शनिबार, साउन १२, २०८१

नाडा अटो सो : अफरको वर्षा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
Metro Mart
vianet
काठमाडौं-भृकुटीमण्डपमा मंगलबारदेखि तेह्रौं नाडा अटो सो अर्थात् अटोमोबाइल क्षेत्रको कुम्भ मेला जारी छ । एकै छानामुनि विभिन्न सवारी साधनका पैठारीकर्ता, डिलर, उत्पादक र बिक्रेतासम्बन्धी ७१ कम्पनीहरू सहभागी छन् ।

अटो सोमा साना-ठूला गरी एक सय ३४ वटा ब्लक र स्टलहरू छन् । १९ ब्रान्डका चार पांग्रे र २० ब्रान्डका दुई पांग्रे सवारी साधनहरू राखिएका छन् । विभिन्न कम्पनीले आफ्ना विभिन्न सवारी साधन बिक्रीका क्रममा खरिदकर्ताहरूलाई स्मार्टफोन, नगद छुट, भ्रमण तथा एउटा गाडीको खरिदमा अर्को उपहार योजना सार्वजनिक गरेका छन् ।

ड्याट्सन

पायोनियर मोटोकर्पले आफ्ना ड्याट्सन ब्रान्डका गाडीहरूमा एट्रयाक्टिभ नगद छुटअनुसार नौ लाख ६० हजार रुपैयाँसम्म नगद छुट दिएको कम्पनीले बताएको छ । कम्पनीका अनुसार नाडा सोभित्र ड्याट्सन गाडीका खरिदकर्ता प्रत्येक ग्राहकलाई २७ हजार रुपैयाँ बराबरको स्मार्टफोन वितरण गरिनेछ ।

त्यसबाहेक कम्पनीले ग्राहकलाई गाडीमा एक वर्ष बीमा, तीन वर्षसम्म फ्री सर्भिस, तीन वर्षकै वारेन्टीलगायत व्यवस्था गरेको छ । नेपाली बजारमा कम्पनीले सस्तोमा १५ लाख २५ हजार रुपैयाँको रेडी-गो ८०० सीसीलाई अटो सोको अवसर पारेर १३ लाख ९९ हजारमा बिक्री गरिरहेको छ । ड्याट्सनको महँगोमा गो-प्लसलाई २७ लाख ४९ हजार रुपैयाँमा उपलब्ध गराएको छ । ड्याट्सनले गो, गो-प्लस र रेडी-गोका विभिन्न मोडेलका गाडी नेपाली बजारमा ल्याएको छ ।

टाटा


यस्तै, सिप्रदी ट्रेडिङ प्रालिले टाटा ब्रान्डका गाडीहरूमा एकदेखि चार लाख रुपैयाँसम्म नगद छुट दिएको छ । कम्पनीका डेपुटी प्रोडक्ट म्यानेजर मेघराज ढुंगेलले टाटाका गाडीहरूमा अटो सोसहित दशैंसम्मका लागि उक्त छुट दिएको बताए । 

‘हामीले ३४ लाख ५५ हजार रुपैयाँ पर्ने १९ सय ४८ सीसीका सुमो डिजेलबाट चल्ने गाडीमा एक लाख रुपैयाँ छुट दिएका छौं । महँगो गाडी ९१ लाख ५५ हजार रुपैयाँ पर्ने टाटा हेक्सामा चार लाखसम्म छुट दिएका छौं,’ उनले भने, ‘साथै, बीमा, रोड शुल्क, एक्सेसरिजलगायत व्यवस्था गरेका छौं ।’

उनका अनुसार अन्य अटोमोबाइल कम्पनीहरूका योजनाभन्दा फरक नाडा सोमा बुकिङ गरेका ग्राहकलाई हेलिकोप्टरमार्फत् लाङटाङ पुर्याएर गाडीको चाबी हस्तान्त्रण गर्ने कार्यक्रम पनि छ । नाडा अटो सोभरि करिब दुई सय टाटाका गाडीहरू बिक्री गर्ने लक्ष्य कम्पनीको रहेको उनले जानकारी दिए ।

टोयोटा


नेपाली बजारमा महँगा गाडीहरू बिक्री गर्ने वैद्य अर्गानाइजेसनअन्तर्गतको युनाइटेड ट्रेडर्स सिन्डिकेटले समेत आफ्नो टोयोटा ब्रान्डका गाडीमा विभिन्न किसिमका योजना ल्याएको कम्पनीका सेल्स एन्ड मार्केटिङ इन्चार्ज विवेक बलामीले बताए ।

उनका अनुसार टोयोटाका फर्चुनरका सबै मोडेलका गाडीमा तीन लाखसम्म छुट दिइएको छ । ‘साथै नाडा अटो सोमा सार्वजनिक गरेको रसका विभिन्न मोडेलका गाडीमा २५ हजार रुपैयाँ छुट दिएका छौं,’ उनले भने । खासगरी, भरखरै सार्वजनिक भएको रसलाई अहिले कम्पनीले बिक्रीका लागि प्राथमिकतामा राखेको उनले बताए ।

उक्त गाडीको प्रि-बुकिङ अप्रिलदेखि शुरु भएको थियो, जसमा करिब एक सय ५० वटा बुकिङ भयो भने ४० वटा गाडी डेलिभरीसमेत भइसकेको उनको भनाइ छ । ‘नाडा सो अवधिमा पनि हामीले उक्त गाडी करिब सय वटा बुकिङ गर्ने लक्ष्य राखेकामा हालसम्म ३० वटा भइसकेको छ,’ उनले भने, ‘अरू गाडी पनि २०/३० वटा बुकिङ भइसकेको छ ।’

टोयोटाको इटियोस लिवा जी पेट्रोल भेरियन्ट ३२ लाखदेखि ल्यान्ड क्रुजर भी ८ डिजेललाई चार करोड आठ लाख रुपैयाँसम्ममा उपलब्ध छन् । जसमा कम्पनीले एक वर्षको बीमा, त्यति नै सडक दस्तुर, लक्की ड्रमार्फत इन्डोनेसियाको बाली टुर पाँच जोडीलाई, पोखरा टुर तीन जोडीलाई र दुई जोडीलाई माउन्टेन फ्लाइटको योजना सार्वजनिक गरिएको कम्पनीका सेल्स एन्ड मार्केटिङ इन्चार्ज बलामीले जानकारी दिए ।

फोर्ड

फोर्ड गाडीको खरिदमा पनि नाडा तथा दशैं तिहारका लागि विभिन्न स्किमहरू राखिएको छ । जसमा २५ हजार रुपैयाँदेखि लाख रुपैयाँसम्म नगद छुट, स्क्रयाच कुपनमा एक लाख ८० हजार रुपैयाँसम्म, बम्पर उपहारमा लक्की ड्रमार्फत पाँच जोडीलाई स्विजरल्यान्ड घुमाउने, फ्री एसेसरिज, एक वर्षको रोड शुल्क कम्पनीले नै बेहोर्नेलगायत छन् ।

नेपालका लागि फोर्डका आधिकारिक बिक्रेता जिओ अटोमोबाइल्स प्रालिका सिनियर अफिसर मार्केटिङ कम्युनिकेसन्स पंकज यादवले नाडा हुँदै दशैं र तिहारमा कम्पनीले करिब तीन सय गाडी बिक्री गर्ने लक्ष्य राखेको बताए । ‘बुकिङ उत्साहजनक भइरहेको छ,’ उनले भने । उनका अनुसार कम्पनीको काठमाडौंसहित बाहिर १४ वटा सोरुम छन् ।

कम्पनीले बिक्री गरिरहेको गाडीमध्ये सबैभन्दा बढी इकोस्पोर्टलाई ग्राहकहरूले मन पराएको उनले बताए । ‘३५ लाख ९० हजारदेखि ४९ लाख ९० हजार रुपैयाँ पर्ने उक्त पेट्रोल गाडी कुल गाडीमध्ये करिब ३०/३५ प्रतिशत बिक्री हुने गरेको छ,’ उनले भने, ‘१५ सय सीसीको पर्फेक्ट अर्बान एसयूभी भएकाले पनि यसको माग बढिरहेको हो ।’

फोर्डका गाडीहरू २६ लाख ९० हजारदेखि एक करोड ७१ लाख रुपैयाँसम्मको एन्डिभारस डीएसएल गाडी बजारमा उपलब्ध छ ।

हुन्डाइ

हुन्डाइको गाडी खरिदकर्ताले दशैंमा स्क्रयाच कार्डमार्फत एक लाख रुपैयाँसम्म जित्ने, लक्की ड्रमार्फत १०/१० ग्रामको सुन सय जनालाई, ग्रान्ड लक्की ड्रमार्फत क्रेटा र आई २० एक्टिभ गाडी १/१ जनाले जित्न सक्ने योजना कम्पनीले ल्याएको छ ।

कम्पनीका अनुसार खरिदकर्ताका लागि एक वर्षको बीमा, एक वर्षको रोड शुल्क साथै आकर्षक नगद छुटसमेतको व्यवस्था छ ।

हुन्डाइ गाडीको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलका सहायक महाप्रबन्धक (सेल्स एन्ड मार्केटिङ) रूपेश शर्मा भट्टले पछिल्लो बजेटपछि शुरुमा गाडीको बिक्रीमा केही असर परे पनि अहिले बिक्री उत्साहजनक रूपमा बढिरहेको छ । ‘हामीले विगतका जस्तै नाडा तथा दशैं तिहारका लागि विभिन्न योजना राखेका छौं,’ उनले भने, ‘यसले हुन्डाइका ग्राहकहरूलाई थप उत्साह थपेको छ ।’

हुन्डाइले ८१४ सीसीको ईओन १८ लाख ९६ हजारदेखि २१ सय ९९ सीसीको सान्टा फे एक करोड २२ लाख ९६ हजार रुपैयाँमा नेपाली बजारमा उपलब्ध छ ।

महिन्द्रा

महिन्द्रा गाडीको आधिकारिक बिक्रेता अग्नि इन्कर्पोरेटेडले पनि नाडा सो अवधिमा ५० हजारदेखि दुई लाख ९५ हजार रुपैयाँसम्मका विभिन्न मोडेलका गाडीहरूमा छुट दिएको छ ।

कम्पनीका भेहिकल सेल्स डिपार्टमेन्टका संग्राम अर्यालले महिन्द्राले बजारमा ३७ लाख रुपैयाँदेखि ९० लाख ९५ हजार रुपैयाँसम्मका गाडीहरू उपलब्ध गराइरहेको बताए । कम मूल्यका महिन्द्रा टीयूभी ३०० टीफोरदेखि महँगोमा महिन्द्रा एक्सयूभी ५०० एडब्ल्यूडी छ ।

‘कम्पनीले नाडा अवधिमै महिन्द्राको विभिन्न सय वटा गाडी बिक्री गर्ने लक्ष्य राखेको छ,’ उनले भने, ‘त्यसमा ४० वटा बुकिङ भइसकेका छन् ।’ दैनिक १०/१५ वटा बुकिङ हुने गरेको छ ।

रेनो

नेपाली बजारमा आधिकारिक रूपमा एडभान्स्ड अटोमोबाइल्सले रेनो गाडीको बिक्री गरिरहेको छ । रेनोमा पनि नाडाको साथै दशैं-तिहारको अवसर पारेर एक लाख ४० हजार रुपैयाँदेखि दुई लाख ७० हजार रुपैयाँसम्म विभिन्न मोडेलका गाडीमा छुटकोे व्यवस्था गरेको छ । साथै, गाडीको खरिदमा एक वर्षको बीमा तथा रोड शुल्क पनि प्रदान गर्ने जानकारी दिएको छ ।

कम्पनीको सोरुम म्यानेजर मुरारी मास्केले रेनोको गाडी नेपाली बजारमा २२ लाख २४ हजारदेखि ६४ लाख ८९ हजार रुपैयाँसम्मकोे उपलब्ध रहेको बताए । जसमा कम मूल्यका क्विड हजार सीसीको र बढी मूल्यमा डिजेलको क्याप्चरको प्लाटिन डुबल १४ सय ६१ सीसीको गाडी कम्पनीले बजारमा बिक्री गरिरहेको उनको भनाइ छ ।

एमजी

विशाल ग्रुपअन्तर्गतको पारामाउन्ट मोटर्सले एमजी ब्रान्डका महँगा गाडीहरू नेपाली बजारमा ल्याएको छ । एमजी ब्रान्ड गाडी बिक्रीका लागि कम्पनी डेढ वर्षअघि खुले पनि एक महिनाअघि मात्रै प्रोडक्टहरू सार्वजनिक गरिएको हो ।

यूके ब्रान्डका गाडीहरू चीनमा एसेम्बल हुन्छन् । सन् २०१९ बाट भारतमा समेत एसेम्बल हुने कम्पनीले जनाएको छ । एमजी गाडीको शुरुवाती मूल्य ५८ लाख रुपैयाँ छ । उक्त मूल्यका एमजी जीएस १५०० टर्बो इन्जिनको गाडी उपलब्ध छ । कम्पनीले अहिलेसम्म बढीमा एमजी ६, १८०० सीसीको ६९ लाख रुपयाँसम्मका गाडी सार्वजनिक गरिसकेको छ ।

गाडीका मुख्य विशेषताहरूमा अटोमेटिक, एयरब्याक बढी भएको, अनम्याचेड सेफ्टी फिचर्सलगायत छन् ।

जीप


अर्को एमएडब्ल्यु लाइफ, लाइफ अटोमोबाइल प्रालिले पनि पछिल्लो समय नेपाली बजारमा महँगा गाडीहरू भित्र्याएको छ । उक्त कम्पनीले नेपालमा जिप कम्पास ल्याएको हो ।

विभिन्न मोडेलका कम्पासहरूको शुरुवाती मूल्य ७४ लाख ९० हजार रुपैयाँदेखि साढे दुई करोड रुपैयाँसम्म छ । कम मूल्यको कम्पास स्पोर्ट हो भने बढी मूल्यमा २८०० सीसीको र्यांलर अनलिमिटेड हो । पेट्रोलमा अटोमेटिक र डिजेलमा म्यानुअलमा जिप कम्पास उपलब्ध छ ।

२००० सीसीको मल्टि जेट टर्बो डिजेल र १४०० मल्टिएयर अर्बो पेट्रोलमा गाडीहरू उपलब्ध छन् । जिप कम्पास एक उल्लेखनीय एसयूभीको विकल्प बन्न पुगेको छ । कम्पनीले पारिवारिक एसयूभीको बजारलाई लक्षित गरेर गाडीहरू ल्याएको हो ।

बजारमा जिपको कम्पास स्पोर्ट, कम्पास लोगिट्युड, कम्पास लिमिटेडका मोडेलहरू उपलब्ध छन् । कम्पनीले जिपको कम्पासमा एक वर्षको बीमा, रोड शुल्क, तीन वर्षको वारेन्टी, एक लाख किलोमिटर वारेन्टी, फ्री सर्भिसलगायत व्यवस्था गरेको छ ।

किया


कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेजको कियाको गाडीमा नाडा अटो सोको अवधिमा बुकिङ गर्नेका लागि लक्की ड्रमार्फत दुई जनालाई कोरिया, मलेसिया, थाइल्यान्डको टुर राखेको छ ।

साथै, आकर्षक नगद छुट, स्क्रयाच कुपनमा नगद, रोड शुल्कलगायत योजना सार्वजनिक गरेको छ ।

कम्पनीले बजारमा पिकान्टो एलएक्स २४ लाख ९९ हजार रुपैयाँदेखि स्पोर्टेज जीटी गाडीलाई ९४ लाख ९५ हजार रुपैयाँसम्ममा उपलब्ध गराएको छ । २०१८ संस्करणको स्पोर्टेजको एलएक्स जीएसएल टु डब्ल्युडीलाई ६५ लाख ९० हजार रुपैयाँ तोकेको छ ।

सुजुकी

सीजी मोटोकर्पका सुजुकी गाडीहरूमा नाडा सोलाई ध्यानमा राखेर विशेष अफर ल्याएको छ । साथै, दशैं बम्पर सेभिङअन्तर्गत दुई लाखसम्मको नगद छुट, स्क्रयाच कार्डमार्फत एक लाख र एक्स्चेन्ज बोनसमार्फत एक लाख रुपैयाँसम्मको छुट योजना ल्याएको छ ।

बजारमा सुजुकीको ११ लाख ९९ हजार रुपैयाँको सुपर क्यारी गाडीदेखि ४२ लाख २९ हजार रुपैयाँको भिटारा ब्रेजासम्मका गाडीहरू नेपाली बजारमा उपलब्ध छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्