शुक्रबार, साउन १, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • उद्‍योगीले आरोप प्रमाणित गर्न चुनौती दिएपछि निम्बसको कारवाही फुकुवा

उद्‍योगीले आरोप प्रमाणित गर्न चुनौती दिएपछि निम्बसको कारवाही फुकुवा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
वीरगंज- आरोप प्रमाणित गर्न चुनौती दिंदै उद्योगीले अदालतको ढोका ढकढक्याएपछि निम्बस ब्राण्डको खाने तेल उत्पादक प्रोबायोटेक उद्योगविरूद्धको कारवाहीमा अन्ततः उद्योग मन्त्रालयपछि हटेको छ।

उद्योग व्यवस्थापनले विभागविरूद्ध दायर गरेको मुद्दामा सर्वोच्च अदालतले २८ भदौमा बयानका लागी उपस्थित हुन आदेश दिएपछि प्रतिरक्षात्मक अवस्थामा पुगेका मन्त्री मातृका यादवले बुधबार मन्त्रालयमा उद्योग व्यवस्थापनसँग वार्ता गरेका थिए।

उद्योगबाट संकलित तोरीको तेल गुणस्तरहीन भएको आरोप लगाउँदै आरोप लगाउँदै शिलबन्दी गरिएको २२ दिनपछि शुक्रबार वाणिज्य आपूर्ती तथा उपभोक्ता संरक्षण विभागको निर्देशनमा ताल्चा खोलिएको हो। गत ७ भदौमा विभागकै निर्देशनमा जिल्ला प्रशासन कार्यालयले प्रोबायोटेक इण्डष्ट्रिजमा लगाएको थियो।

यो प्रकरणको प्रारम्भमा चर्को प्रचारबाजी गरेका उद्योग मन्त्री मातृका यादव उद्योगले आरोप प्रमाणित गर्न चुनौती दिएपछि पटक-पटक बोली फेर्दै प्रतिरक्षात्मक अवस्थामा पुगेका थिए। आफैंले अनुगमनको क्रममा उद्योगबाट संकलन गरेको खानेतेलको नमूनामा उच्च मात्रामा फ्याटी एसिड भेटिएको दाबी गरेका मन्त्रीले अघिल्लो बुधबार पत्रकार सम्मेलनमा प्रोबायोटेक उद्योगमा एकदाना तोरी फेला नपरेपछि कारवाही गर्नुपरेको जिकीर गरे।

मलार्इ उद्योगबारे गलत ब्रिफिंङ भएको रहेछ,वार्तामा सहभागी एक अधिकारीले मन्त्री यादवको भनार्इ उद्घृत गर्दै भने, लामो समय उद्योग बन्द राख्नु ठीक होइन।

विचाराधीन मुद्दामा कारवाही फुकुवा गर्न कानूनी अड्चन रहेको बताउँदै मन्त्री यादवले उद्योगका संचालकलार्इ मुद्दा फिर्ता लिन आग्रह गरेको उद्योग सम्बद्ध श्रोतले जानकारी दिएको छ। बिहीबारै उद्योग व्यवस्थापनले मुद्दा फिर्ता लिएपछि मन्त्री यादवले वाणिज्य आपूर्ती तथा उपभोक्ता संरक्षण विभागलार्इ उद्योगविरूद्धको कारवाही फुकुवा गर्न लगाए। लगत्तै विभागले जिल्ला प्रशासन कार्यालय पर्सालार्इ पत्राचार गर्दै शिलबन्दी खोल्न आग्रह गर्दै पत्र पठाएको थियो।

प्रोबायोटेक इण्डष्ट्रिजबाट २३ साउनमा मन्त्री यादव स्वयम् अनुगमनमा गएर तोरी, सोयाबिन र सनफ्लावर तेलको नमूना संकलन गरेका थिए। उद्योगविरूद्ध गम्भीर आरोप लगाएका यादवले कुनै ठोस कारण र स्पष्टीकरण बिना नै कारवाही फुकुवा गरेका हुन्।

खाने तेल उत्पादक प्रोबायोटेक इण्डष्ट्रिजले तीन महिनाअघि मात्र इन्टरनेशनल सर्टिफिकेशन सर्भिसेजबाट आइएसओ २२०००–२००५ प्रमाण पत्र पाएको  छ । फुड सेफ्टी म्यानेजमेन्ट सिस्टम ९खाद्य सुरक्षा व्यवस्थापन प्रणालीको उच्च मापदण्ड पुरा गरेकै कारण कृषीजन्य उद्योगका रूपमा नेपालमै पहिलो पटक यो प्रमाण पत्र पाएको हो। 

प्रोबायोटेकले व्यन्जन ब्राण्डमा सूर्यमूखी, भटमास र तोरी तेल उत्पादन गर्छ। दुर्इवर्ष अघि संचालनमा आएको प्रोबायोटेक इण्डष्ट्रिज विश्व बैंकको साझेदारी रहेको दक्षिण एशियाकै पहिलो र एकमात्र कृषीजन्य उद्योग हो। उत्पादन थालेको छोटो समयमै यो उद्योगले नेपाल गुणस्तर प्रमाण समेत पाएको थियो।  

करिब १ अर्ब रूपैयाँ लगानीमा संचालित तेल उद्योगमा विश्व बैंकको इन्टरनेशनल फाइनान्सियल कर्पोरेशनमार्फत् करिब ३० प्रतिशत प्रत्यक्ष वैदशिक लगानी छ। मासिक २ हजार ५ सय मेटन उत्पादन क्षमता रहेको यो उद्योगले घरेलु बजारमा ५ प्रतिशत बजार हिस्सा ओगटेको छ।

सात करोड नोक्सान

सरकारी कारवाहीका कारण एक महिनासम्म उद्योग ठप्प हुँदा सात करोड रूपैयाँको नोक्सानी भएको छ। उद्योगका संचालक डा। दिनेश गौतमले भने,एक महिना बन्द हुँदा उद्योगको आम्दानीमा साढे तीन करोड रूपैयाँ बराबरको नोक्सानी भएको छ। त्यति नै रकम सरकारले राजश्व पनि गुमाएको छ।

भारत, श्रीलंका र बंगलादेश निकासी गर्दै निम्बस 

सरकारले उत्पादन गुणस्तरहीन भएको आरोपमा कारवाही गरेको भएपनि उच्च गुणस्तर उत्पादनकै कारण निम्बस खानेतेल आगामी महिनादेखि भारत निकासी हुँदैछ।

निर्यातको लागी केही प्रकृया पुरा गर्न बाँकी छ,संचालक डा। दिनेश गौतमले नेपाल समयसँग भने,अबको एक महिनामा निकासी शुरू हुनेछ। उद्योग व्यवस्थापनले योसँगै बंगलादेश र श्रीलंकामा समेत निकासीका लागी आवश्यक प्रकृया शुरू गरेको छ। श्रीलंकाबाट खानेतेलको गुणस्तर परिक्षण प्रतिवेदन प्राप्त भइसकेको छ। डाबर नेपालसँगको सहकार्यमा बंगलादेशमा समेत खानेतेल निकासी गर्ने तयारी रहेको डा। गौतमले जानकारी दिए । 

क्याप्सनः वीरगंज २१ जगरन्नाथपुरमा अवस्थित प्रोबायोटेक इण्डष्ट्रिजमा लगाइएको शिलबन्दी खोल्दै वाणिज्य विभागका कर्मचारी । तस्वीर सौजन्यः प्रोबायोटेक  इण्डष्ट्रिज। 
    
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्