काठमाडौं– बिहीबार बेलुकी राष्ट्रिय सभागृहमा बलिउड फिल्म निर्देशक प्रकाश झा अभिनीत फिल्म ‘मट्टोकी साइकल’ हेरेसँगै सुरु भयो प्रश्नोत्तर। मञ्चमा देखिए उनै झा र सोही फिल्मका निर्देशक एम गनी। काठमाडौं अन्तर्राष्ट्रिय पर्वतीय फिल्म फेस्टिबल (किम्फ)मा प्रमुख अतिथिका रूपमा नेपाल आएका झा अभिनीत ‘मट्टोकी साइकिल’ किम्फमा विशेष प्रदर्शन थियो। उनको दोस्रो पटक काठमाडौं आगमन पनि यही कारणले भएको हो।
कार्यक्रममा निर्देशकद्वयलाई सुरुआतमै सोधियो, ‘फिल्ममा निम्न वर्गको कथा नै किन भन्न मन लाग्यो?’
‘यो समस्या भारतमा मात्रै नभएर नेपालमा पनि होला। स्थानीय राजनीति र न्यायिक क्षेत्रबाट पीडित मजदुरलाई हामी देख्दैनौं तर जिन्दगी त्यहाँ पनि छ’, उत्तर प्रदेशको मथुरा स्थायी घर भएका निर्देशक एम गनीले भने।
निम्न वर्गको कथा भन्ने माध्यम साइकल मात्रै नभए पनि गनीले त्यसलाई नै रोजे। गनीका अनुसार यस्ता कथा अन्य फिल्म निर्माताले फरक शैलीमा भनिरहेका होलान्। तर गानीले साइकलबाटै कथा भन्नुको कारण यसरी खोले, ‘बुबाले म ठूलो हुन्जेलसम्म नयाँ साइकल किन्न चाहेका थिए तर पछि पुरानो साइकल किनेर चित्त बुझाउनुपरेको थियो।’
फिल्ममा ‘देहाडी मजदुर’को भूमिका वहन गरेका झाले स्क्रिप्टको चाङबाट गनीले फटाएको मट्टोकी साइकलको स्क्रिप्ट पढेपछि गनीलाई फिल्म बनाउन सुझाएका थिए। २७ दिनमा फिल्मको छायांकन सकिएको मट्टोकी साइकलको स्क्रिप्ट मन परेको सुनाएसँगै मुख्य भूमिका गरिदिन झालाई अनुरोध गरेका रहेछन्।
मट्टुको भूमिका गर्न आग्रह गरेर ममाथि बम बर्साए गनीले’, झाले भने’, मलाई कथा मन परे पनि खेलौंला भनेर सोचेको थिइनँ। पछि गनीले अनुरोध गरेपछि नाइँ भन्न सकिनँ। विषयवस्तुले मलाई काम गर्न बाध्य बनायो र खेलें।’
गंगाजल, दामुल, राजनीति, चक्रव्यूहजस्ता फिल्म निर्देशन गरेका झा आफ्ना फिल्ममा राजनीतिक, सामाजिक, आर्थिक पक्षलाई छुटाउँदैनन्। उनी काठमाडौंलाई सांस्कृतिक रूपमा जीवन्त सहर बनाएर नेपालमा हिमाल, पहाड र मधेसका कथावस्तु उधिनेर प्रशस्तै फिल्म निर्माण गर्न सकिने सम्भावना औंल्याउँछन्।
गंगाजल, दामुल, राजनीति, चक्रव्यूहजस्ता फिल्म निर्देशन गरेका झा आफ्ना फिल्ममा राजनीतिक, सामाजिक, आर्थिक पक्षलाई छुटाउँदैनन्। मट्टोकी साइकल कथाका केही लियर्स कोट्याउँदै झाले भने, मजदुरका समस्यालाई हामी समस्यै मान्दैनौं। तिनलाई नदेखेझैं गरिदिन्छौं। तिमीलाई कस्तो छ? परिवारमा को–को छन्? कस्तो चलेको छ जिन्दगी भनेर कहिल्यै सोध्दैनौं। त्यहाँ पनि जिन्दगी छ।’
अवसर र समयको गतिमा कथावाचनका भिन्न पक्षमा आनन्द लिँदै आएको उनले सुनाए। ‘भाषा नबुझे पनि अभिनय गर्न मज्जा आउँछ। बाटोमा आउने हरेक काम गर्छु र तिनलाई प्रेम पनि’ अभिनय गर्नुको कारणबारे उनी खुले।
झाले मट्टुको भूमिका गर्दा पूरै मट्टु नै भएर बाँचेको बताए। जुन दिन साइकल भित्ताबाट हट्यो आफू खाली भएको महसुुस गरेको उनको भनाइ छ। उनले भने, ‘साइकल मेरो घरको छोरीजस्तै थियो। घरको सदस्य थियो।’
गनीले साइकल मात्रै कथा नभएर यसमा अन्य कथा पनि सँगसँगै गएको बताए। उनले भने, ‘प्रधानले २७ लाखको कार किनेर ल्याएको छ तर उसकी श्रीमती झाडु लगाइरहेकी छे। यहाँ महिला अझै कहाँ छन् भन्ने प्रश्न छ।’
‘साइकलको मात्रै कथा होइन यो। साइकलको सहारामा जीविका चलाउने एक मजदुरको अपेक्षाको कथा पनि हो’, झाले भने, प्रधानले साइकल चोरेको होइन। तर चोरेको साइकल खोजिदिन प्रधानसँग जुन अपेक्षा राखेको थियो, त्यो पूरा हुँदैन। यो समाजमा मजदुरको उम्मिद बन्छ। टुट्छ, बन्छ टुट्छ। यो क्रम चलिरहेको छ।’
गनी तीन क्षेत्रमा अब्बल छन्। उनले क्यामेरा, लेखन र निर्देशनमा एकसाथ काम गरेको बताए। राम्रो कथा पाए फोन गर्नसमेत भने गनीले।
मट्टुको साइकलमार्फत मजदुरको कथा उठाएका निर्देशकद्वयले के असली जीवनमा कुनै मजदुरको जीवनस्तर उकास्न सहयोग गरे? निर्देशक गनी आफ्ना बालबच्चाको पालनपोषणमा सहयोग गरेबाहेक अन्यत्र गर्न नसकेको बताउँछन्। उनले भने, ‘यो काम राज्यको हो। नीति नियम तथा योजना बनाउनेलाई यस्ता समस्या समाधान गर्न सोधिरहन्छु।’