बाग्लुङ- ‘चिसो बढ्यो, अब माथि लेकमा बस्न सकिन्न गाह्रो हुन्छ, भेडापाठा पनि बिरामी पर्छन्, पानी जम्न थाल्यो, अहिले त घाँस पनि सकिन थाल्यो बेँसीमै बस्ने, धेरैजसो गोठाला झर्यौँ, अरु पनि झर्छन् अब।’
निसीखोला–६ का वीरबल घर्ती यतिबेला बागलुङ, रोल्पा र पूर्वी रुकुमको सिमाना पातीहाल्ने क्षेत्रतिर छन्। खालीखोला, तिलाचन लगायतका क्षेत्रमा अत्यधिक चिसो बढेपछि उनी सहितका भेडा गोठाला तल्लो क्षेत्रमा झर्न थालेका हुन्।
केही गोठाला बेँसी झरिसकेका छन् भने उनी पनि अब केही दिनमा बेँसीमै आउने तयारीमा छन्। उनी भन्छन्, ‘पानी पर्यो भने अब माथि मात्रै होइन, यहाँ पनि हिउँ पर्छ, माथि चिसो भएपछि यहाँ झरेका हौं, यहाँ पनि चिसो बढ्दै छ, अब बेँसीमै झर्ने हो, अब १ सातामा तलै झर्छौं, भेडाका पाठा कठ्यांग्रिन थाले, तल नझरे मर्छन् फेरि, गाउँमा गोठ बनाएर तयार बनाई सक्न लागे छन्।’
उनको गोठमा अहिले ४०० भन्दा बढी भेडा र पाठापाठी छन्। उनले मंसिर पहिलो हप्ता झण्डै २०० भेडा बेचेको बताए। ‘मंसिर महिनामा धेरैको पूजाआजा हुन्छ, यो बेलामा भेडाको खोजी निकै हुने गर्छ, यसपालि ३ जना भएर बजारतिर गएका थियौं, तिहार सकाएर गएको व्यापार राम्रो भयो, अलि कति दुःख छ, तर पैसा पनि छ यो व्यवसायमा,’ किसान घर्तीले भने।
बागलुङको ढोरपाटन नगरपालिका, निसीखोला र तमानखोला गाउँपालिकाका अधिकांश स्थानीय पशुपालनमा आबद्ध छन्। त्यसले गर्दा उनीहरू वर्षमा २ पटक लेकबेँसी गर्ने गर्छन्। वर्षातको समय लेक र हिउँदको समय बेँसी गर्ने उनीहरूको परम्पराजस्तै हो। तमानखोला भेडापालक कृषक मीनबहादुर रोका पनि यति बेला बेँसीतिर झरेका छन्। उनले अब चैत पहिलो हप्ता मात्रै लेक चड्ने बताए।
‘हामीहरू यहाँबाट म्याग्दी हुँदै धौलागिरि हिमालको फेदसम्म भेडा लिएर जान्छौं, अहिले त त्यो क्षेत्रमा हिउँ परेको छ, त्यहाँ बस्न सकिन्न भेडाबाख्रा राख्न पनि सकिन्छ, २ हप्ता जति हुन लाग्यो हामी बेँसी झरेको केही दिन सोलेडाँडामा बस्यौं,’ उनले भने, “अब चैत महिनासम्म यहीँ हुन्छौँ, डाला घाँस काटेर खुवाउनुपर्छ यो समय, चिसोमा लेकमा बस्न सकिँदैन।’
उनले पुस र माघ २ महिना भेडीगोठ गाउँ नजिकै हुने र फागुन लागेपछि गाउँभन्दा माथिका खर्कहरूमा जाने बताए। अहिलेसम्म लेकमा बस्दा घाँस पनि सकिएको र गाउँका बारीमा डालेघाँस हुँदा २ महिना भेडालाई डालेघाँस खुवाएर पाल्ने रोकाको भनाइ छ।