काशीराम बजगाई

काशीराम बजगाई

आइतबार, मंसिर २५, २०७९

काठमाडौं- देशका सबै वर्ग, क्षेत्र, लिंग तथा जातिको राज्य संरचनामा समान प्रतिनिधित्व हुन पाउने व्यवस्था समानुपातिक प्रतिनिधित्वको अवधारणा हो। सीमान्तकृत, पिछडिएको वर्ग, समुदाय, क्षेत्र र लिंगको असमानता घटाउँदै सबैको प्रतिनिधित्व गराउने लक्ष्य यसको थियो। 

triton college

तर दलहरूले त्यसको दुरुपयोग गरी उक्त प्रणालीको मर्मविपरीत आफ्ना नातेदार, श्रीमती र भाइभतिजालाई त्यही छिद्रबाट संसद् छिराउने विकृत परिपाटी विकास भएको छ। यसपटक पनि राजनीतिक दलहरूले उक्त प्रणालीको दुरुपयोग गर्दै प्रतिनिधिसभा र प्रदेशसभाका समानुपातिक उम्मेदवारको अन्तिम सूची निर्वाचन आयोगमा बुझाएका छन्। उक्त सूचीमा नेतृत्वलाई रिझाएका र नेतृत्वनिकट नेताका आफन्तहरूको नाम समेटिएको छ। समानुपातिक सूचीमा एमालेमा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई रिझाएका व्यक्तिहरू परेका छन् भने कांग्रेसले परिवारवादलाई निरन्तरता दिएको छ।

एमालेले विवादित छवि भएका र अन्तर्राष्ट्रिय स्तरमा शक्तिशाली परिचय स्थापित गरेका धर्म प्रचारक एकनाथ ढकाललाई समानुपातिकमार्फत संसद् छिराउने भएको छ। नेपाल परिवार दलबाट दुईपटक संविधानसभा सदस्य भएका ढकाल ओलीलाई रिझाएका व्यक्ति हुन्। उसो त अहिले पनि उनी परिवार दलकै अध्यक्ष हुन्। एउटा दलको आवद्धता यथावत् रहेको अवस्थामा पनि एमालेले उनलाई समानुपातिक विकल्पको दुरुपयोग गरी सांसद बनाउन लागेको हो।

पूर्वमन्त्री समेत रहेका उनी अन्तर्राष्ट्रिय संस्था आईएपीपीका एशिया प्रशान्त क्षेत्रका संयोजक हुन्। २०७५ मंसिरमा उनले काठमाडौंमा एसिया प्यासिफिक सम्मेलनको नाममा धार्मिक सम्मेलन आयोजना गरेका थिए। उक्त सम्मेलनमा पूर्वप्रधानमन्त्री माधव नेपालदेखि विभिन्न मन्त्री र स्थानीय तहका नेताहरूले होली वाइन (कथित पवित्र रक्सी) पिएका थिए, जसको सर्वत्र आलोचना भएको थियो। उक्त कार्यक्रमका लागि ओली नेतृत्वको सरकारले ३ करोड ९९ लाख रुपैयाँ छुट्याएको थियो। उनलाई ओलीकै रुचीमा सांसद बनाउन लागिएको हो।

एमालेले खसआर्य महिलातर्फ मेनुकाकुमारी पोखरेलको नाम समानुपातिक सूचीमा समावेश गरेको छ। मेनुका एमाले महासचिव शंकर पोखरेलकी बहिनी हुन्। ओलीका विश्वासपात्र मानिने शंकरले बहिनीको नाम समानुपातिक महिलातर्फ पहिलो नम्बरमा राखेपछि पार्टीभित्रै आलोचना भएको थियो।

Metro Mart
vianet

यस्तै रुपन्देहीबाट एमालेले नैनकला थापालाई सांसद बनाएको छ। उनी नेकपा विभाजनपछि माओवादी छाडेर ओलीलाई निकै बलियो साथ दिएका रामबहादुर थापा बादलकी पत्नी हुन्। ओली सरकारमा सञ्चार तथा सूचना मन्त्री बनेकी उनलाई त्यसबेला सरकारको प्रवक्ताको जिम्मेवारी पनि दिइएको थियो।

पटकपटक अवसर पाएका रघुजी पन्तलाई पनि एमालेले समानुपातिक सांसद बनाएको छ। संसद् विघटनताका ओलीको विपक्षमा १० भाइसँग उभिएका पन्त पार्टी विभाजनपछि भने एमालेमै रहे। कुनै समय ओलीको चर्को आलोचक रहेका उनी पछिल्लो समय ओलीका 'मौन समर्थक'का रुपमा पार्टी पंक्तिमा छन्। एमालेका केन्द्रीय सदस्य समेत रहेका उनी ज्ञानेन्द्र शाहले कू गरेपछि देउवा प्रधानमन्त्री हुँदा २०६१ मा श्रम तथा यातायात मन्त्री बनेका थिए।

दलहरूले समानुपातिक प्रणालीको दुरुपयोग गरी त्यसको मर्मविपरीत आफ्ना नातेदार, श्रीमती र भाइभतिजालाई त्यही छिद्रबाट संसद् छिराउने विकृत परिपाटी विकास भएको छ। यसपटक पनि राजनीतिक दलहरूले त्यही झल्को दिने गरी समानुपातिक उम्मेदवारको अन्तिम सूची निर्वाचन आयोगमा बुझाएका छन्।

यता नेपाली कांग्रेसले समानुपातिक उम्मेदवारको सूचीमा परिवारवादलाई निरन्तरता दिएको छ। प्रधानमन्त्री शेरबहादुर देउवापत्नी आरजु राणा देउवा र गृहमन्त्री बालकृष्ण खाणपत्नी मञ्जु खाणलाई कांग्रेसले समानुपातिक सांसद बनाएको छ। कांग्रेसले केन्द्रीय राजनीतिमा पहुँच भएका र पटकपटक अवसर पाएका विमलेन्द्र निधि र प्रकाशशरण महतलाई पनि समानुपातिकबाट संसद् छिराएको छ। विमलेन्द्र कांग्रेसका संस्थापकमध्ये एक महेन्द्रनारायण निधिका छोरा हुन्।

उपप्रधान एवं गृहमन्त्री भइसकेका उनी देउवाका विश्वासपात्र हुन्। यस्तै महत पनि कांग्रेसभित्र देउवाकै विश्वासपात्रभित्र पर्छन्। पूर्वअर्थमन्त्री रामशरण महतका भाइ समेत रहेका उनको केन्द्रीय राजनीतिमा राम्रो पकड छ। कांग्रेस सहमहामन्त्री समेत रहेका उनी पार्टी प्रवक्ता पनि हुन्। पुष्पकमल दाहाल प्रचण्डको क्याबिनेटमा उनले २०७३ साउनदेखि ९ महिना ऊर्जा तथा पररा ष्ट्रमन्त्रालयको जिम्मेवारी सम्हालेका थिए।

यता माओवादीले पनि समानुपातिकमा प्रभावशाली नेताका परिवार सदस्यलाई संसद् छिराएको छ। माओवादीले दाङबाट समानुपातिकतर्फ सांसद बनाउन लागेकी नारायणी शर्मा अर्थमन्त्री जनार्दन शर्माकी बहिनी हुन्। २०६४ यता निरन्तर चौथो पटक सांसद बनेका उनी पार्टी उपमहासचिव हुन्। यस्तै पूर्वगृहमन्त्री शक्ति बस्नेतकी बहिनी ज्ञानु बस्नेतलाई पनि माओवादीले माननीय बनाएको छ। संघीय मामिला तथा स्थानीय विकासमन्त्रीको जिम्मेवारी सम्हालिसकेका हितराज पाण्डे पनि समानुपातिकबाट संसद् छिर्ने भएका छन्। उनी प्रचण्ड निकट मानिन्छन्।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पञ्चायतकालदेखि सत्ताको लाभ लिँदै आएका पशुपति शमशेर जबरालाई समानुपातिक सांसद बनाएको छ। पञ्चायतकालमै पर्यटन तथा यातायात र पञ्चायत तथा स्थानीय विकास मन्त्री बनेका उनी बहुदल आएपछि क्रमश: अर्थ, परराष्ट्र र जलस्रोत तथा सञ्चारमन्त्री बनेका थिए। उनी राणा शासनका अन्तिम प्रधानमन्त्री मोहन शमशेरका नाति हुन्। 

प्रकाशित: Dec 11, 2022| 18:20 आइतबार, मंसिर २५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...