काठमाडौं– नेपाल टेलिकमले संविधान दिवस २०७५ को अवसरमा ‘कन्स्टिच्युसन प्याक २०७५’ अफर ल्याएको छ । जसअनुसार सोमबारदेखि १५ गतेसम्म करसहित १८ रुपैयाँमा सो प्याक खरिद गर्न सकिनेछ ।
टेलिकमका प्रवक्ता प्रतिभा वैद्यले प्याक खरिद गरेपश्चात ७० मिनेटसम्म कम्पनीको जीएसएम तथा सीडीएमए मोबाइलमार्फत कम्पनीको नेटवर्क भित्र जति पनि अनलिमिटेड कल, एसएमएस वा डाटा चलाउन सकिने जनाइन् ।
लिज सेवाको महसुल दर परिमार्जन
नेपाल टेलिकमले सोमबारदेखि इन्ट्रानेट लिज सेवाको महसुल दर परिमार्जन गर्नुका साथै वाइम्याक्स सेवामा प्रमोसनल अफर लागू गर्ने भएको छ ।
टेलिकमले संविधान दिवसको उपलक्ष्य पारेर अफर उक्त अफर ल्याएको हो । कर्पोरेट ग्राहकहरुले नेपाल टेलिकमको आईपी नेटवर्क प्रयोग गरी आफ्नो मल्टिपल प्वाइन्टहरु कनेक्ट गर्नको लागि इन्ट्रानेट लिज सेवाको उपयोग गर्दछन् । बजार अवस्था र सेवाग्राहीको मागलाई ध्यानमा राखी महसुल दरलाई कम गरी थप आकर्षक तथा समसामयिक बनाइएको टेलिकमका प्रवक्ता वैद्यले जनाइन् ।
उनकाअनुसार पहिले न्यूनतम २५६ केबीपीएस ब्यान्डविथको इन्ट्रानेट लिज लाइन उपलब्ध गराइएकोमा अब न्यूनतम ५१२ केबीपीएस ब्यान्डविथको लिज लाइन उपलब्ध गराइनेछ । हाल २५६ केबीपीएस ब्यान्डविथको लिज लाइन प्रयोग गरिरहेका ग्राहकहरुको समयावधि सकिएपछि स्वचालित रुपमा ५१२ केबीपीएसमा अपग्रेड हुनेछ र नयाँ महसुल दर पनि सोही मितिदेखि लागू हुनेछ ।
५१२ केबीपीएसको महसुल दर प्रतिमहिना १ हजार ६ सय रुपैयाँ कायम गरिएको छ । त्यसैगरी १ देखि १० एमबीपीएसको प्रतिएमबीपीएस २ हजार ७ सय, ११ देखि १०० एमबीपीएसको प्रतिएमबीपीएस २ हजार ४ सय र १०० एमबीपीएस भन्दा माथिको महसुल दर प्रतिएमबीपीएस २ हजार १ सय रुपैयाँ तोकिएको छ । उल्लिखित दरमा थप कर लाग्नेछ ।
त्यसैगरी सोमबारदेखि आगामी मंसिर २९ गतेसम्म ९० दिन वाइम्याक्स सेवाको प्रमोसनल अफरअन्तर्गत अनलिमिटेड डाटा प्याकेज लगायत विभिन्न प्याकेज उपलब्ध गराइने भएको छ । यसअन्तर्गत अनलिमिटेड डाटामा थप कर लाग्ने छैन भने भोल्युम वेस्ड प्याकेजमा थप कर लाग्नेछ ।
टेलिकमकोअनुसार ब्यक्तिगत प्रयोगकर्ताहरुलाई ५१२ केबीपीएस स्पिडको अनलिमिटेड डाटा भोल्युम १५ सय रुपैयाँमा उपलब्ध गराइनेछ । सो प्याकेज चलाउने समयावधि एक महिना हुनेछ । गाउँपालिकाहरुका लागि यही क्षमताको प्याकेज एक हजार रुपैयाँमा उपलब्ध गराइनेछ ।
२ एमबीपीएस गतिसम्मको वाइम्याक्सको विभिन्न भोल्युम बेस्ड प्याकेज उपलब्ध गराइनेछ । यसअनुसार १५ दिनका लागि पाँच सय रुपैयाँमा १० जीबी, १ महिनाका लागि एक हजार रुपैयाँमा २० जीबी, ३ महिनाका लागि तीन हजार रुपैयाँमा ७० जीबी र ६ महिनाका लागि छ हजार रुपैयाँमा १७५ जीबी भोल्युम उपलब्ध गराइनेछ ।
एक बर्षका लागि १२ हजार रुपैयाँमा ५०० जीबी र २० हजार रुपैयाँमा १ हजार जीबी प्याकेज तथा एक वर्षे कर्पोरेट प्याकको रुपमा ३५ हजार रुपैयाँमा २३०० जीबी प्याकेज उपलब्ध गराइनेछ ।
वाइम्याक्स प्रयोगका लागि आवश्यक डिभाइस यूएसबी डोंगल सहित बन्डलिङ गरेर पनि प्याकेज उपलब्ध गराइने टेलिकमले जनाएको छ । जसअनुसार १ बर्षका लागि छ हजार रुपैयाँमा २५० जीबी भोल्युम उपलब्ध गराइनेछ । यसअन्तर्गत यूएसबी डोंगल निःशुल्क उपलब्ध गराइनेछ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४