काठमाडौं- प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दिएका धेरैजसो पूर्वस्वास्थ्यमन्त्रीहरूले यसपालि हार व्यहोरेका छन्। २०७४ को निर्वाचनमा चुनिएर स्वास्थ्य तथा जनसंख्यामन्त्री बनेका सबैले हार व्यहोरेका छन्।
उपेन्द्र यादव
२०७५ जेठ १८ गतेदेखि २०७६ मंसिर ५ गतेसम्म स्वास्थ्य तथा जसनंख्या मन्त्रीको जिम्मेवारी पाएका उपेन्द्र यादव सप्तरी-२ बाट फराकिलो मतान्तरले पराजित भएका छन्। जनता समाजवादी पार्टी नेपालका अध्यक्षसमेत रहेका यादवलाई पहिलो पटक चुनाव लडेको जनमत पार्टीका अध्यक्ष सिके राउतले पराजित गरेका हुन्। राउतका निकटतम प्रतिस्पर्धी बनेका यादवले उनीभन्दा १८ हजार ३६३ मत कम पाए। यादवले १६ हजार ९७९ मत पाउँदा राउतले ३५ हजार ०४२ मत पाए। यादव स्वास्थ्यमन्त्री हुँदा मन्त्रालयका कामकारबाहीमा चासो नदिएर विदेश भ्रमणमुखी भएको आरोप थियो।
स्वास्थ्य तथा जनसंख्यामन्त्रीका रूपमा विदेश भ्रमणमा रहेका बेला तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले यादवको मन्त्रालय साटिदिए। आफू विदेशमा रहेका बेला मन्त्रालय साटिएको विषयमा यादव असन्तुष्ट बन्दै सरकारबाट बाहिरिएका थिए।
भानुभक्त ढकाल
२०७६ मंसिर ५ मा यादवलाई हटाएर स्वास्थ्यको बागडोर भानुभक्त ढकाललाई सुम्पिएका थिए। मोरङ-३ बाट चुनिएर स्वास्थ्य मन्त्रीको जिम्मेवारीसम्म पुगेका ढकाल यसपालि मोरङ-३ बाटै फराकिलो मतान्तरले पराजित भएका छन्। ढकाललाई नोबल मेडिकल कलेजका सञ्चालकसमेत रहेका नेपाली कांग्रेसका उम्मेदवार सुनील शर्माले पराजित गरेका हुन्। शर्माले ४५ हजार ०९७ मत ल्याउँदा ढकालले २१ हजार १०४ मत पाए।
ढकाल स्वास्थ्यमन्त्री बनेको केही महिनामा नै कोरोना महामारी आयो। समयमा काम गर्नुको सट्टा गैरजिम्मेवार अभिव्यक्ति दिने, कोरोना नियन्त्रणका लागि व्यवस्थापन गर्न नसकेको, स्वास्थ्य सामग्री खरिदका विषयमा भ्रष्टाचार गरेकोलगायतका आरोप उनीमाथि लागे।
हृदयेश त्रिपाठी
ढकालपछि २०७७ पुस १० गते स्वास्थ्यमन्त्रीको जिम्मेवारी पाएका हृदयेश त्रिपाठी नवलपरासी पश्चिम-१ पराजित भएका छन्। नेपाली कांग्रेसका विनोद चौधरीसँग त्रिपाठी पराजित भए। चौधरीले २९ हजार ४९५ मत प्राप्त गर्दा निकटतम प्रतिस्पर्धी बनेका त्रिपाठीले २२ हजार ३०८ मत प्राप्त गरे। चौधरीभन्दा त्रिपाठीले ७ हजार १८७ मत कम पाए। २०७४ को निर्वाचनमा एमालेको सूर्य चिह्न लिएर जितेका त्रिपाठी यसपालि जनता प्रगतिशील पार्टी गठन गरी कोदाली बोकेका व्यक्ति चिह्न लिएर चुनावमा गएका थिए।
त्रिपाठीको कार्यकाल पनि विवादरहित भएन। खोप खरिदमा ऐजेन्टको भूमिका भएको कुरा स्वीकार गरेपनि उक्त एजेन्टको नाम सार्वजनिक नगरेपछि उनको आलोचना भयो। भारतमा विवादित पतञ्जलीले बनाएको कोरोनिल आयुर्वेदिक औषधि लिएपछि उनको आलोचना भएको थियो। उक्त औषधि नेपालमा दर्ता पनि भएको थिएन। त्रिपाठी २०७८ जेठमा पदमुक्त भएका थिए।
शेरबहादुर तामाङ
त्रिपाठीपछि स्वास्थ्यमन्त्री बनेका शेरबहादुर तामाङ पनि यसपटकको निर्वाचनमा पराजित भएका छन्। सिन्धुपाल्चोक-२ बाट कांग्रेसका मोहन बस्नेतले तामाङलाई पराजित गरेका हुन्। बस्नेतले ३९ हजार ३६७ मत पाउँदा एमालेका तामाङले २७ हजार ४९३ मत पाएका छन्। ०७८ जेठ २१ गते स्वास्थ्यमन्त्रीमा नियुक्ति भएका तामाङ जम्मा १९ दिनका लागि स्वास्थ्यमन्त्रीको पदमा रहे।
उमेश श्रेष्ठ
केपी शर्मा ओलीले दोस्रो पटक गरेको संसद विघटनलाई सर्वोच्च अदालतले असंवैधानिक ठहर गरेपछि ओली सरकार ढल्यो; कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बने। देउवाले स्वास्थ्यमा राज्यमन्त्रीको जिम्मेवारी उमेश श्रेष्ठलाई दिए। राज्यमन्त्री भनिएपनि स्वास्थ्यमा त्यसबेला मन्त्री नभएकाले मन्त्रालयका काम उनैले सम्हाल्थे।
व्यापारीलाई स्वास्थ्य क्षेत्र जिम्मा लगाएको भन्दै श्रेष्ठले चर्को आलोचना खेप्नुपर्यो। स्वास्थ्य राज्यमन्त्री बनेका श्रेष्ठ चितवन-२ बाट पराजित भएका छन्। उनी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेसँग भारी मतान्तरले पराजित भएका हुन्। श्रेष्ठले १५ हजार ९९ मत ल्याउँदा लामिछानेले ४९ हजार २६१ मत पाए।
विरोध खतिवडा
प्रधानमन्त्री शेरबहादुर देउवाले २०७८ असोज २२ मा मन्त्रिपरिषद् पुनर्गठन गर्दा श्रेष्ठलाई प्रधानमन्त्री कार्यालय मातहत रहने गरी राज्यमन्त्री बनाए। आफूलाई सरकार बनाउन साथ दिएको नेकपा एकीकृत समाजवादीका नेता विरोध खतिवडा स्वास्थ्य तथा जनसंख्या मन्त्री बनाइए। मकवानपुर-२ बाट चुनाव लडेका खतिवडालाई एमालेका महेशकुमार बर्तौलाले पराजित गरे। खतिवडाले ३० हजार ३९६ मत ल्याएका थिए भने बर्तौलाले ३४ हजार ९१६ मत ल्याएर जित हासिल गरे।
हाल स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा स्वास्थ्यमन्त्रीको रुपमा भवानी प्रसाद खापुङ छन् भने स्वास्थ्यराज्यमन्त्रीको हीराचन्द्र केसी छन्। उनीहरु दुवैजना यसपटकको निर्वाचनमा उम्मेदवार थिएनन्।
गिरिराजमणि पोखरेल
नेकपा माओवादी केन्द्रका नेता गिरीराजमणि पोखरेल पनि पूर्वस्वास्थ्यमन्त्री हुन्। प्रतिनिधि सभा निर्वाचनमा महोत्तरी-१ बाट लडेका पोखरेल एमाले उम्मेदवार लक्ष्मी महतो कोइरीसँग पराजित भए। पोखरेलले २२ हजार ३७३ मत पाउँदा महतोले २३ हजार ४०२ मत पाए। एमालेका महतोले १ हजार ३० मतको अन्तरले पोखरेललाई पराजित गरेका हुन्।
पोखरेल संविधान सभाको निर्वाचन २०६४ र २०७० तथा प्रतिनिधि सभाको निर्वाचन २०७४ मा विजयी भएका थिए। तर यसपटक उनले हार व्यहोर्नुपरेको छ। उनी २०६४, २०६५ र २०७४ मा स्वास्थ्यमन्त्री बनेका थिए। २०७४ मा उनी शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री भएका थिए।
राजेन्द्र महतो
पूर्वस्वास्थ्यमन्त्री राजेन्द्र महतो पनि यसपटक पराजितको सूचीमा परे। सर्लाही-२ मा चुनाव लडेका महतोलाई नेकपा माओवादी केन्द्रको चिह्न लिएर मैदानमा उत्रिएका नेपाल समाजवादी पार्टीका महिन्द्रराय यादवले पराजित गरेका हुन्। यादवले २३ हजार ५२९ मत पाउँदा महतोले २१ हजार ५१६ मत पाए। जित्नका लागि महतोलाई कम्तीमा २ हजार १३ मत कम भयो।
सुरेन्द्रकुमार यादव
पूर्वस्वास्थ्यराज्यमन्त्री डा सुरेन्द्रकुमार यादव महोत्तरी-४ बाट चुनावी प्रतिस्पर्धामा थिए। जसपाबाट चुनाव लडेका उनी नेपाली कांग्रेसका महेन्द्रकुमार रायसँग पराजित भए। कांग्रेसका रायले २५ हजार ४२० मत पाउँदा यादवले २१ हजार २९६ मत पाए।
प्रकाशित: Nov 27, 2022| 19:29 आइतबार, मंसिर ११, २०७९