बिहीबार, वैशाख ६, २०८१

चुनाव र विश्वकपले सुस्ताएको नेपाली चलचित्र बजार

फिल्म निर्माणको अफ सिजन, आमनिर्वाचन, विश्वकपका कारण चलचित्र क्षेत्रमा ठूला ब्यानरका चलचित्र बनेका छैनन्।
 |  बिहीबार, मंसिर २२, २०७९

राज सरगम

राज सरगम

बिहीबार, मंसिर २२, २०७९

काठमाडौं– ११ कात्तिकदेखि चलचित्र महापुरुष प्रदर्शनमा आएयता ठूला ब्यानरका नेपाली चलचित्र प्रदर्शनमा  छैनन्। अघिल्लो दुई सातामा चलेको चलचित्र मिलन र पासोले नेपाली दर्शकलाई हलसम्म तान्न सकेन। बलिउड र दक्षिण भारतका बिग बजेट सिनेमाले कोरोनापछि दर्शकलाई सिनेमा हलसम्म फर्काएको थियो। तर ‘उचाइ’पछि त्यस्ता फिल्म प्रदर्शन भएका छैनन्। त्यसो हुँदा चलचित्र वितरक तथा हल सञ्चालक पनि यो समय निधाएझैं भएका छन्। निर्माता तथा हल सञ्चालक नरेन्द्र महर्जनका अनुसार यो समय चलचित्र बजारका लागि अफ सिजन हो।

triton college

अफ सिजन 

प्रायः चलचित्र वितरक मंसिर, पुसमा चलचित्र वितरण गर्न डराउँछन्। कारण हो– अफ सिजन। 

मंसिर विशेषतः विवाहोत्सवको समय हो। यतिखेर विवाह र त्यसको तयारीका लागि गर्नुपर्ने भागदौडका कारण चलचित्र हेर्न दर्शक हलसम्म पुग्दैनन्। साथै, चिसो मौसममा दर्शक घरबाहिर घाम ताप्ने छाडेर चिसो सिनेमा हलमा फिल्म हेर्न रहर गर्दैनन्। ‘चलचित्रको बजार तातिने सिजन मंसिर, पुस होइन किनकि यो सिजनमा बढी विवाह हुने हुँदा मानिस त्यता व्यस्त हुन्छन्,’ महर्जन भन्छन्। 

अर्का चलचित्र वितरक तथा हल सञ्चालक गोपाल कायस्थ चलचित्र बजार सेलाउनुको कारण अफ सिजन मात्रै मान्दैनन्। उनका अनुसार अफ सिजनमा ठूला ब्यानरमा चलचित्र प्रदर्शन नगरिँदा पनि दर्शक हलसम्म जाँदैनन्। दर्शकलाई तान्न पहिला राम्रा फिल्म प्रदर्शन हुनुपर्ने बुझाइ उनको छ। ‘चलचित्र बजारका लागि यो अफ सिजन हो। साथै, ठूला ब्यानरका चलचित्र प्रदर्शनमा आएका पनि छैनन्। ४ मंसिरको निर्वाचनका कारण पनि चलचित्र बजार सेलाएको हो’, उनले भने। 

corrent noodles
Metro Mart

निर्वाचन 

४ मंसिरको निर्वाचनपछि सिंगो देशबासीको ध्यान चुनावी मत परिणामतिर मोडियो।  यसमा चलचित्रकर्मी छुट्ने कुरै भएन। अझ यसपालि केही कलाकार विभिन्न पार्टीबाट टिकट पाएर चुनावी मैदानमा होमिए। केही गायक तथा चलचित्रकर्मीले स्वतन्त्र उम्मेदवारी नै दिएको हुँदा सबैको ध्यान मत जोडघटाउमै केन्द्रित रह्यो। अर्को उत्साह नयाँ पार्टी र स्वतन्त्र उम्मेदवारी दिएका नयाँ अनुहारले यो वर्षको चुनाव अझै रोचक बनायो। 

राजनीतिक विषयमाथि टिप्पणी गरिरहने अभिनेता दीपकराज गिरीले चुनावपछि पनि नियमित आफ्ना कुरा सामाजिक सन्जालमा राखिरहेका छन्। पाँच दिनअघि मात्रै गिरीले सामाजिक सन्जालमा लेखेका छन्, ‘ठूला पार्टीका नेताहरु स–साना पार्टी नेताका ढोका–ढोका गएर हात जोडेर सरकारमा आउनुस् न प्लिज भन्नुपर्ने दिन आयो। परिवर्तन...।’

यसर्थ, नयाँ अनुहारका आशलाग्दा व्यक्तिको जित र पुरानाका हारले ४ मंसिरको चुनाव विशेष बनेको हुँदा अन्यत्रजस्तै चलचित्र क्षेत्र पनि सुस्ताएको हो। स्थानीय चुनावमा र्‍यापर बालेन्द्र साहले काठमाडौं महानगरका लागि मेयरमा अप्रत्यासित जित हासिल गरेपछि कलाकारले विशुद्ध नयाँ अनुहारलाई नै जिताउन कोसिस गरे। निश्चल बस्नेत, स्वस्तिमा खड्का, प्रियंका कार्की, निर्मल शर्मा, वर्षा शिवाकोटी, दयाहाङ राई, दीपाश्री निरौलाजस्ता कलाकारले खुलेरै नयाँ तथा स्वतन्त्र उम्मेदवारलाई भोट हाल्न जनतासँग अपिल गरे। यसरी निर्माता, कलाकार निर्देशक, चलचित्र वितरक र हल सञ्चालकसमेत चुनावमा केन्द्रित भएपछि दर्शक चलचित्र बजार स्वतः घट्ने नै भयो। 

दसैंको छेको पारेर फुर्के उपन्यास बजारमा निर्देशक तथा अभिनेता खगेन्द्र लामिछाने नयाँ फिल्मको तयारीमा छन्। पानीफोटोले बक्स अफिसमा खासै कमाल गर्न नसकेपछि उनको ध्यान पनि राजनीतिक गफगाफमै केन्द्रित छ। यही सेरोफेरोमा नयाँ फिल्मको स्क्रिप्टमा बसिरहेका लामिछाने चुनावपछि राजनीतिक टिप्पणी निरन्तर लेखिरहेका छन्। 

अर्को कुरा, निर्वाचनपछि मत गणनाको समय करिब–करिब महिना दिनजसो हुने भएकाले पनि मंसिर महिना विशेष चुनावी माहौलमै रह्यो। साथै, सरकार कसको बन्ने होला भन्नै कुतूहल अहिले पनि जनमानसमा रहेकै छ। चलचित्र वितरक कायस्थका अनुसार चलचित्र बजार निर्वाचनको कारणले मात्रै सेलाएको होइन। उनी भन्छन्, ‘चलचित्रको व्यापार यतिखेर सेलाउनुका कारण कतारमा जारी विश्वकप पनि हो।’

 विश्वकप

चलचित्र निर्देशक दीपेन्द्र लामा २ नम्बरी फिल्मको सफलतासँगै दोस्रो फिल्म लेखनमा थिए। फिल्म लेखिरहेका लामाले एक्कासि स्थगित गरे। किनकि, यतिखेर उनको ध्यान कतारमा जारी विश्वकपले तान्यो। हरेक दिनको खेल नछुटाई हेर्दै आएका लामाले खेल र खेलाडीमाथि सामाजिक सन्जालमा टिप्पणी पनि लेख्दै आएका छन्। उनी भन्छन्, ‘यतिखेर निर्वाचनले भन्दा पनि विश्वकपले मेरो ध्यान तानेको छ। इन्जोई गरिरहेको छु।’

लामाका लागि यसपालि नेपालीलाई विश्वकपमा चासो बढ्नु एसियाली टिमको खेलका कारण पनि हो।  जापान र दक्षिण कोरियाका खेलाडीको खेलको खुलेरै प्रशंसा गरेका छन्, सामाजिक सन्जालमा। विश्वकप निरन्तर हेरेका अभिनेता गिरी सामाजिक सन्जालमा लेख्छन्, ‘यो साउदी पनि घन्टी बनेर आयो।’

यतिखेर निर्वाचनमा नसोचेका नयाँ अनुहार आएका र विश्वकपमा नसोचेका देशले खेलेका कारण पनि चलचित्र हेर्न दर्शक हलसम्म गइरहन चाहँदैनन्। यो समय प्रदर्शनमा आएका चलचित्रले सोचजस्तो दर्शक पाउँदैनन् किनकि विश्वकपको क्वार्टर फाइनल प्रवेश गरेसँगै मानिसको ध्यान अझै विश्वकपतिर तानिएको छ।

विश्वकपको सेमिफाइनल र फाइनल खेलसमेत सिनेमा हलमा हेरिन्थ्यो। अहिले पनि यो क्रम दोहोरिने देखिन्छ। वितरक महर्जन विश्वकपको फाइनल चलचित्र हलमा लगाउने सोचमा पुगेका छन्। उनी भन्छन्, ‘सेमिफाइनल होइन, फाइनलचाहिँ हलमा शो गरौं कि भन्ने सोच हो तर फिक्स छैन।’

अफ सिजन, निर्वाचन, विश्वकपका कारण नै चलचित्र क्षेत्रमा ठूला ब्यानरका चलचित्रकर्मीले आफ्ना चलचित्र प्रदर्शनमा ल्याएका छैनन्।यसरी नेपाली चलचित्र उद्योगसमेत सुस्ताउने गरी आएको निर्वाचन र विश्वकपले जसरी संसारको ध्यान तानेको छ, त्यसैगरी चलचित्र उद्योगमा काम गर्नेको पनि तानेको छ। 

चुनावी समीक्षासँगै विश्वकपको समीक्षाले पनि गाउँसहर तातिएको छ। चिया अड्डादेखि कार्यालयसम्म विश्वकपको विश्लेषण चलेको छ। आजको मितिसम्म सबै क्षेत्रको मतगणना नआएको र विश्वकप २० डिसेम्बरसम्म जारी हुने भएकाले मंसिर, पुससम्म चलचित्र बजार तातिने छनक देखिँदैन।

प्रकाशित: Dec 08, 2022| 10:39 बिहीबार, मंसिर २२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।
जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।
चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।