किन्शासा- कङ्गोको पूर्वी क्षेत्रमा नागरिकको कथित नरसंहारपछि शनिबारदेखि तीन दिने राष्ट्रिय शोक सुरु भएको छ।
गोमा शहरबाट करिब ७० किलोमिटर उत्तरमा रहेको किशीशे गाउँमा एम २३ लडाकू समूहले ५० जनाको हत्या गरेको आरोप गत बिहीबार सरकारले लगाएको थियो।
एम २३ ले जवाफी हमला गर्दै आरोपहरू ‘आधारहीन’ भएको र आफ्नो आक्रमण नागरिकहरूप्रति लक्षित गरेको कुरालाई अस्वीकार गरेको छ।
सरकारका प्रवक्ता प्याट्रिक मुयायाका अनुसार शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकमा डीआरसीका अध्यक्ष फेलिक्स शिसेकेदीले किशिशेमा १०० भन्दा बढी नागरिकको नरसंहार भएको भन्दै घटनाको कडा शब्दमा निन्दा गरेका छन्।
शिसेकेदीले तीन दिनको राष्ट्रिय शोक घोषणा गर्न सरकारलाई निर्देशन दिएको र देशभर झण्डा आधा झुकाइने उनले जानकारी दिए।
उक्त नरसंहारको खबर सार्वजनिक भएदेखि नै स्वतन्त्र छानबिनको माग उठ्न थालेको छ। -एएफपी