आइतबार, वैशाख २७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • बागलुङमा अव्यवस्थित रुपमा राखिएका ठेलागाडा हटाउन सुरु

बागलुङमा अव्यवस्थित रुपमा राखिएका ठेलागाडा हटाउन सुरु

बागलुङ नगरपालिकाले अव्यवस्थित पोल हटाउने क्रमसँगै बजारमा अव्यवस्थित रुपमा राखिएका ठेलागाडा नियन्त्रणमा लिन थालेको छ।
 |  मंगलबार, मंसिर २०, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर २०, २०७९

बलेवा- बागलुङ नगरपालिकाले अव्यवस्थित पोल हटाउने क्रमसँगै बजारमा अव्यवस्थित रुपमा राखिएका ठेलागाडा नियन्त्रणमा लिन थालेको छ। 

National life

बजारमा सवारी चापसँगै बढेको जाम हटाउन जथाभावी राखेर व्यापार गरिएका ठेलागाडा, फुटपाथ ढाकेर राखिएका व्यापारिक सामान, अलपत्र छाडिएका निर्माण सामग्री तत्काल हटाउन चेतावनी दिएको बानपा-२ का वडा सदस्य तथा अव्यवस्थित तारपोल हटाउने समितिका सदस्य अर्जुन घिमिरेले बताए। ‘पहिलो पटक भेटिएकालाई चेतावनी दिएका छौँ, दोस्रो पटक भेटिएका सामान उठाएका छौँ’, घिमिरेले भने, ‘अलपत्र भेटिएका केही ठेलागाडी नियन्त्रणमा ल्याइसकिएको छ।’ ठेलागाडा उठाउन थालेपछि कतिपयले भागाभाग गरेर लुकाएका थिए। 

घर छेउमा फालिएका फोहोर, ढुङ्गामाटो र गिट्टी समेतले आवागमनमा असर पुगेको स्थानमा नगरपालिकाको ट्र्याक्टरमा सामान उठाएको छ। केहीले सडकमा अव्यवस्थित छाडेका अन्य व्यापारिक प्रयोजनका घुम्ती पसल र काठका बाकससमेत उठाइएको हो। सदरमुकामस्थित बागलुङ बजारमा तीन सयभन्दा बढी ठेलागाडा भएको अनुमानपछि यो काम थालिएको घिमिरेले जानकारी दिए।

ठेलागाडामा राखेर कर नतिरेका तथा अव्यवस्थित रुपमा राखेर सामान बेचेको भेटिएपछि नगरपालिकाले नियमन गर्न थालेको थियो। उद्योग वाणिज्य सङ्घले पनि कर नतिरेका सामान ठेलागाडामा राखेर जथाभावी बेच्दा कर तिर्नेलाई मर्का परेको गुनासो गरेको थियो। त्यस्तै सडक अवरुद्ध हुने गरी उनीहरूले सामान राख्दा ट्राफिक जाम बढेको थियो।

यस्तै, नगरपालिकाले ५० बढी अव्यवस्थित पोल पनि हटाएको छ। विद्युत्का पोल नगरपालिकाले आफैँ व्यवस्थापन गर्दैछ भने टेलिकमको पोल भए टेलिकमले नै व्यवस्थापन गरिरहेको छ। ‘अव्यवस्थित पोल काटेर हटाउँदा सडक केही फराकिलो बनेको छ’, नगरपालिकाका योजना अधिकृत युक्तप्रसाद सुवेदीले भने, ‘बजार अनुगमन र व्यवस्थापनका लागि विशेष कार्यविधि र कार्यक्रममार्फत नियमित गरिने छ।’ 

आगामी पुसमा हुने नगर परिषद्मा कार्यविधि बनेर कार्यान्वयनमा आउने उनले जानकारी दिए। बागलुङ बजारमा फुटपाथ छैन। साँघुरो सडक, दायाँबायाँ सवारी साधन रोकिदिने र निर्माण सामग्रीसमेत जथाभावी राखिदिँदा पैदलयात्रीले पनि सास्ती खेपेका छन् भने दुर्घटनाको जोखिम बढेको छ।

प्रकाशित: Dec 06, 2022| 19:40 मंगलबार, मंसिर २०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।