बिहीबार, जेठ २८, २०८३

मध्यमोदी जलविद्युत् आयोजनामा परीक्षण उत्पादन

करिब ४ अर्ब लगानीमा निर्माण भएको आयोजनाबाट आजदेखि परीक्षण उत्पादन सुरु भएको हो।
 |  सोमबार, मंसिर १९, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर १९, २०७९

पर्वत– पर्वतको मोदी खोलामा निर्माणाधीन १८ मेगावाट क्षमताको मध्यमोदी जलविद्युत् आयोजना निर्माण पूरा भएको छ। आयोजनाको सम्पूर्ण काम पूरा भएर परीक्षण उत्पादनको तयारी सुरु गरिएको हो। मिडिल मोदी हाइड्रोपावरले २०७१ मंसिरमा सुरु गरेको आयोजना आठ वर्षको अवधिमा सम्पन्न भएको हो।

National life

करिब ४ अर्ब लगानीमा निर्माण भएको आयोजनाबाट आजदेखि परीक्षण उत्पादन सुरु गरिएको आयोजना प्रमुख प्रताप खरेलले जानकारी दिए। नेपाल विद्युत् प्राधिकरणको टोलीले परीक्षण उत्पादन र प्रसारण लाइनमा जडान गर्ने कार्यको अध्ययन गरिरहेको खरेलले बताए। 

निर्माण थालेको तीन वर्षमा नै काम पूरा गर्ने लक्ष्य राखिए पनि भूकम्प, नाकाबन्दी र कोभिड  असरका कारण आयोजना पाँच वर्ष पछि धकेलिएको हो। आयोजना प्रमुख खरेलका अनुसार परीक्षण उत्पादन सुरु गरेपछि उत्पादित विद्युत् १३२ केभी क्षमताको मोदी–लेखनाथ सबस्टेसनमा जडान गर्ने तयारी भइरहेको छ। १४ दिनसम्मको परीक्षणपछि मात्र केन्द्रीय प्रसारण लाइनमा जोडिनेछ। 

आयोजनाको ड्याम, टनेल, पावर हाउस, टावर निर्माणलाई आयोजनाका प्रमुख र जटिल कामका रूपमा लिने गरिन्छ ती सबै काम पूरा भएका छन्। प्रसारण लाइन निर्माण सकिएपछि परीक्षण उत्पादन थालिएको खरेलले बताए। सुरुमा २ अर्ब ८० करोड लागत लाग्ने अनुमान गरिएको आयोजना निर्माण चौधरी ग्रुपले गरेको हो। २०७१ मा ग्रुपका अध्यक्ष विनोद चौधरीले आयोजनाको शिलान्यास गरेका थिए।

तीन वर्षमै निर्माण सकेर २०७४ मंसिरमा काम पूरा गर्ने लक्ष्य राखिए पनि प्रभावित क्षेत्रका नागरिकको पटक–पटकको आन्दोलन र विरोध तथा प्राकृतिक विपद्का कारण आयोजनाको काम लम्बिएको आयोजना प्रमुख खरेलले जानकारी दिए। सोही कारण लागतसमेत ह्वात्तै बढेको छ। 

Shivam cement

२०७२ मा भूकम्पको मारमा परेको आयोजनाले बाढीपहिराको पनि उस्तै सामना गर्नुपरेको थियो। पछिल्लो एक वर्षयता आयोजना निर्माण कार्यमा कुनै पनि पक्षबाट विरोध नभएका कारण कामले तीव्रता पाएको थियो। पर्वतको मोदी गाउँपालिका–२ केंगामा पावर हाउस राखिएको आयोजनाको बाँध भने कास्कीको अन्नपूर्ण गाउँपालिका–३ वीरेठाँटीमा रहेको छ। आयोजनाको २ हजार ३९३ मिटर लामो सुरुङमा मोदी खोलाको पानी ल्याइनेछ।

निर्माण सुरु गर्ने बेलामा १५.१ मेगावाट क्षमतामा आयोजना सञ्चालन गर्ने भनिए पनि निर्माण सँगसँगै क्षमता बढेर १८ मेगावाटमा पुगेको छ।–रासस

प्रकाशित: Dec 05, 2022| 18:00 सोमबार, मंसिर १९, २०७९
प्रतिक्रिया दिनुहोस्