काठमाडौं– काठमाडौं महानगरले २८औं स्थापना दिवस सप्ताहव्यापी विविध कार्यक्रम गरी मनाउने भएको छ। महानगरको २८औं स्थापना दिवस विभिन्न कार्यक्रम आयोजना गरी मनाउन लागिएको महानगरका प्रवक्ता नवीन मानन्धरले बताए। २३ मंसिरमा विशेष सरसफाइ गरी औपचारिक कार्यक्रमसहित महानगर दिवस मनाइनेछ।
२९ मंसिर २०५२ मा काठमाडौं नगरपालिकालाई महानगर घोषणा गरेपछि हरेक वर्ष सोही दिन महानगर दिवस मनाइँदै आएको छ।
कार्यक्रममा अनलाइनमार्फत सेवाग्राही सर्वेक्षण, मौलिक बाजागाजामा युवाको रुचि बढाउन धिमे बाजा प्रतियोगिता, विद्यालयका विद्यार्थी लागि चित्रकला र निबन्ध लेखन, शिक्षक स्तरमा वक्तृत्वकला, जेलभित्रका विद्यालय, फरक क्षमता भएका (सुस्त श्रवण, सुस्त मनस्थिति, विशेष विद्यालय) विद्यार्थीका लागि कुर्सी दौड प्रतियोगिता, महानगरका कर्मचारीबीच हाजिरी जवाफ प्रतियोगिता सञ्चालन गरिनेछ।
यस्तै, परम्परागत गुरुको सम्मान, मेयर ११– प्रमुख प्रशासकीय अधिकृत ११ मैत्रीपूर्ण फुटबल, महिला जनप्रतिनिधि र कर्मचारीका लागि कुर्सी दौड प्रतियोगिता चलाइने महानगरले बताएको छ। २९ मंसिरमा कला प्रवद्र्धन गर्न प्रतियोगितात्मक चित्रकला र तस्बिर प्रदर्शनी पनि हुनेछ।
मानन्धरका अनुसार महिला उद्यमशीलतालाई प्रवद्र्धन गर्न उद्यमी मेला र स्थानीय परिकारको प्रवद्र्धन गर्न खाना मेलालगायत विभिन्न कार्यक्रम हुनेछन्।