काठमाडौं- ‘बाउले साहुको ८० रुपैयाँ तिर्न नसक्दा २० वर्ष साहुकोमा कमारो बसेँ,’ मंगलबार थापाथलीस्थित सुकुम्बासी बस्तीमा आफ्नो विगत सम्झिँदै गर्दा चित्रबहादुर पुलामीका आँखा ओभाना थिएनन्। २०२० सालमा १५ वर्षका थिए उनी। चाञ्चल्यपूर्ण उमेरमा उनका पनि आम बालखका जस्ता पढ्ने, खेल्ने, रमाउने सपनाहरु थिए। तर आम सर्वसाधारणजस्तो सहज थिएन उनको जीवन। उनका बुवाले घरखर्च चलाउन लिएको ऋण तिर्न नसकेपछि उनी कमारो बस्न साहुकोमा पुगे। स्कूल जाने उमेरमा भारी बोकेर उकालीओराली गर्न थाले, उनी गोठालो बने। खेत जोत्ने होस् वा खेती गर्ने, पानी बोक्ने होस् वा घरका काम, सबैको जिम्मेवारी उनैलाई आइलाग्यो। गोठमा बसे। उभ्रेको खाए।
८० रुपैयाँ ऋण तिर्न नसकेको कारण उनी २० वर्ष साहुकोमा कमारो बसे। गोठालो जाँदा गाउँकै अर्को साहुकोमा कमारो बसेकी युवतीसँग माया बस्यो। घरबार बसाए, छोराछोरी भए।
परिवार भएपछि गोठ छाडेर आफ्नै घर बनाउने रहर लाग्यो उनलाई। एकदिन मुटु दरिलो पारेर साहुलाई भने पनि, ‘मलाई केही जग्गा बटैया दिनुस्, गरिखान्छु। तपाईँलाई पनि पाल्छु।’
चित्रबहादुरको उक्त प्रस्ताव साहुले तत्काल इन्कार गरे। ‘तँ बटैया भनेर मोही बनेर मेरो जग्गा खान खाजेको?’ भन्दै हप्काए। त्यसपछि उनीभित्र विद्रोहको आगो बल्यो। कमारो बस्न मनले मानेन र परिवारसहित हिँडे देशको राजधानी, सपनाको सहर, काठमाडौँ। त्यसपूर्व उनी पनि एकाधपल्ट उनी काठमाडौँ आएका थिए। तर कलंकी पार गरेका थिएनन्। ‘राजा बस्ने ठाउँ’ भनेर उनलाई काठमाडौंले लोभ्याएको थिए। गाउँमा कसैले भनिदिएको थियो, ‘भारी बोकेर राम्रै कमाउन सकिन्छ काठमाडौंमा।’ पैसा कमाउन उनी गोठबाट उम्किएर काठमाडौं आइपुगेका थिए।
त्यसबेला सस्तो थियो काठमाडौं। भारी बोकेर दिनको एक–डेढ सय कमाउँथे। दैनिक खर्च ३०-३५ रुपैयाँमा चल्थ्यो। केही बचत पनि हुन थाल्यो। उनलाई यहीँ बसूँबसूँ लाग्यो। डेरा गरेर हाँडीगाउँ बसे। अलिअलि बचत पनि हुन थाल्यो।
एकदिन हिमाल तामाङ नामका राजनीतिज्ञसँग भेट भयो उनको। हिमालले १ हजार १५० रुपैयाँ लिएर फारम भराए र जग्गा दिलाउने वाचा गरे। चोभारको खाली जग्गामा लगेर बसाले पनि। तर अर्कै दिन स्थानीय र प्रहरीबाट लखेटिए। चित्रबहादुरसहित हिमाललाई विश्वास गरेकाहरू पीडित भए। त्यहाँबाट लखेटिएपछि हिमालको कँठालो समात्न कलंकी पुगे उनीहरु, हिमालले ३ दिन आफैसँग राखेर खाना खुवाए। त्यसपछि हिमालकै नेतृत्वमा थापाथली आइपुगेका थिए उनीहरु। त्रिपाल टाँगे। बस्न थाले। नगरपालिका आएर भत्काइदियो। फेरि जोडजाड गरेर त्रिपाल टाँगे। फेरि महानगरले भत्कायो।
महानगरको गाडी आएपछि भाग्दै, फर्किएपछि पुनः त्यहीँ त्रिपाल टाँग्दै बिस्तारै बस्तीका रुपमा विकास भयो। थापाथलीस्थित बागमती किनार। ७ पटकसम्म बस्ती भत्काउन आएको महानगर ८औँ पटकपछि आएन। तर त्यसपछि पनि आइरह्यो हावाहुण्डरी र बाढी। दुखमसुखम त्यहीँ संघर्ष गरे उनीहरुले। ०६९ वैशाखमा बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा डोजरले छाप्रो किचिमिची पारिदियो। धेरै महिना सडकमा बसे।