बिहीबार, जेठ २८, २०८३

तोरी खेतीमा बढेन गुल्मेली किसानको आकर्षण

अकासे पानीको भरमा तोरी खेती गर्नुपर्ने बाध्यता भएकाले व्यावसायिक तोरी खेतीमा घट्दै किसानको आकर्षण।
 |  मंगलबार, मंसिर २०, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर २०, २०७९

गुल्मी–जिल्लामा पछिल्लो समय व्यावसायिक तोरी खेतीमा किसानको आकर्षण बढेको छैन। रेसुंगा नगरपालिका–५ का पीताम्बर पन्थीले तेलको अड्कोपड्कोका लागि मात्र तोरी खेती गरिरहेका छन्। ‘मैले व्यावसायिक किनबेचका लागि नभई घरका लागि तोरी खेती गरेको छु। तोरी खेती सजिलो भए पनि व्यावसायिकतर्फ कसैको ध्यान पुगेन’, पन्थीले भने।

National life

आफूले गरेको तोरी खेती सधैं अकासे पानीको भरमा रहेकाले अहिले सोचेजस्तो उत्पादन नहुने  पन्थीले बताए। तीन महिने बालीका रूपमा रहेको सो खेतीका लागि धेरै मिहिनेत गर्नुपर्दैन। असोजमा तोरी छरेपछि मंसिरमा छिन्ने समय हुन्छ। तोरीलाई झार गोड्ने, बारम्बार सिँचाइ गर्ने, धेरै मल राख्नुपर्ने र लगातार हेरचाह गर्न आवश्यक पर्दैन।

सोही स्थानका किसान चन्द्रकला मरासिनी बजारमा तेलहनजन्य पदार्थको मूल्य अकासिएका बेला आफ्नो खेतबारीमा तोरी खेतीको उत्पादन घट्ने पिरलोमा छन्। ‘असोजमा तोरी छरियो। कात्तिक अन्तिमसम्म पनि पानी परेन। बजारबाट किनेर तेल खान सक्ने अवस्था छैन’, उनले दुःखेसो गरिन्। समयमा मल पाउने, बिउ पाउने र सिँचाइ सुविधा भए तोरी खेतीमा आकर्षण हुने मरासिनीको भनाइ छ।

रेसुंगा–४ का दीननाथ भण्डारीले अकासे पानीको भरमा तोरी खेती गर्नुपर्ने बाध्यता भएकाले व्यावसायिकतर्फ नगएको बताए। समयमा पानी परे राम्रो हुने र पानी नपरे लगानी खेर जाने जोखिमका कारण सबै किसान तोरी खेतीतर्फ आकर्षित नभएको भण्डारीको भनाइ छ।

‘अघिल्लो वर्ष समयमा पानी परेकाले राम्रै तोरी उत्पादन भयो तर यसपटक लगानी खेर जानेजस्तो छ’, उनी भन्छन्, ‘मौसमी वर्षाका भरमा गरेको खेती एकनासे हुँदैन।’ यति मात्र होइन, जिल्लाका सबै ठाउँमा व्यावसायिक तोरी खेतीतर्फ कसैको ध्यान पुगेको छैन। अड्कोपड्कोका लागि मात्र तोरी खेती गर्नेहरू बढी भेटिन्छन्।

Shivam cement

बजारमा मूल्य अकासिएको भए पनि तेलहन आयातकै भरमा रहेको छ। तोरी खेतीमा पनि पर्याप्त मात्रामा किसानको आकर्षण छैन। आंशिक खेती गरिरहेका किसान पनि विभिन्न समस्याबाट हैरानी खेप्न बाध्य छन्। 

कृषि ज्ञान केन्द्र गुल्मीका बाली संरक्षण अधिकृत प्रकाश मरासिनीले जलवायु परिवर्तनका कारण समयमा पानी नपरेकाले यो वर्ष तोरी उत्पादन घट्न सक्ने जानकारी दिए। तेलहनको बजारभाउ बढेकाले तुलानात्मक रूपमा तोरी खेती गर्ने बढेको र अघिल्लो वर्ष समयमा परेको पानीका कारण उत्पादन पनि बढेको उनले बताए। 

गत वर्ष गुल्मीको ५८३ हेक्टर क्षेत्रफलमा ५८९ मेट्रिक टन तोरी उत्पादन भएको थियो। यस वर्ष दुई प्रतिशतले उत्पादन घट्न सक्ने ज्ञान केन्द्रको प्रारम्भिक अनुमान छ। ‘समयमा पानी पनि परेन। हुर्किन लागेको तोरीमा लाही किराको समस्या बढ्यो’, उनले भने। तोरी खेतीको क्षेत्रफल केही बढे पनि विषादी प्रयोग गर्न नहुने कारणले उत्पादनमा ह्रास आएको उनले बताए।–रासस

प्रकाशित: Dec 06, 2022| 05:20 मंगलबार, मंसिर २०, २०७९
प्रतिक्रिया दिनुहोस्