काठमाडौं– सिनामंगलबाट तीनकुनेतर्फ थोरै ओरालो गएपछि आउँछ, शक्तिमार्ग प्रवेशद्धार। शक्तिमार्गबाट थोरै भित्र पसेपछि आउँछ शक्ति विनायक मन्दिर, जहाँ बिहीबार बिहान ‘घण्टी’को आवाज राम्रै चर्कियो। राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ताले घण्टी बजाएरै उम्मेदवार सोबिता गौतमको प्रचार गरिरहे। नेपथ्यमा गीत बजिरहेको थियो–
दिदीबहिनी, आमा–बा, दाजुभाइ
चार भोटमा दुई भोट घण्टीलाई
किन लजाउने
यसपालिको चुनावमा घण्टी बजाउने...।
अन्य दलको तुलनामा घण्टीमा भोट माग्ने शैली अलि फरक थियो। कोणसभा गर्न लागेकोले शक्ति विनायक मन्दिर अगाडिको चोकमा मात्र गौतमले करिब एक घण्टा बिताइन्। त्यो एक घण्टाको बीचमा उनले पाएको स्नेहले पनि संकेत गर्छ– सोबिताको माहोल अन्य दलहरुले सोचेजस्तो कमजोर छैन।
अहिले राज्यसत्ता सञ्चालन गरिरहेका दलहरुबाट आजित अधिकांश मतदाता सोबितालाई भेट्न चोकमा आउँथे। कतिपय बाहिर पसलतिर आएको मौकामा उनीसँग सेल्फी लिएर जान्थे। एक सेल्फी दिएपछि सोबितालाई मत हाल्ने आश्वासन दिएर आफ्नो बाटो लाग्थे।
शक्ति विनायकमा हल्लाखल्ला बढ्दै गएपछि भिड थप बढ्दै गयो। उम्मेदवार हेर्न आएका मान्छेहरु कोही आपूmआपूm गफ गरेर बस्थे त कोही सोबितालाई नै भेट्न हतारिन्थे। कानेखुसी गर्नेहरु अधिकांशको मुखबाट पुराना पार्टी र नेताहरुप्रतिको आक्रोश सुनिन्थ्यो। ४ गते नेताहरुलाई देखाइदिनुपर्छ भन्ने आशयका अभिव्यक्ति उनीहरु दिन्थे। त्यही हुलमुलमा एकजनाले चर्कै स्वरमा आह्वान गरिहाले– ‘४ गते डिसिजन दिम्। एकदिन भोट हालेर पछि पाँच वर्ष किचकिच सुन्नुभन्दा यसैपटक नेतालाई मसिर ४ गते एउटा मेसेज दिम्। उहाँहरुलाई विश्राम गर्न भनौँ। हाम्रो क्रान्ति यही नै हुनेछ।’
थरीथरी विचार बोकेका मतदाता सोबितालाई भेट्न चोकमा आएका थिए। कोही एमसिसीको विरोधमा बोल्नेहरु थिए भने कोही प्रदेश खारेजी हुनुपर्छ भन्नेहरु थिए। कोही सनातन धर्मसंस्कृति ‘मास्ने’ बाटोमा लागेको भन्दै पुराना दलप्रति आक्रोशित सुनिन्थे। कोही सामान्य विकास–निर्माणका काम नभएको भन्दै आजित थिए। केही भने संविधानबाट प्राप्त उपलब्धीको रक्षा गर्दै विकासमा जोड दिए हुन्थ्यो भन्ने आशय बोकेका समर्थक थिए। यसरी सबैखाले असन्तोषको भारी सोबितासामु खनिएका थिए। मतदाताले आफ्नो असन्तुष्टि सम्बोधन गर्न सोबितालाई संसदमा छिराउन चाहेको देखिन्थ्यो। भलै सोबिता स्वयंले भने यसरी छरिएका असन्तोषलाई कसरी समेटेर सम्बोधन गर्छिन्, समयले बताउला।
एकाबिहानै चोकमा निस्किएका जीवनलाल श्रेष्ठ पनि ठूला भनिएका दलहरुप्रति आक्रोशित सुनिए। उनी जसरी पनि दलहरुलाई हराउनुपर्ने मत राख्छन्। त्यसमाथि एमसिसी प्रकरणपछि श्रेष्ठमा रिसको पारो उकासिएको रहेछ। बुढा नेताहरुको रिस उनी मतबाटै खन्याउन चाहन्छन्। यद्यपि, विकल्प दिने भन्दै आएका ‘युवा’हरुसँग पनि रिस नउठेको हैन। तर रिसको प्रकृति भने फरक थियो। एकातिर ठूला दलहरु मिलेर राजनीतिक सिन्डिकेट लगाएकोमा उनलाई रिस थियो भने अर्कोतर्फ युवाहरु नमिली चुनाव लडेकोमा रिस थियो।
‘एमसिसी किन पास भयो? सही भए दलहरु अहिले किन त्यसबारे नबोलेको? त्यस्तालाई त यही चुनावबाट फाल्ने नै हो। यसपटक भोट घण्टीमै हो,’ श्रेष्ठले भने, ‘तर युवाहरु पनि मिलेको भए तिनीहरुलाई हराउन सहज हुन्थ्यो। युवायुवा किन जुधेको? स्वतन्त्रहरु नै जुधेर पार्टीलाई फाइदा पुर्याउने भए। युवा नमिलेकोले दुःखचाहिँ लागेको छ।’
राष्ट्रिय स्वतन्त्र पार्टीका अर्का शुभेच्छुक पनि त्यहाँ आए। यद्यपि, उनी काठमाडौं क्षेत्र नम्बर एकका मतदाता रहेछन्। ‘मेरो चाहिँ पुकार बमबाट पर्यो! तैपनि यहाँ आएको’ भन्दै सोबितासँग फोटो खिचाएर गए। काठमाडौं–२ मा रहेका आफन्तलाई भोट हाल्न लगाउने विश्वास दिएर गए।
सोबितालाई भेट्नेहरुमा फोटो खिच्न रुचाउन खोज्ने धेरै थिए। अलि पाका उमेरकाले ‘नानीको घर चाहिँ कता नि?’ भनेर सोध्थे। माया देखाउँथे। सोबिता पनि उत्साही हुँदै मत माग्थिन्। बाटोमा हिँडेका हरेकलाई बोलाउँदै हात जोड्थिन्। उनले मत माग्दा उपस्थितले दिएको जवाफ सुन्दा उनको लागि यो चुनाव सहज छ भन्ने आकलन गर्न सकिन्छ। किनकी मतको अपिल गर्दा अधिकांशको जवाफ हुन्थ्यो– तपाईं नआउदै त हाल्ने सल्लाह भैसकेको थियो। झन् भेटेपछि के चाहियो? हामी सबैले हाल्छौँ।’
सुरुमा चोकमा आएर उभिँदा उनीसँग त्यति कार्यकर्ता थिएनन्। तर जब हल्लाखल्ला हुँदै गयो, मान्छेहरु थपिँदै गए। रोचक के भने, त्यहाँ आएकाले पनि उनको फोटो टाँसिएको प्लेकार्ड झुन्ड्याउन खोजेको देखियो। कोणसभा हेर्न आएकाहरु नै उनका दरिला समर्थक देखिए। ‘स्वतन्त्र’ मात्र हैन, अन्य दलका कार्यकर्ता पनि आएर उनलाई वाचा गरेर गए। ‘म कांग्रेस–एमालेको हुँ तर पनि तपाईंलाई हाम्रो साथ छ’ भन्ने थुप्रै भेटिए। सायद पार्टीका कसैले देख्लान् भन्ने डरले हुनुपर्छ, त्यसो भन्नेहरु लामो समय भने त्यहाँ अडिन सकेनन्।
केही समयपछि औपचारिक रुपमा कोणसभा सुरु हुने भयो, जसको लागि उम्मेदवार रहेकी सोबिता भिडको अगाडिपट्टी गएर माइक्रोफोन समाइन्। भाषण गर्न अगाडि पुग्दा पनि माला लगाइदिन आउनेको कमी थिएन। समर्थकले पूmलमाला लगाइदिँदा उनी पनि अलि पाका समर्थक देखे सम्मानपूर्वक उनीहरुलाई माला लगाइदिन खोज्थिन्।
मन्तव्य दिँदा पनि तलबाट तालीको कमी महसुस उनलाई भएन। बोलेको हरेक लाइनलाई समर्थकको तालीले अनुमोदन गरिदिन्थ्यो। भाषणको क्रममा उनले ‘मलाई फूलमालाले स्वागत गर्नु भनेको, पुस्ता हस्तान्तरण गर्न तपाईं आतुर हुनुहुन्छ भन्ने लाग्यो’ भन्दा अगाडिपट्टी ‘हो–हो’ भनेर कराउनेको कमी थिएन।
सोबितालाई समर्थन गर्न विदेशमा बसोबास गर्ने नेपालीहरु पनि थिए। सो कार्यक्रममा उनको दरिलो समर्थक बनेर जापानबाट वासुदेव लामिछानेलगायतको टोली त्यहाँ उपस्थित थिए। सो क्षेत्रमा उनको ‘क्रेज’ अन्य उम्मेदवारको तुलनामा व्यापक देखिन्थ्यो। काठमाडौं महानगर–०९ मा पर्ने शक्ति मार्गको शक्ति विनायक मन्दिरमा सोबिताको ‘शक्ति’ राम्रै देखियो।
यस्तो छ यसअघिको अंकगणित
यसपटक काठमाडौं–२ मा रास्वपा उम्मेदवार सोबिता गौतमसँग प्रतिस्पर्धामा छन्, करिब साढे चार दशक रोल्पाबाट राजनीति गरेकी पूर्वसभामुख ओनसरी घर्ती मगर, एमालेबाट पार्टीको बागमती प्रदेश कमिटी सदस्य मणिराम फुयाल र राप्रपाबाट कुन्तीदेवी पोखरेल।
यो क्षेत्रमा शंखरापुर नगरपालिका, कागेश्वरी मनोहरा नगरपालिका र काठमाडौं महानगरपालिकाका २ वटा वडा पर्छन्। गत वैशाखमा सम्पन्न भएको स्थानीय तहको वडागत मत परिणाम हेर्दा यो क्षेत्रमा नेकपा एमाले अगाडि देखिन्छ। २० हजार ६५५ मतसहित नेकपा एमाले पहिलो दल बनेको थियो भने सत्ता गठबन्धनमा रहेको दल नेपाली कांग्रेसले १७ हजार ३६९ मत पाएको थियो। माओवादीले ३ हजार १७४ मत ल्याई तेस्रो शक्तिमा खुम्चिनु परेको थियो। राष्ट्रिय प्रजातन्त्र पार्टी ‘राप्रपा’ले ७ हजार ३६० मत ल्याएको थियो भने अन्य दलको ४७६ मत थियो।
यद्यपि, अहिले उम्मेवार सोबिता गौतमको ‘इन्ट्री’ले यो क्षेत्रको चुनाव थप रोचक बनेको छ। यसअघिका अंकगणितलाई फेल खुवाउने माहोल सो क्षेत्रमा बनिरहेको उनकै घरदैलोका दृश्यले देखाउँछ। त्यसैले काठमाडौं–२ को प्रतिनिधि को बन्छ भनेर यसै भन्न सकिने स्थिति छैन।