काठमाडौं– निर्वाचन आयोगले आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि मतदाता शिक्षा कार्यक्रमलाई प्राथमिकतामा राखेको बताएको छ। मतदान प्रक्रियाबारे शिक्षा दिन, मतदाता संंख्या बढाउन, मत बदरको संख्या कम गर्न आयोगले मतदाता शिक्षा कार्यक्रमलाई प्राथमिकतामा राखेको हो।
आयोगले मतदाता शिक्षा कार्यक्रमका लागि मात्रै ५० करोड बजेट छुट्याएको छ। मतदाता शिक्षाका लागि आयोगले यस पटक वडा र पालिकास्तरबाटै कार्यक्रम सञ्चालन गरिरहेको छ। वडास्तर, इलेक्ट्रोनिक माध्यम, आमसञ्चार, सामाजिक सन्जालबाट मतदाता शिक्षा कार्यक्रम गर्ने, नमुना मतदान गर्ने, कन्सर्ट गर्नेलगायत काम गरिरहेको छ। मतदाता शिक्षालाई प्रभावकारी बनाउन आयोगले सञ्चार माध्यम र सामाजिक सन्जाललाई प्रयोग गरेको छ।
विभिन्न भाषामा सामग्री उत्पादन गरेर सञ्चार माध्यम र सामाजिक सन्जालबाट प्रचार–प्रसार गर्न थालिएको छ भने सन्देशमूलक अडियो, भिडियो, लघु चलचित्रजस्ता सामग्री बनाएर रेडियो, टेलिभिजन र सामाजिक सन्जालबाट प्रसारण गरिरहेको छ।
धेरै मतदाता सहभागी गराउने र १ प्रतिशतभन्दा कम संख्यामा बदर मत झार्ने उद्देश्यसहित अयोगले काम गरिरहेको हो।
सात वटै प्रदेशमा कन्सर्ट
आयोगले मतदाता शिक्षाका लागि ठूलो बजेट छुट्याएको छ। आयोगले ‘निर्वाचन एक्सप्रेस’ भन्दै सात वटै प्रदेशमा कन्सर्ट गरिरहेको छ। हालसम्म ६ वटा प्रदेशमा कन्सर्ट गरिसकेको छ। बुधबार मधेस प्रदेशमा कार्यक्रम गर्दै छ।
कन्सर्टका लागि आयोगले २८ लाख बजेट छुट्याएको छ। कन्सर्टमा जितु नेपाल, मिलन नेवार, राजनराज शिवाकोटीलगायत मुख्य कलाकार सहभागी हुनेछन्। आयोग अधिकारीका अनुसार एउटा कन्सर्टका लागि ४ लाख बजेट छुट्याइएको छ। तर मतदाता शिक्षाको नाममा भएको कन्सर्टलाई लिएर आयोगका कर्मचारीसमेत सन्तुष्ट छैनन्।
कन्सर्टमा कलाकारले मतदाता शिक्षा सम्बन्धि गीत, सन्देशभन्दा आफ्नै गीत गाउने गर्छन्। आयोगका एक अधिकारी भन्छन्, ‘कन्सर्टमा मतदाता शिक्षासम्बन्धी गीत–संगीत समावेश गरेको देखिएको छैन। कलाकारहरू आफ्ना गीत गाएर कन्सर्ट गरिरहेका छन्। यो रमाइलो र बजेट सक्नका लागि मात्रै कन्सर्ट गरेजस्तो देखियो।’
कार्यक्रममा सहभागी कलाकारले सामाजिक सन्जालमा मतदाता शिक्षाभन्दा आफूले गाएका गीतलाई नै प्रचार गरिरहेका छन्।
‘एकातिर मतदाता शिक्षाका लागि छापिएका नमुना मतपत्र ठूलो संख्यामा आयोगमै थन्क्याइएको छ भने अर्कातिर मतदाता शिक्षाका लागि कन्सर्ट गर्दै हिँडेको छ’, आयोगका एक अधिकारी भन्छन्, ‘नमुना मतका लागि छापिएका ४ लाख मतपत्र आयोगमै थन्किएका छन्। कतिपय ठाउँमा अझै नमुना मतपत्र नपुगेको गुनासो आइरहेको छ।’ आयोगले कन्सर्टको ठाउँमा नमुना मतलाई नै प्राथमिकता दिएको भए राम्रो हुने उनको भनाइ छ।
निर्वाचन आयोगले नागरिकमा मतदान प्रक्रियाबारे शिक्षा दिन, मतदाता संंख्या बढाउन, मत बदरको संख्या कम गर्न मतदाता शिक्षा कार्यक्रममा ठूलो बजेट खर्चिए पनि भुइँतहका नागरिकसम्म मतदाता शिक्षा कार्यक्रम पुग्न नसकेको गुनासा सुनिँदै आएका छन्।
कन्सर्टबाट कस्तो मतदाता शिक्षा दिइन्छ भन्ने प्रश्नमा आयोगका सह–प्रवक्ता सूर्य अर्याल भन्छन्, ‘कन्सर्टमा ठूलो संख्यामा युवा पुस्ताको सहभागिता रहन्छ। मतदान गर्दिनँ भन्ने मानसिकतामा रहेका युवालाई मतदाता शिक्षाका लागि उत्प्रेरित गरिन्छ। कन्सर्टबाट मतदानका लागि जागरुक बनाइन्छ। कलाकारले मतदाता शिक्षाका विषयमा जानकारी गराएका छन्।’
निर्वाचनको असल वातावरण निर्माण गर्न, मतदातालाई सुसूचित गरी जनसहभागिता अभिवृद्धिमा जोड दिन यो कार्यक्रम गर्न लागिएको हो। ‘सेलिब्रिटी कलाकारले भनेपछि मतदाताले विश्वास गर्ने भएकाले पनि यस्तो खाले कार्यक्रम राखिएको हो। कन्सर्टमा युवा पुस्ता बढी सहभागी हुने र तिनलाई जागरुक गराउन कन्सर्ट गरिएको हो। सबै मतदातालाई समेट्न निर्वाचन एक्सप्रेस आयोेजना गरिएको हो’, सहायक प्रवक्ता अर्याल भन्छन्।
आयोगले नमुना मतदानका लागि २२ लाख नमुना मतपत्र छापेको छ। यीमध्ये १८ लाख मतदाता शिक्षाका लागि विभिन्न जिल्ला पठाइएको छ भने बाँकी मतपत्र आयोगमै थन्किएको छ। आयोगका एक कर्मचारीका अनुसार विकट ठाउँमा अझै मतपत्र नपुगेको गुनासो सुनिएको छ।
आयोगका सह–प्रवक्ता अर्यालका अनुसार सबै जिल्लामा नमुना मतपत्र पुगेको छ। केही मतपत्र आयोगमै आवश्यक पर्ने भएकाले यहीँ राखिएको हो। अर्याल भन्छन्, ‘बाँकी रहेका मतपत्र आयोगमा केही पछिसम्म आवश्यक पर्छ। त्यसैले राखिएको हो।’ आयोगमा करिब डेढ लाख मतपत्र बाँकी रहेको उनले बताए। सबै पालिकामा पठाउनुपर्ने मतपत्र पठाइसकिएको र आवश्यक पर्ने मतपत्रभन्दा केही नमुना मतपत्र बढी छापिएको उनको भनाइ छ।
तर निर्वाचनपछि त्यहाँ राखिएका नमुना मतपत्र काम नलाग्ने आयोगका अधिकारीहरू नै बताउँछन्। त्यसो त, मतदाता शिक्षाका नाममा आयोगले गरेका केही कार्यक्रम तथा निर्णय विवादित बनिरहेका छन्। आयोगले गरेका यस्ता विवादित कार्यप्रति पूर्वआयुक्तहरू पनि सन्तुष्ट छैनन्। पूर्वआयुक्त भोजराज पोखरेल आयोगले गरेका निर्णय विवादित हुँदा आयोगको कार्यप्रति विश्वास कम हुँदै जाने बताउँछन्।
यस्तै, नेपाल टेलिकमका फोन डायल गर्दा चुनावसम्बन्धी बज्ने टोन पनि शुद्ध नभएपछि विवादित बनेको छ। आयोगले मतदाता शिक्षाका लागि निर्माण गरेको एउटा भिडियोलाई साढे २ लाखसम्म खर्च गरेको आयोगका अधिकारी बताउँछन्।
अर्याल भन्छन्, ‘मतदाता शिक्षासम्बन्धी निर्माण गरिएका केही सामग्रीमा गुनासा आएका छन्। तर ती गुनासालाई आयोगले सकेसम्म सम्बोधन गर्ने प्रयास गरेको छ। गुनासा आए पनि आयोगले गलत शिक्षा दियो भनेर गुनासो सुन्नुपरेको छैन। कुनै सामग्री कमसल बनेकाले गुनासो आएको छ। कुनै सामग्री केही व्यक्तिलाई मन परेन भनेर गुनासो आएको छ। तर आयोगले सकेसम्म धेरै गुनासा सम्बोधन गर्ने प्रयास गरेको छ। गुणस्तरका विषयमा गुनासा आए पनि आयोगले गलत शिक्षा दिने सामग्री प्रसारण गरेको छैन।’