शुक्रबार, जेठ २९, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • औद्योगिक क्षेत्रमा निराशा, चार महिनामा ६८ वटा मात्रै उद्योग दर्ता

औद्योगिक क्षेत्रमा निराशा, चार महिनामा ६८ वटा मात्रै उद्योग दर्ता

बैंकिङ क्षेत्रमा देखिएको तरलता अभाव र बढ्दो ब्याजदरका कारण उद्योग दर्ता गर्नेको संख्या घटेको विभागको अनुमान।
 |  बुधबार, मंसिर ७, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर ७, २०७९

काठमाडौं– चालू आर्थिक वर्ष २०७९÷८० को चार महिनामा (साउन–कात्तिक) उद्योग दर्ता आधाले घटेको विवरण उद्योग विभागले सार्वजनिक गरेको छ। विभागका अनुसार चालू आर्थिक वर्षको कात्तिकसम्म ६८ वटा उद्योग दर्ता भएका छन्। गत वर्ष सोही अवधिमा १३४ उद्योग दर्ता भएका थिए। 

National life

यस वर्ष २८ वटा ठूला उद्योग, २५ वटा मझौला र १५ वटा साना उद्योग दर्ता भएका हुन्। ती उद्योगबाट ४ हजार ९३५ जनाले रोजगारी पाउने अनुमान विभागको छ।

गत वर्ष सोही अवधिमा ठूला उद्योग ३९, मझौला उद्योग ४९ र साना उद्योग ४६ गरी १३४ वटा उद्योग दर्ता भएका थिए। उक्त उद्योगमा १ खर्ब ५१ अर्ब ८५ करोड रुपैयाँ लगानी प्रतिबद्धता आएको थियो। ती उद्योगबाट १२ हजार २३५ जनालाई रोजगारी उपलब्ध गराइने अनुमान थियो।  

चालू आवमा दर्ता भएका उद्योगमा ९६ अर्ब १६ करोड ५८ लाख बराबरको स्वदेशी लगानी प्रतिबद्धता आएको विभागले बताएको छ। गत आर्थिक वर्षको सोही अवधिमा नेपालमा १ खर्ब ३४ अर्ब ८६ करोड ९४ लाख बराबरको स्वदेशी लगानी प्रतिबद्धता आएको थियो। 

उत्पादनमूलक, पर्यटन र ऊर्जामूलक उद्योग दर्ता अन्यको तुलनामा बढी रहेको विभागको तथ्यांकले देखाएको छ। चालू आवको चार महिनामा कृषि तथा वन पैदावारमा आधारित ३, ऊर्जामूलक १६, सूचना प्रविधिमा आधारित २  उद्योग दर्ता भएका छन्। उत्पादनमूलक उद्योग २१, खनिज १, सेवामूलक ८ र पर्यटन उद्योग १५ वटा छन्। 

Shivam cement

गत आवको पहिलो चार महिनाको तुलनामा चालू आवको सोही अवधिमा ऊर्जामूलक क्षेत्रको लगानी ३ अर्बले घटेको छ। सेवामूलक क्षेत्रमा करिब ९ अर्बको गिरावट आएको छ। 

चालू आवको पहिलो चार महिनामा ऊर्जामूलक क्षेत्रका २१ परियोजनामार्फत ६६ अर्ब ४८ करोडको लगानी प्रतिबद्धता आउँदा सेवामूलक क्षेत्रका १४ परियोजनाबाट जम्मा ८ अर्ब २७ करोड बराबरको प्रतिबद्धता प्राप्त भएको छ।

विभागका अनुसार गत आवको पहिलो चार महिनाको तुलनामा चालू आवको पहिलो चार महिनामा उत्पादनमूलक क्षेत्रको लगानी प्रतिबद्धता २४ अर्ब ४६ करोडले घटेको छ।

प्रकाशित: Nov 23, 2022| 12:06 बुधबार, मंसिर ७, २०७९
प्रतिक्रिया दिनुहोस्