काठमाडौं– निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनले मुलुकमा उच्च राजनीतिक संस्कार स्थापित गर्न सफल भएको बताएका छन्।
शुक्रबार निर्वाचनमा खटिएका मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिृकत, सुरक्षा निकायका जिल्ला प्रमुखलगायतलाई धन्यवाद दिन जिल्ला निर्वाचन कार्यालय, काठमाडौंले आयोजना गरेको कार्यक्रममा थपलियाले यस्तो बताएका हुन्।
प्रमुख आयुक्त थपलियाले आयोगले निर्वाचनको निष्ठा कायम राख्न गरेका अधिकांश अपेक्षा पूरा भएको दाबी गरे। ‘हामीले नेपालमा २०४८ देखिको निर्वाचन देख्दै आएका छौं। पछिल्लो पटक सबैले निर्वाचन खर्चिलो र भड्किलो भयो भन्ने सुनियो’, आयोगले राखेका अपेक्षाको विश्लेषण गर्दै उनले भने, ‘यस कारण हामीले निर्वाचनमा यस पटक कुनै पनि पद पैसा, पहुँच र पाखुराको भरमा नभई नीति, सिद्धान्त, विचार, निष्ठा र प्रतिबद्धताले जित्नुपर्छ भन्ने स्थापित गरिछाड्यौं।’
विभिन्न कारणले निर्वाचनलाई दूषित पार्ने मनसाय बोकेका व्यक्तिले मिथ्या सूचना, दुष्प्रचार र द्वेषपूर्ण अभिव्यक्तिको माध्यमबाट निर्वाचनलाई अप्ठेरो पार्ने कार्यलाई नजिकबाट नियमन गर्न यस पटक सफल भइरहेको उनको भनाइ छ।
उनले अब भौतिक रूपमा वा सडकबाट मात्रै नभई सामाजिक सन्जालमार्फत पनि निर्वाचन प्रभावित गर्न नपाइने मान्यता स्थापित भएको बताए। निर्वाचनमा पराजितले विजेतालाई सहर्ष आत्मैदेखि बधाइ दिन सक्ने वातावरण बनाउनुपर्छ भन्ने मान्यता पनि यस पटकदेखि स्थापित भएको उनको धारणा छ। उनले निर्वाचन अधिकृतहरुले उत्कृष्ट ढंगले काम गरेकमा धन्यवाद दिँदै काम गर्दा केही अप्ठेरा आएका भए सुधारका लागि सुझाव दिन आग्रह गरे।
प्रमुख आयुक्त थपलियाले आयोग वर्तमान निर्वाचन कानुनसँग सन्तुष्ट नभएको बताउँदै भने, ‘हामी वर्तमान निर्वाचन कानुनसँग सन्तुष्ट छैनौं। अब छिट्टै कानुन संशोधनको प्रक्रिया अघि बढाइनेछ।’ उनले नयाँ संसद्को नयाँ अधिवेशनमा कानुन संशोधनले प्रवेश पाउने जानकारी दिए।