काठमाडौं– तीसको दशकमा कवि–गीतकार दिनेश अधिकारीलाई रेडियो नसुनी निद्रै लाग्दैनथ्यो। उनका लागि मीठामीठा गीत सुनाउने रेडियो प्रिय साथी थियो। सर्लाहीको हरिवन बसाइका दिनमा पढ्दा होस् वा काम गर्दा। अधिकारी रेडियोसँगै कापी र कलम नजिक राख्थे। जब गीत सुरु हुन्थ्यो, धमाधम कापीमा सार्थे।
‘त्यतिखेर गीतमा अत्यधिक रुचि बढ्दै थियो। अनि रेडियोमा गीत आउनेबित्तिकै धमाधम सार्न थाल्थें’, उनले गीतमा रस बस्दै गरेका दिन सम्झिए, ‘रेडियोमा बजेको गीत सुनेर डायरीमा सार्थें। सायद एक–दुई डायरी अहिले पनि होलान्।’
तीसको दशकमा रेडियो नेपालमा सबैभन्दा बढी नारायणगोपाल गुरुवाचार्यका गीत बज्थे। मायाप्रेमभावले भरिएका गीतले तन्नेरी अधिकारीलाई छुन्थ्यो। उनी पनि गीत लेखनमा भिज्दै जान थाले।
गीत लेखनकै क्रममा उनको दोस्ती जम्यो, संगीतकार दिव्य खालिङसँग। खालिङले उनका गीत कम्पोज गरेर बजारमा ल्याए। उनको गीत उही रेडियो नेपालबाटै बज्न थाल्यो, जहाँबाट स्वर स्रमाटले गाएको गीत सुनेर उनी डायरीमा सार्थे।
आधा दर्जनजति गीत रेकर्ड गराइसकेका अधिकारीका शब्दमाथि विश्वस्त भएर संगीतकार खालिङले २०४१ को सुरुतिर दिनेशलाई लिएर नारायणगोपालको घर खाना खाने गरी जाने खबर सुनाए। खालिङले अधिकारीको गीतलाई स्वर सम्राटको आवाजमार्फत गाउन खोजेका थिए। अधिकारी पनि आफ्ना गीत स्वर सम्राटले गाउने भए भन्दै खुसीले खालिङसँग नारायणगोपालको निवास महाराजगन्ज पुगे।
‘नारायणगोपाल दाइले मलाई ‘दिनेश भाइ तपाईं नै हो’ भनेर सोध्नुुभयो। मैले हो भनें। त्यसपछि उहाँले कुरै गर्नुभएन। बसुन्जेल केही पनि कुरा गर्नुभएन’, पहिलो भेटबारे उनले भने। खिन्न भएर फर्किएका अधिकारी स्वर सम्राटको स्वभावबाट कायलै भएका रहेछन्।
‘स्वभावको हिसाबले सुरुमा भेट्दा अलि अप्ठेरो लाग्यो। ठा–ठाडो बोलेजस्तो लाग्थ्यो तर संगत गर्दै गएपछि साह्रै खुला हृदयको मान्छे’, उनले भने।
नेपाली गीत–संगीतका कालजयी धरोहर नारायणगोपालसँग जम्माजम्मी ६ वर्ष संगत गर्न पाएका दिनेश अधिकारीले सुरुमा भेट्दा उनको आनीबानी आममान्छेको भन्दा फरक पाए। नारायणगोपाल ठाडो बोलेजस्तो लागे पनि उनी कतै कपट नभएको र खुला दिलको मान्छे लाग्दै गयो।
जम्माजम्मी ६ वर्ष संगत गर्न पाएका अधिकारीले स्वर सम्राटको आनीबानी आममान्छेको भन्दा फरक पाए। अधिकारीलाई ठाडो बोलेजस्तो लागे पनि उनी कतै कपट नभएको र खुला दिलको मान्छे लाग्दै गयो।
नारायणगोपाल हँसाउन निकै खप्पिस थिए, भन्छन् अधिकारी।
नेपाली संगीतमा ५०० बढी गीतमा स्वर र ३०० जति गीतमा संगीत दिएका नारायणगोपालको ५१ वर्षे जीवनयात्राका थुप्रै गोप्य विषय छन्, जसमध्ये केहीको चर्चा अहिले पनि उत्तिकै सान्दर्भिक छन्।
स्वरमा अदभूत मिठास र गम्भीरता, मान्छेका माया, प्रेम र विरहका मर्मस्पर्शी भाव उनको स्वरमा सर्लक्क अटाएका थिए। उत्कृष्ट गायकीले दर्शकलाई मुग्ध पार्न सकेका स्वर सम्राट खान खुवाउनमा सोखिन मान्छे रहेको बताउँछन्, अधिकारी। उनी भन्छन्, ‘आलुको कवाफ बनाएर खुवाएको अझै याद छ। उहाँ मिठो पकाउन जान्नुहुन्थ्यो।’
अधिकारीले स्वरसम्राटसँग बसेर मदिरा पिउँदै नमातिए पनि त्यो माहोलमा आफूले साथ दिएको सम्झिन्छन्, ‘नारायण दाइसँग मेरो भेट प्रायः घरमै हुन्थ्यो। तर कहिलेकाहीँ उहाँहरूले रमाइलो गरिरहेको साँझमा म पनि बसेको छु।’
अधिकारी आफ्नो बिहेको दिनको फोटो सामाजिक सन्जालमा पोस्ट्याउँदै लेख्छन्, ‘दाइसँगका सम्झनाका केही पाटा छन्। तीमध्ये केही तस्बिरमा पनि अंकित भएका छन्।
२५ माघ २०४१ मा उषा आचार्य र म विवाहबन्धनमा बाँधिएका थियौं। सोही अवसरमा २८ माघ २०४१ मा सांस्कृतिक संघ, डिल्लीबजार, काठमाडौंमा प्रीतिभोज आयोजना गरिएको थियो। यो तस्बिर त्यही अवसरको हो, जहाँ नारायण दाइ र पेमला भाउजूको साथमा म पनि देखिएको छु।’
गीत रेकर्ड
नेपाली आधुनिक संगीतका पर्यायवाची नारायणगोपालको स्वरमा आफूले लेखेका दुई गीत रेकर्ड गराएका अधिकारी कहिल्यै रेकर्ड हुँदा साथमा हुन भने पाएनन्। त्यो अवसर गुमाएकामा अहिले अधिकारीलाई थकथकी लाग्छ। उनलाई आफ्नो उपस्थितिमा आफ्नै गीत स्वरस्रमाटले गाएको हेर्ने रहर थियो।
पहिलो गीत रेकर्ड हुँदा अधिकारी जागिरको सिलसिलामा बैतडी थिए। निजामती सेवामा कार्यरत अधिकारी बैतडीबाट गीत लेखिपठाउँथे।
दोस्रो गीत रेकर्ड हुँदा पनि उनी साथमा हुन पाएनन्। त्यो समय उनी बाराको कलैया थिए। त्यो बेला म्युजिक नेपालको साउन्ड डिजाइनर प्रदीप उपध्यायको कलैयामै घर थियो। स्वरस्रमाटको स्वरमा गीत रेकर्ड गरेर कलैया फर्किंदै गरेका प्रदीपसँग भर्खर रेकर्ड भएको गीत क्यासेटमा पठाइदिएका थिए।
‘नारायण दाइले मेरो गीतको क्यासेट प्रदीपसँग पठाइदिनुभएको थियो। त्यसपछि यो गीत रेकर्ड भएको रहेछ भन्ने थाहा भयो’, उनले सम्झिए।
अधिकारीका अधिकारीका चार गीतमध्ये दुई गीतमा नारायणगोपालले स्वर दिएका छन्। ‘यो सम्झिने मन छ, म बिर्सुं कसोरी, तिमी जुन रहरले ममा फुल्न आयौ’, गाएका थिए। तर पहिलो गीतमै कुरा बाझिएका कारण उनको गीत नारायणगोपालले गाइदिएनन्।
‘पहिलो भेटमा गीतबारे केही मिनेट भएको छलफलमा दुवैको कुरा बाझिएको थियो। त्यो लयको विषयमा थियो। एकछिनपछि उहाँले गीत नगाउने कुरा सुनाउनुभयो। म साह्रै खिन्न भएँ। पछि कहिल्यै त्यो गीत उहाँले गाउनुभएन। म पहिलो भेटमा उहाँसँग साह्रै निराश भएँ, जसलाई म अझै सम्झन्छु। धेरै पछि दिव्य खालिङकै संगीतमा किरण प्रधानले सो गीत गाउनुभयो’, अधिकारी भने।चौथो गीत भने चलचित्र चोटको, ‘किन तिमी आज यस्तो आँखा तरेतरे जस्तो’ थियो।
यो गीत प्रकाश गुरुङले संगीत गरेका थिए, जसमा नारायणगोपालले स्वर दिने कुरो थियो। पछि स्वरसम्राटको स्वास्थ्यमा समस्या आएपछि उनले अधिकारीको यो चौथो गीत गाउन पाएनन्। उनी स्वरसम्राटले गायक प्रकाश श्रेष्ठलाई गाउन सुझाएका थिए। अधिकारी भन्छन्, ‘त्यो गीत उहाँको स्वरमा रेकर्ड गर्ने धोको अधुरै रह्यो, उहाँको स्वास्थ्यका कारण। पछि सिनेमा रोक्ने कुरा पनि भएन।’
साहित्य चेत
३२औं नारायणगोपाल स्मृति दिवस मनाइरहँदा अधिकारीलाई स्वरसम्राट जति राम्रा संगीतका ज्ञाता–गायक–संगीतकार थिए, त्योभन्दा बढी अन्य विषयका जानकार, जिज्ञासु र हार्दिक स्वभाव भएको व्यक्तित्व लाग्छ।
१८ असोज १९९६ मा काठमाडौंको किलागलमा जन्मिएका स्वरसम्राटको निधन १९ मंसिर २०४७ मा भएको थियो। उनको सम्झनामा नारायण गोपाल संगीत कोषले आज काठमाडौंको जमलस्थित राष्ट्रिय नाचघरमा विशेष कार्यक्रम आयोजना गरेको छ। २०१७ मा रेडियो नेपालबाट माणिकरत्न स्थापित र प्रेमध्वज प्रधानको संगीतमा गीत गाएर स्वर परीक्षा पास गरेपछि उनले थुप्रै कालजयी गीत गाए। नारायणगोपाललाई २०२३ मा सर्वोत्तम संगीतकार, २०२४ मा सर्वोत्तम गायक, २०३९ मा रत्न रेकर्ड पुरस्कार, २०३३ मा गोरखा दक्षिणबाहु चौथो, २०४० मा इन्द्र राज्यलक्ष्मी प्रज्ञा पुरस्कार, २०४४ मा छिन्नलता पुरस्कार, २०४५ मा जगदम्बाश्री पुरस्कारबाट सम्मान गरिएको थियो। यस्तै, २०४८ मा त्रिशक्तिपट्ट तेस्रो पुरस्कारले मरणोपरान्त सम्मान गरिएको थियो।
स्वरस्रमाटले २०४५ मा जगदम्बाश्री पुरस्कारबाट सम्मान लिएपछिको मन्तव्यमा (अलिखित) ‘गायनको माध्यमबाट पनि यो पुरस्कार पाएपछि के थाहा भयो भने साहित्यको सेवा हुँदो रहेछ’, भनेको अधिकारीले सम्झिए।
अधिकारीका अनुसार स्वरसम्राटको संगत साहित्य र साहित्यकारसँग बढी थियो। ‘साहित्यलाई अत्यन्तै महत्त्व दिने स्वभावको हुनुहुन्थ्यो उहाँ’, अधिकारीले भने।
छनोट क्षमता
स्वरसम्राटका गीत कालजयी छन्। अधिकारी उनी गीतका शब्द चयनमा निकै गम्भीर रहेको बताउँछन्। गीतका शब्द, लय र संगीत एकनासे नहोस् भन्नेमा निकै ध्यान दिने गरेको अधिकारीले सुनाए।
‘शब्द र संगीतको छनोट क्षमता अत्यन्तै उत्कृष्ट थियो, नारायण दाइको’, उनले भने, ‘गीतमा निकै छलफल गर्नुहुन्थ्यो। सरल शब्द छनोटमा माहिर हुनुुहुन्थ्यो।’
निरन्तरको साधना
अधिकारीका अनुसार स्वरसम्राट एउटै गीतलाई ६ महिनासम्म कम्पोज गर्थे। निरन्तरको साधनाले पनि उनका गीत अहिलेसम्म उत्तिकै सुनिने गरेको बताउँछन् अधिकारी।
‘गाउँदा–गाउँदै हामीलाई दिक्क लाग्छ। दिक्क नलागोस् भन्ने खाले गीत सिर्जाना गर्न पनि उहाँले निरन्तर रियाज र लगालग गाउनुभयो’, अधिकारी भन्छन्, ‘अहिले स्टुडियो गयो। आधा घन्टामा टेक लियो। रेकर्ड गर्यो अनि निस्कियो।’
अधिकारीलाई गायक जब व्यावसायिक भए, त्यो गीतको मिठास क्षणिक भएर गएजस्तो लाग्छ। तर नारायणगोपालका गीत कालजयी हुनुको कारण गीतलाई बारम्बार कम्पोज, रियाज गर्नु हो।
अधिकारीका अनुसार आजका पिँढीले यो कुरामा लामो साधना गर्ने बानी बसाल्ने हो भने राम्रो हुन्थ्यो। गीत संगीतमा निखार ल्याउने काम गथ्र्यो।
‘मलाई के थाहा छ भने उहाँलाई गीत र संगीत मन परेपछि पुग्थ्यो’, अधिकारी भन्छन्, ‘उहाँका समकालीन साथीहरूले मेरो पनि गीत गाइदे न भनिरहँदा मित्रतालाई मेरो गायनसँग जोडेर ल्यायौ भने म मित्रता छाड्छु भन्नेसमेतको अभिव्यक्ति दिने हक्की मान्छे हुनुहुन्थ्यो स्वरसम्राट।’