काठमाडौं– निर्वाचन आयोगले आगामी ४ मंसिरको चुनावलाई लक्षित गरी मुलुकक विभिन्न स्थानमा घुम्ती टोली परिचालन गर्ने भएको छ।आयोगका सहसचिव वा उपसचिवको नेतृत्वमा सरकारी कर्मचारी र प्रहरी सम्मिलित घुम्ती टोली परिचालन गर्न लागिएको निर्वाचन आयुक्त ईश्वरीप्रसाद पौड्यालले बताएका हुन्।
‘बिहीबार राती १२ बजेदेखि ४ मंसिरको मतदान नसकिँदासम्मको समय संवेदनशील मानिन्छ। त्यो बेला मतदातालाई प्रभावित पार्ने, रकम बाँड्ने, भोजभतेर गर्नेलगायतका गुनासा यसअघिका मतदानका क्रममा आउने गरेका थिए,’ उनले भने, ‘यी विषयमा स्थानीय सुरक्षाकर्मीसहित यहाँबाट पठाएको टोलीले अनुगमन गर्नेछ,’ उनले भने।
टोलीले स्थानीय प्रशासन ऐनअनुसार प्रमुख जिल्ला अधिकारीको अधिकार र आयोगको आचारसंहिता पालनाको अधिकारसमेत प्रयोग गर्नेछ।उनले भने, ‘अति संवेदनशील ठाउँ र भौगोलिक रूपमा विकट रहेका क्षेत्रमा टोलीलाई सम्पूर्ण अधिकार दिएर पठाउनेछौं। शान्ति–सुरक्षा भंग गर्ने प्रयास भए गोली चलाउनसमेत आदेश दिन सक्ने गरी अधिकार प्रत्यायोजन भएको छ।’
मौन अवधिमा गैरकानुनी र आचारसंहिता विपरीत काम गरे तत्काल कारबाही गर्न पाउने गरी पठाउन लागिएको टोली काठमाडौं, ललितपुर महानगरलगायत सुगम र तुलनात्मक रुपमा शान्ति–सुरक्षा भएको ठाउँमा जाने छैन। दुर्गम, मतदान केन्द्र कब्जा हुने स्थिति भएका र जोखिमपूर्ण ठाउँलाई समेट्ने गरी टोली खटाइन लागेको हो। घुम्ती टोलीलाई मतगणना सम्पन्न गरेर मात्रै फर्किन भनिएको आयोगले बताएको छ।