काठमाडौं– पाटनको बखुम्बहाल टोलको भित्री गल्लीमा किशोर उमेरका सुरेशराज वज्राचार्य साथीहरूसँग दैनिकजसो खेल्न निस्कन्थे। बखुम्वहालको ओसिला गल्लीस्थित अग्ला घरका झ्यालबाट बाजाका धुन र ताल प्रतिध्वनित हुन्थ्यो, खेलिरहेका वज्राचार्यको कानमा। उनी खेलिरहेका साथी छाडेर बाजाको ताल र धुन पछ्याउँथे। बखुम्वहाल महादेव घरकै सामु काठको सिँढी उक्लिन्थे, जहाँ सानुभाइ मानन्धर र मोहनप्रसाद जोशीलगायतको समूहले बाजा बजाइरहेको हुन्थ्यो।
सानुभाइ समूहले बजाइरहेको बाजा र धुनलाई एक कुनामा बसेर एकाग्र भई सुन्थे उनी। बाजा बजाउन रोकिएसँगै उनी चुपचाप निस्कन्थे। भोलिपल्ट उही समय खेल्ने वहानामा घरबाट निस्किन्थे। बाजा बज्न सुरु भएसँगै पुनः त्यहीँ पुग्थे, उनी। यसरी उनको बाजाको ताल र धुन सुन्नकै लागि बखुम्वहाल आउजाउ गर्ने समय बाक्लियो।
उनले तबला, मादल घरमै देखेका थिए। तर शास्त्रीय संगीतका लागि चाहिने महत्त्वपूर्ण बाजा सरोदबारे जानकार दिएनन्। अझ कुन बाजा के प्रयोजनका लागि बजाइन्यो। उनी भेउ पाउँदैनथे। तर सरोदको मसिनो तारबाट निस्किएको धुनले भने मुग्ध हुन्थे। सरोदको धुन सुनेरै वज्राचार्यले उमेरको १८ वर्ष लागे। एक दिन वज्राचार्यलाई देखेर बाजा बजाइरहेका सानुभाइ मानन्धरले सहकर्मी मोहनप्रसाद जोशीसँग कुरा गरेको सम्झिए, ‘यो केटो दिनदिनै आउँछ। बाजा रोकिएपछि नबोली खुरुखुरु फर्किन्छ। यसलाई सिकाउनुप¥यो भन्नुभयो सानुभाइ दाइले।’
बखुम्वहालका मोहनप्रसाद जोशीले सानुभाइतिर हेर्दै सहमति देखाए। वज्राचार्यलाई के सिक्छस् भनेर सोधे। उनी एकछिन त अलमलिए। फेरि हडबडिँदै सरोद बाजातिर देखाए, ‘यो सिक्छु।’
२०४२ को श्रीपञ्चमीका दिन वज्राचार्यले विधिपूवर्क जोशी र मानन्धरलाई गुरु मानेर सरोद बाजा सिक्न थाले। त्यही सिकाइले उनलाई आजको सरोदवादक मात्रै होइन, सरोद बाजा सिकाउने गुरु पनि बनायो।
प्रज्ञा प्रतिष्ठानको जागिर, काठमाडौं विश्वविद्यालयको कक्षा, रेडियो नेपालका प्रशिक्षक, पक्षी लाइभ कन्सर्टका गुरु वज्राचार्य अहिले पनि सरोदकै तारमा औंलाहरू खेलाइरहन्छन्।
सानैदेखि बाजाको रहर गर्थे वज्राचार्य। बच्चैदेखि थाल र टेबल बजाइदिन्थे। बुबा र हजुरबुबाले गर्ने पूजापाठमा सहभागी हुन्थे। बुबाको हात समाएर उनी पाटीपौवातिर बजेको बाजा सुन्न जान्थे। चरिया गीत गुनगुनाउने अवसर पाउँथे। भजनकीर्तनका लागि धाः बाजा र न्याखीः बाजा बज्थ्यो। उनी त्यो बाजा बजाउन नपाए रुन्थे रे। बजाउन जिद्दी गर्थे। छोरोको रहर देखेर उनका बुबाले मादल किनेर ल्याइदिए। विस्तारै मादलमा हात बसाल्दै लगेका वज्राचार्यलाई बखुम्वहालमा बज्ने सरोदको धुनले बाजामा झनै रस बसालिदियो। उनी भन्छन्, ‘बुबाले मादलको व्यवस्था गरिदिएपछि सरोदमा मन बस्यो। मादल पछाडि पर्दै गयो।’
वज्राचार्यलाई सरोदमा सारेगम आउँछ भन्ने थाहा थिएन। जब सिक्दै गए, सरोद बाजाभन्दा पर सोचेनन्। एसएलसी उत्तीर्णपछि आईए अध्ययन गर्न सरोद बाजै रोजे। तर ललितकला क्याम्पसमा सरोद बाजा सिकाउने कक्षा थिएन। न त गुरु नै थिए।
‘सरोद बाजा बजाउने कक्षा नभएपछि मैले सितार बजाउन सिकें। फाइन आर्टबाट मूर्ति बनाउन सिकें। तर सरोदको धुनबाट म अलग्गिन सकिनँ,’ उनी भन्छन्।
शास्त्रीय संगीतमा सितार र सरोज दुवै महत्त्वपूर्ण बाजा थिए, जसमा उनको मनले सरोद छुटेन। उनले क्याम्पसमा होमनाथ उपाध्यायसँग फाइन आर्ट सिके पनि घर फर्किएर उही बखुम्वहाल टोल पस्थे। घन्टौंसम्म सरोद बजाउँथे। मानन्धर र जोशीलाई गुरु मानेर सिकेको सरोद बाजा बजाउन थालेपछि रेडियो नेपालमा जाने अवसर पाए। २०४७÷४६ तिर उनी रेडियो नेपालमा शास्त्रीय संगीतअन्तर्गत सरोद बाजा बजाउन सहभागी भए। उनी भन्छन्, ‘त्यो समय सरोद बाजा बजाउँछु भनेर रेडियो नेपालको शास्त्रीय संगीतको समूहमा सहभागिता जनाउन पाउनु नै ठूलो कुरा थियो।’
२०४६ अन्तिमतिर उनले सरोद बाजाका लागि प्रतिस्पर्धामा भाग लिए। तेस्रो भए। उनको काम देखेर गायिका मीरा राणाले रेडियो नेपालमा सरोद बाजा बजाउन अवसर दिइन्। उनी भन्छन्, ‘त्यतिखेर ‘ख’ श्रेणीको पद पाएको मान्छेले एकचोटि बाजा बजाएको १७ रुपैयाँ पाउँथे। मैले पनि पाएँ। त्यो मेरो पहिलो कमाइ थियो।’
सरोद बाजाको नियमित अभ्यास र नयाँ–नयाँ रागमा हात बसाउँदै गएका वज्राचार्यले अर्को अवसरलाई ‘क्याच’ गर्न सके। त्यो थियो– नेपाल राजकीय प्रज्ञाप्रतिष्ठानको संगीत शाखाले खुलाएको रोजगारी।
प्रतिष्ठानले २२ जना जति वाद्यवादक माग गरेकामा उनले पनि निवेदन दिए। गोपालनाथ योगीले लिएको अन्तर्वार्तामा उनी सफल पाए। २०४७ पुसमा प्रतिष्ठानमा सरोदवादकका रूपमा करारको जागिरे भए। अनि, प्रतिष्ठानको पहिलो सरोदवादक भएर चिनिए वज्राचार्य। उनी भन्छन्, ‘जागिर खाउँला, भविष्य बनाउँला भनेर सरोद बाजा सिकेको थिइन्, तर त्यो बाजाकै कारण जागिरे भएँ।’
सरोद वादनको यात्रामा बुबाको सहयोग बिर्सिन सक्दैनन् उनी। सायद उनले बुबाले पहिलो पटक मादल किनेर नदिएको भए, बखुम्वहालका गल्लीमा खेल्न जान नदिएको भए सरोद बाजा चिन्दैनथे। बुबाको भूमिकालाई उनी खुलेर सुनाउँछन्, ‘मैले संगीतमै केही गर्छु भन्ने बुबालाई लागेरै होला। उहाँले बाजाहरू सिक्न कुनै रोकतोक गर्नुभएन।’
मादल, तबला र सरोद बाजा पनि उनकै बुबाले किनेर दिएका थिए। उनले सरोद बाजा बजाउन थालेको ३५ वर्ष भयो। उनी बितेका दिन फर्किहेर्दा सरोद बाजाका लागि बनेको मान्छन्, जुन बाजाबारे धेरै कमलाई थाहा छ।
यो बाजाको त्यति प्रचार–प्रसार नभएकाले धेरैलाई नयाँजस्तो लाग्छ। तर उनी यो बाजा १७/१८औं शताब्दीदेखि बज्दै आएको बताउँछन्।
सरोद बाजा हिमाली भेगमा बजाइने टुंगुनाको परिमार्जित रूप मान्छन् उनी। ‘मेरो अनुमानमा हिमाल, पहाड, मधेस, भारत हँुदै अफगानिस्तान पुगेको बाजा हो, यो। अफगानिस्तानमा रुवाफ भएर देखिएको बाजा पुनः भारत हुँदै नेपाल आइपुग्दा सरोद बाजा भयो। यसले एक चक्कर हानेर फेरि नेपाल प्रवेश गरेको थियो’, उनी भन्छन्, ‘यो प्रमाणित भएको भएको छैन, अनुमान मात्र हो। रुवाफ बाजामा फिंगर वर्ड छैन। काठको प्लेट छ। तार खसीको आन्द्राबाट बनेको छ। अहिले आएर नाइलनको तार प्रयोग गर्न थालिएको छ। अल्मुनियमको प्लेट हुन्छ।’
वज्राचार्य सरोद बाजा नेपालमा १८५३ नै पसेको अनुमान सुनाउँछन्। नियाम तुल्ला खान नामक व्यक्तिले सरोद बाजा भित्र्याएको बताउने वज्राचार्य राजा पृथ्वीनारायाण शाहको नेपाल एकीकरणको अघिपछिको समयलाई सम्झिन्छन्, ‘सरोद बाजा पृथ्वीनारायणको अन्तिम समयतिर आएझैं लाग्छ।’
उनका अनुसार रामशरण दर्नालको संगीत साधक पुस्तकमा नेपालमा सरोद वादक तन्डुकारहरूले भित्र्याएको भनिएको छ। यो पृथ्वीनारायणअघि नै रहेको हुन सक्ने अनुमान सुनाउँछन्, वज्राचार्य। उनी भन्छन्, ‘भाजुवीरका पाँच छोरामध्ये दुई भाइ कुवेर तण्डुकार र वीर तण्डुकारले बजाउने गरेको इतिहासमा छ। तण्डुकारमध्ये मभन्दा अघिल्लो पुस्ताका नारायणप्रसाद तण्डुकारले सरोद बाजा बजाएको सम्झना छ।’
शास्त्रीय संगीतमा प्रयोग गरिने सरोद युवा पुस्ताले गिटारलाई बोकेर हिँडेझैं देख्न पाइएको छैन। तर वज्राचार्य भने सरोद बजाउन नसोची कतै हिँड्दैनन्।
काठमाडौं विश्वविद्यालयमा १९ वर्षदेखि सरोद बाजा पढाउँदै आएका वज्राचार्यले ज्याज–माण्डुका लागि सन् २००३ बाट सरोद बाजा बजाउँदै आएका छन्। ज्याज एट पाटन नामक फेस्टिबलका लागि उनले कयौं पटक सरोद बजाए। ज्याजले पुराना गीतलाई फ्युजन गरेर संगीत दिन्छ, जसमा सरोद बाजा पनि प्रयोग गरिन्छ। उपत्यकाभित्र भएको यो फेस्टिबलमा देश–विदेशका कैयौं संगीत र वाद्यवादक एकै ठाउँ भेला हुन्छन्।
प्रतिष्ठानको जागिर र स्वतन्त्र रूपमा सरोद बजाउन थालेपछि उनले नेपालका चर्चित संगीतका गीतमा पनि यो बाजालाई प्रयोगमा ल्याए। संगीतकार प्रकाश गुरुङ, शम्भुजित बास्कोटा, दीप श्रेष्ठजस्ता संगीतकारका गीतमा उनले स्वतन्त्र सरोद बजाएका छन्। भन्छन्, ‘पहिलो पटक प्रकाश गुरुङ दाइको गीतमा सरोद बजाएँ। त्यहाँ टेक बजाउने भन्छन्। त्यो अहिले पनि जारी छ।’
काठमाडौं विश्वविद्यालयमा अध्यापनका क्रममा उनले नेपाल म्युजिक सेन्टरमा पनि दुई वर्ष कक्षा दिए। अहिले सरोद बाजा बजाउने वाध्यवादकमा उनी पहिलो नम्बरमा आउँछन्। सन् १९९७ मा पाटन दरबारमा भएको एक कन्सर्टमा राजा वीरेन्द्र प्रमुख अतिथि थिए। अस्ट्रेलियाली आयोजना गरेको त्यो म्युजिक कन्सर्टमा शास्त्रीयअन्तर्गत सरोद बाजा बजाउने वज्राचार्य नै थिए। उनले राजा वीरेन्द्रको मन जितेको सम्झिए, ‘राजा वीरेन्द्रले स्यावासी दिनुभएको थियो। बेलायतका चाल्र्स ह्यारीको प्रमुख आतिथ्यमा सन् १९९८ मा द्वारिका होटलमा सरोद बजाएको थिएँ।’
वीरेन्द्रको २५औं वर्षको गद्दी आरोहणको समय पनि वज्राचार्यले टुंगना बजाएका थिए भने राजा ज्ञानेन्द्रेले लुम्बिनी मन्दिरको उद्घाटन गर्ने क्रममा लुम्बिनीमा सरोद बजाएका थिए।
०००
वज्राचार्य सरोद बाजा जहाँ, जसका लागि बजाए पनि त्यसले दिने आनन्द शब्दमा व्यक्त गर्न सक्दैनन्। सरोदको धुन जति सुन्यो, त्यति मन आध्यात्मतिर बढ्छ। किन यस्तो हुन्छ भन्ने प्रश्नमा उनी भन्छन्, ‘सरोद बाजा आफैंमा शास्त्रीय संगीतको एक हिस्सा हो। यो विणाको रुप हो। विणाधारी सरस्वती माता भन्नेबित्तिकै आध्यात्मक आउँछ। सरोद विणाको परिमार्जित रुप पनि हो, जसले आस्था जगाउँछ।’
सरोदको धुनसँग मन सीधै जोडिने हुँदा पनि आध्यात्म आएको बताउने वज्राचार्य ‘पक्षी लाइभ कन्सर्ट’सँग पनि जोडिएका छन्।
‘प्रोजेक्ट बाजा नेपाल’ नामक यो कन्सर्टले मौलिकता जोगाउन पहल गर्छ। उनी यो संगीतकार फिरोज वज्राचार्यको परिकल्पनामा बनेको बताउँछन्। प्रोजेक्ट बाजा नेपालको गुरु रहेका वज्राचार्य बाजा र परम्परागत धुनको संरक्षण र जगेर्ना गर्नु यसको उद्देश्य रहेको सुनाउँछन्। यसअन्तर्गत पक्षी लाइभ कन्सर्टको अवधारणा सिर्जना भएको थियो। उनी फिरोजको अवधारणा यसरी सुनाउँछन्, ‘पक्षीलाई एउटा पक्षी हिमालदेखि तराईसम्म उडेर आउँछ। यात्राको पनि आफ्नै लय हुन्छ। यात्राका क्रममा समाज र परिवेश मात्रै नभएर अनेक सम्बन्धका आयाम र धुन आउने भाव व्यक्त गर्न खोजेको छ। नेपाल कति रमाइलो छ। त्यसमा फुलेको विविधतालाई बुझाउन खोज्नु हो।’
अभियानका रूपमा अगाडि बढेको पक्षी लाइभ कन्सर्टको यात्रा अहिले तीन वर्ष भयो, जहाँ वज्राचार्य सरोद बजाउँछन्। तर उनले पक्षी लाइभ कन्सर्टले आरोप–प्रत्यारोप खेप्नुपरेको दुखेसो सुनाए। किन?
कतिपयले नेवारी समुदायको मात्रै भयो भन्ने प्रश्न आएको छ। यसलाई सुधार्दै अगाडि बढाउनुपर्ने खाँचो औंल्याउँछन्। ‘नेवार समुदायका साथीहरू जोडिएकाले पनि यतातिर ढल्किएको भन्ने लाग्छ। यसलाई फराकिलो बनाएर लैजाने सोच सबैमा आउन जरुरी छ’, उनले भने।
उनी सरोदवादक भएकै कारण कुमारी देवीका पनि गुरु भए। सरोदवादक भएकै कारण त्यो अवसर पाएको उनको बुझाइ छ।
सरोदवादक समिता वज्राचार्य अर्थात् पूर्वकुमारी, जसलाई वज्राचार्यले नै सरोद सिकाएका थिए, २०११ मा। जीवत देवीको रूपमा चिनिने कुमारीलाई वज्र देवीका रूपमा पूजा गरिन्छ। समिता कुमारीको रूपमा राखिएपछि वज्राचार्य साताको हरेक शनिबार–शनिबार जान्थे। पूजा हेर्थे तर देवीलाई भेट्न पाउँदैनथे। अनि बाहिर बसेर आउजाउ गर्नेमा नजर लगाउँथे। एक दिन कुमारी समिताकी भाउजूले वज्राचार्यबारे सोधपुछ गरिन्। कुमारीको पूजामा आफूले सरोद बजाउन चाहेको सुनाए। समिताकी भाउजूले भित्र मिल्दैन भनिन्। किन मिल्दैन होला भनेर उनी कुतूहल भए किनकि उनलाई कुमारीबारे खासै थाहा थिएन। एक दिन पत्रिकामा कुमारीको विषयमा छापिएको थियो। उनी दिक्क मानेर पत्रिका पढ्न बसे। त्यसपछि उनले कुमारीबारे थाहा पाए।
उनले सामान्य सोचेकी कुमारीलाई विशाल देवीको रूपमा बुझे। उनीभित्र आस्था जाग्यो र आफूभित्रको अज्ञानता छ्याङ भएको थाहा पाए। उनले कुमारीबारे बुझेपछि शनिबार जाने मान्छे दिनदिनै जान थाले। उनै भाउजूले बाहिर सरोद बाजा बजाउन अनुमति दिइन्। खुसी हुँदै सरोद बाजा लिन बखुम्वहाल पुगे। सरोद किनेर बजाउन थाले।
बाहिर सरोद बजाउन थालेका वज्राचार्यलाई नै गुरु बनाएर समितालाई सरोद बाजा सिकाउन दिइयो। उनी भन्छन्, ‘कुमारी बोल्नु हुन्थेन। त्यस्तो अवस्थामा पनि मैले उहाँलाई सिकाएँ। कुमारी छउन्जेल सरोद पढाएँ। कुमारीबाट निस्केपछि घरमै गएर सरोद सिकाएँ। अहिले उहाँ राम्रो सरोदवादक हुनुहुन्छ।’
०००
सरोद बाजा एक जनाले होइन, धेरैले सिक्नुपर्छ भन्ने लाग्छ उनलाई। अहिलेको युवापुस्ता जति सजिलो गरी गितार बोकेर हिँड्छ, त्यसैगरी सरोद बाजा बोकेर हिँडेको देख्न रहर छ, उनलाई। उनी भन्छन्, ‘युवा पुस्ता यो बाजाप्रति आकर्षित छ तर स्कोप उत्साहजनक छैन। काठमाडौं विश्वविद्यालयमा २००३ देखि पढाउन थालेको छु। कति सरोदवादक जन्मिए भन्ने कुरा औंलामा मात्रै गन्ती गर्न सकिन्छ।’
नयाँ पुस्तामा चासो भए पनि निरन्तरता दिन गाह्रो छ। शास्त्रीय संगीतमा पर्ने बाजा भएकाले पनि कमै अवसर पाउँछन्, यो बाजा बजाउने कलाकारले। अन्य बाजा सिक्नजस्तो सजिलो पनि नभएका कारण विद्यार्थी कमै देख्छन् उनी। सिकाइ भन्ने कुरा कलाकारको क्षमतामा पनि भर पर्छ। सबैले सजिलै सिक्छन् भन्ने छैन।
कैयौं राग भएका कारण पनि सरोद बाजामा आकर्षित हुन नसकेको देख्छन् उनी। भन्छन्, ‘पहिलो वर्ष ८ वटा राग सिकें। ५ वर्षपछि १५ वटासम्म राग सिकियो। ८ वटामा ३० वटा राग सिकियो। सैयौं राग हुन्छन्। त्यो क्रम बढ्दै जान्छ।’
वज्राचार्य सरोद बाजाको माग पनि न्यून रहेको देख्छन्। सरोद बाजाको भीड पनि कम देख्छन्। उनी आफ्नो समयमा मोहनसुन्दर श्रेष्ठ र रुपा न्यौपानेजस्ता एकाध सरोदवादक मात्र देख्छन्।
‘राज्यले सरोद बाजालाई कति प्रचारमा ल्यायो भन्ने कुरा मिडियामै थाहा हुन्छ। सरोद मात्रै नभएर कुनै पनि बाजा र संगीतलाई सरकारले संरक्षण र अवसर दिएजस्तो लाग्दैन’, उनले भने।
चर्चामा रहेका बाजा बजाउने कलाकारप्रति सरकारको खासै चासो नभएकाले सरोदवादकतिर ध्यान दिने कल्पनाबाहिरको कुरा भएको ठान्छन्, वज्राचार्य। जस्तै, नेपालका विश्वविद्यालय (अपवादबाहेक) मा समेत यस खाले बाजाको कक्षा राख्न नसकेको बताउँछन् उनी। विश्वविद्यालयले प्राथमिकता नदिनु नै युवा पुस्ताले सरोदलाई सहजै बुझ्न नसकेको लाग्छ, उनलाई। सोही कारण सरोद बाजा बजाउने मानिस संख्यामा रहेको उनी ठान्छन्।
चालीसको दशकमा कला र बाजालाई मन पराउने राज्य थियो। त्यसो हुँदा केही स्रष्टाले अवसर पाए। अहिले त्यो अवसर छैन। उनी राज्यले नै यो बाजालाई बेवास्ता गरेको बताउँछन्।
‘सरोद बजाएर अहिले सरकारी जागिर पाइँदैन। हाम्रो समय अर्कै थियो। त्यतिबेला कलालाई सम्मान गरिन्थ्यो। अहिले कसैको चासो देखिँदैन। हेरिहाले पनि पार्टीगत जान्छ। पहुँच र नेताको खल्तीबाट चल्ने भएपछि प्रतिस्पर्धा हुन थाल्यो र राम्रा स्रष्टा पलायन हुनुप¥यो।
प्रज्ञा प्रतिष्ठानको जागिर, काठमाडौं विश्वविद्यालयको कक्षा, रेडियो नेपालका प्रशिक्षक, पक्षी लाइभ कन्सर्टका गुरु र स्वतन्त्र रूपमा सांगीतिक कार्यक्रममा सरोद बजाउने वज्राचार्य अहिले पनि सरोदकै तारमा औंलाहरू खेलाइरहन्छन्। नयाँ–नयाँ धुन सिर्जना गर्छन्। जीवनको ५५औं वसन्त हिँडिरहेका वज्राचार्यले हालसम्म १५ वटा एल्बममा सरोद बजाएका छन्। २१ वर्षअघि रिलवाला क्यासेटमा प्रि–प्राक्टिस (प्रा–अभ्यास) पहिलो एल्बम निकालेका थिए।
संगीतलाई नै जीवनको सर्वस्व ठान्ने वज्राचार्य दैनिक पाँच घन्टा रियाज गर्छन्। सरोद बिग्रिए आफैं मर्मत गर्छन्। उनलाई सरोदको धुनबिना जीवन अर्थहीन हुने लाग्छ। बसेर बजाउनुपर्ने बाजा भएका कारण अहिले नै घुँडा खिएको बताउँछन् वज्राचार्य। सरोदको धुनभन्दा पर उनले कहिल्यै सोचेनन्। सानैदेखि बाजा र धुनकै वरिपरि आफूलाई भुलाए।
उनले प्रज्ञा प्रतिष्ठानको जागिरबाट अवकाश पाउन अब चार वर्ष मात्र बाँकी छ। वज्राचार्य भन्छन्, ‘प्रतिष्ठान जाने दिन सकिए पनि सरोदको धुन मबाट सकिँदैन। अझै सरोदका तारहरू मसँग बढी खेल्न पाउने भए। झनै फराकिलो भएर सरोदको धुन सोच्न पाउँछु।’
कहिलेकाहीँ कुटी सौगल चोक आसपासका गल्ली, ताहा गल्ली, छ्यासा गल्ली, लोन्हा गल्ली, भैरव मार्ग र सत्यमोहन जोशी मार्गका गल्लीहरू झुक्किएर बखुम्वहाल टोल पछि पुग्नुभयो भने सरोदको धुन कानमा पर्न सक्छ। जसरी चालीसको दशकमा सानुभाइ मानन्धर र मोहनप्रसाद जोशीले बजाएको सरोदको धुनले वज्राचार्यलाई तानेको थियो, त्यसैगरी उनले बजाएको सरोदको धुनले जोकोहीलाई मोहित बनाउन सक्छ।