काठमाडौं- नेपाल वायुसेवा निगमका नवनियुक्त कार्यकारी अध्यक्ष मदन खरेलले आज आफ्नो पदभार ग्रहण गरेका छन्।
उक्त अवसरमा उनले एकीकृत प्रयासको माध्यमले निगमलाई सक्षम र सुदृढ बनाउनुपर्ने आवश्यकता औल्याउँदै त्यसमा समस्त कर्मचारीको सामुहिक प्रयास लगाउन अनुरोध गरे।
नेपाल वायुसेवा निगम सामान्य व्यापारिक संस्था मात्र नभै आधुनिक युगको जटिल प्रविधि सहितको क्षेत्र र यसमा सूक्ष्म अध्ययन आवश्यकता रहेको उनले बताए।
उनले सबैको भूमिका कार्यकारीको हो र त्यसमा कसले के गर्ने भन्ने कुरा कानून सम्मत हुने भएकाले सबैले आफ्नो जिम्मेवारी गहन रुपमा बहन गर्न पनि अनुरोध गरे। उनले निगमको भविष्य सुदृढ हुने विश्वास व्यक्त गरे।
महाप्रवन्धक सुगतरत्न कंसाकारले नवनियुक्त कार्यकारी अध्यक्षलाई पूर्ण सहयोग गर्ने र सल्लाहकारको रुपमा मद्दत गर्ने बताए। उनले विमान थप गर्दै नेपाललाई सस्तो गन्तव्य बनाउनुपर्ने र राष्ट्रिय अर्थतन्त्रलाई सुदृढ बनाउन सक्रिय कार्यनीति र कार्यक्रम अघि बढाउनुपर्ने आवश्यकता औंल्याए।
आधिकारिक ट्रेड युनियनका अध्यक्ष सुभाष डाँगी, कर्मचारी संघका अध्यक्ष तारिणी दाहाल र कर्मचारी संगठनका अध्यक्ष मनोज साहले व्यवस्थापन र कर्मचारीबीच सौहार्द सम्बन्ध कायम राख्दै निगमको सर्वपक्षीय विकासमा लाग्न अनुरोध गरे।
संस्थागत विभागका निमित्त निर्देशक शैलेश कंसाकारले अनुभवी कार्यकारी अध्यक्ष निगमले पाएकोमा प्रसन्नता व्यक्त गरे।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४