काठमाडौं- ‘तपाईं बढ्ता बोल्दै हुनुहुन्छ’ भन्ने नेता चाहिएको छ कि भविष्यको योजनामा काम गर्ने जोश र जाँगर भएको सक्षम युवा?’
चलचित्र निर्देशक निश्चल बस्नेतले सामाजिक सन्जालमा लेखेको स्टाटस हो, यो। उनले सामाजिक सन्जालमा लेखेको अर्को स्टाटस यस्तो छ, ‘डडेल्धुराबाट सागर ढकाल विकल्प छ यसपालि। सोचेर मतदान गर्न अनुरोध।’
निर्देशक बस्नेतले सागरजस्ता थुप्रै स्वतन्त्र उम्मेदवारलाई मत मागिरहेका छन् भने सहकर्मी कलाकारले स्वतन्त्रको साथ र समर्थनका लागि खुलेर देखापरेका छन्। डडेल्धुराबाट प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवालाई टक्कर दिन चुनावी मैदानमा उत्रिएका सागर ढकालजस्ता स्वतन्त्र उम्मदेवारलाई जिताउन सामाजिक सन्जालबाट थुप्रै कलाकारले भोट मागेका छन्।
४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मिति जतिजति नजिकिँदो छ, कलाकारहरूले नयाँ अनुहार र स्वतन्त्रका लागि खुलेर भोट माग्न थालेका छन्।
केही राजनीतिक विश्लेषकबाट स्वतन्त्र उम्मेदवारले संघ तथा प्रदेशमा चुनाव जित्न सक्दैनन् भन्ने विश्लेषण चलिरहेका बेला कलाकार भने एकोहोरो प्रेममा परेझैं स्वतन्त्रलाई भोट माग्न निमग्न छन्। ठूला पार्टीका पुराना उम्मेदवारको कमजोरी केलाउँदै स्वतन्त्र उम्मेदवार र नयाँ अनुहारलाई साथ र समर्थनमा खुलेका छन्। स्वतन्त्रले ठूला दल र पुराना नेताको संगठन र प्रभावलाई हल्याउन सक्लान्-नसक्लान्, त्यो अर्कै पाटो भयो। तर कलाकारले स्वतन्त्रप्रति देखाएको आशक्ति भने नयाँ र नौलो छ। स्वतन्त्रप्रति यतिविघ्न आशक्ति हुनु स्थानीय तह चुनावको प्रभाव पनि हुन सक्छ।
स्थानीय तह चुनावको प्रभाव
गत स्थानीय तह चुनावमा काठमाडौं महानगरको मेयरमा र्यापर बालेन्द्र साह ‘बालेन’ स्वतन्त्रबाट अत्यधिक मतका साथ विजयी भए। ठूला दलका उम्मेदवारहरूलाई पछाडि पार्दै लोभलाग्दो जित हासिल गरे। उनको जितलाई देखेर सबै क्षेत्रमा मानिस मात्रै आकर्षित भएनन्, स्वतन्त्र उम्मेदवारको आकर्षणको परिणाम चौगुणा बढ्यो।
तत्कालीन काठमाडौं नगरपालिकाका लागि २००४ को पहिलो चुनाव (दलका उम्मेदवार थिएनन्) मा २१ जना स्वतन्त्र उम्मेदवार थिए। त्यसको ठीक ७४ वर्षपछि अर्थात् २०७९ वैशाखमा स्वतन्त्र उम्मेदवारको क्रेज काठमाडौं महानगरका मेयर बालेन, धरान उपमहानगरका मेयर हर्क साम्पाङ र धनगढी उपमहानगरका गोपी हमालले फर्काइदिए।
व्यवसायी हमाललाई व्यापारीको साथ र समर्थन थियो भने साह र साङपाङलाई कलाकारको। कलाकारले बालेनका लागि खुलेरै ‘बालेन जिताऔं’ नै चलाए।
३० वैशाखको स्थानीय तह चुनावमा देशभर १३ जना स्वतन्त्र उम्मेदवारले पालिका प्रमुखमा जित निकालेका थिए। निर्वाचन आयोगका अनुसार ४ मंसिरको संघीय चुनावका लागि देशभरबाट ८६७ जनाले स्वतन्त्र उम्मेदवार दिएका छन्।
यस्तै, १ हजार २७८ जनाले प्रदेशसभा छिर्ने उद्देश्यले स्वतन्त्र उम्मेदवार दिएका छन्। दर्जन बढी कलाकारले पनि स्वतन्त्र उम्मेदवारी दिएका छन्।
स्थानीय तहजस्तै ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा पनि स्वतन्त्रकै क्रेज छायो। यसलाई निरन्तरता दिन सबैभन्दा बढी कलाकार लागेको देखिन्छ।
चुनावी गीत–संगीत र नाराले सडकपेटीदेखि घरदैलोसम्म गुन्जायमान भइरहेका कलाकार सम्भावना बोकेका नयाँ युवा अनुहार र स्वतन्त्रलाई साथ र समर्थन देखाउँदै खुलेर भोट माग्न थालेका छन्। यतिविघ्न आशक्ति बढ्नुको कारण बालेन, साङपाङजस्तो मेयरको निरन्तरता ठान्छन्, चलचित्र निर्देशक केपी पाठक। उनी भन्छन्, ‘स्वतन्त्रप्रतिको आशक्ति स्थानीय चुनावको प्रभाव हो र त्यसैको सिलसिला ४ मंसिरको चुनावमा देखिएको छ।’
दलका नेताले हरेक पटक चुनावमा मीठा कुरा गर्ने, ठूला सपना बाँड्ने तर काम भने सिन्कोसमेत नभाँच्ने परिपाटीबाट वाक्कदिक्क भएका मतदातालाई इमानदार र स्वतन्त्र उम्मेदवारको खोजी गर्ने मेलोमा ४ मंसिरको चुनावले पनि निरन्तरता पायो। नयाँ अनुहारका युवा नेतृत्व अझ कलाकारले बढी खोजेको महसुस गरेको नकार्न सकिँदैन। स्वतन्त्र उम्मेदवारले पनि राम्रो काम गर्न सक्छन् भन्ने विकल्प खोजिएको बताउँछन्, पाठक।
‘कलाकारलाई स्थानीय तह चुनावको गहिरो प्रभाव परेको छ’, पाठक भन्छन्, ‘बालेन, हर्क र गोपी हमालहरूजस्ता स्वतन्त्र उम्मेदवारको जितप्रति कलाकार हौसिएका छन्।’
तर उनी स्वतन्त्र उम्मेदवारले मेयर पद जितेर नगर चलाउन खोजेजस्तो सजिलो देख्दैनन् संघ र प्रदेशको निर्वाचन। पाठक भन्छन्, ‘संघ र प्रदेशको निर्वाचनमा स्वतन्त्रप्रतिको आशक्ति देखिनु भनेको व्यवस्था नबुझ्नु पनि हो।’
यदि प्रतिनिधिसभा र प्रदेशसभा सदस्यमा स्वतन्त्र उम्मेदवारले एकाध सिट ल्याए पनि तिनको उपस्थिति नगन्यजस्तै हुने उनको बुझाइ छ। प्रतिनिधिसभा र प्रदेशसभा सदस्यमा पनि स्वतन्त्रप्रति कलाकार आशक्त हुनु भनेको सैंविधानिक व्यवस्था नबुझेका हुन् कि भन्ने लाग्छ, पाठकलाई।
व्यवस्था नबुझेका हुन सक्छन्
एक्लो मान्छेले केही गर्न सक्छ भन्ने बुझाइ समाजमा छ। सैंवधानिक व्यवस्थाअनुसार कुल २७५ प्रतिनिधिसभा सदस्यमा बहुमतका लागि १३८ सिट आवश्यक पर्छ। यो अवस्थामा एक स्वतन्त्र उम्मेदवारले जितेर आफ्ना कुरा कति नै राख्न पाउलान्? संवैधानिक व्यवस्था नबुझेकै कारण स्वतन्त्र उम्मदेवारलाई मत मागिरहेका हुन कलाकारले?
निर्देशक पाठकका अनुसार स्थानीय तह चुनावमा उठेका स्वतन्त्र उम्मेदवारजस्तो प्रतिनिधिसभा र प्रदेशसभामा उठेका उम्मेदवारको तुलनै हुन सक्दैन। उनी भन्छन्, ‘संसद् नीति नियम र कानुन बनाउने थलो भएकाले स्वतन्त्र उम्मेदवारले भनेजति बोल्न पाउँदैनन्। यदि बहुमतको सरकार भइदियो भने झनै गाह्रो हुन्छ।’
तर राजनीतिक विश्लेषक हीरा विश्वकर्मा आगामी निर्वाचनमा बहुमतको सरकार हुँदैन भन्ने दाबी गर्छन् । बहुमत कुनै पनि पार्टीले नल्याउने भएपछि संयुक्त सरकार बन्ने अनुमान सुनाउँछन्, विश्वकर्मा ।
‘समानुपातिक पनि भएको हुँदा ठूला भनिएका पार्टीले बहुमत ल्याउन गाह्रो छ। यसभन्दा पहिलाको ओली सरकार हेरियो भने पनि त्यहाँ माओवादी र एमालेको संयुक्त सरकार बनेको थियो। त्यसैले अहिले पनि संयुक्त सरकार बन्ने सम्भावना देख्छु म’, उनी भन्छन् ‘संयुक्त सरकार भयो भने स्वतन्त्रबाट जितेकाहरू पनि मन्त्रिमण्डलमा पुग्ने सम्भावना रहन्छ। भाग पुग्न सक्छ। सांसद भए पनि मूलधारे पार्टी नेतालाई जस्तै स्वतन्त्रबाट जितेकाले पनि संसद्मा जनताका कुरा राख्ने पाउने अधिकार छ। त्यो अवसर पाउने भए।’
कम्तीमा प्रतिनिधिसभा पुगे भने आफ्ना कुरा राख्न पाइन्छ भन्ने अवसरलाई बुझेका कलाकारले स्वतन्त्रलाई जिताउन खोजेका हुन सक्ने उनको विश्लेषण छ।
‘संसदीय अभ्यासअनुसार संसद्मा आफ्ना कुरा जबसम्म सुनुवाइ हुँदैन, तबसम्म रोस्ट्रममै गएर उभिएपछि संसद् अवरुद्ध हुन सक्छ। त्यो हैसियत एक्लो प्रतिनिधिले पनि राख्न सक्छ। यसले गर्दा आफ्नो कुरा राख्न पाउने अधिकार सुनिश्चित हुन्छ’, विश्वकर्मा भन्छन्, ‘ठूलो पार्टीका सांसदले तीन मिनेट बढी बोल्न पाउँदैनन् तर स्वतन्त्रबाट सांसद भएकाले ५ देखि ७ मिनेटसम्म बोल्न पाउने अधिकार सुनिश्चित छ।’
सडकपेटीदेखि घरदैलोसम्म घन्किइरहेका चुनावी गीत–संगीत र नारामा नयाँ युवा अनुहार र स्वतन्त्रलाई साथ र समर्थन देखाउँदै खुलेर भोट मागिरहेका छन् कलाकार।
२०१५ को पहिलो संसदीय चुनावदेखि नै राजनीतिक दल र स्वतन्त्र उम्मेदवार आमनेसामने भइरहेका छन्। हरेक संसदीय चुनावमा सयौंको संख्यामा स्वतन्त्र उम्मेदवार खडा हुन्छन्। उम्मेदवारीको तुलनामा संसद्मा स्वतन्त्रको प्रतिनिधित्व भने नगन्य हुन्छ।
तर विश्लेषक विश्वकर्मा प्रतिनिधिसभा सदस्य एक जनाको आवाज पनि चर्को हुने ठान्छन्।
२०७४ को प्रतिनिधिसभा निर्वाचनमा ४९२ जनाले स्वतन्त्र उम्मेदवारी दिएकामा हुम्लाका छक्कबहादुर लामा मात्र निर्वाचित भए। उनले संसद्मा आफ्ना कुरा राख्न सके।
सांसदले जनताका लागि बोलेका छन् भन्ने सामाजिक सन्जाल र मिडियाले लेखिरहने हुँदा स्वतन्त्र प्रतिनिधि पनि बलियो भएर आउन सक्ने विश्वकर्मा बताउँछन्। उनी भन्छन्, ‘केही न केही आधार निर्माण हुने र नयाँले पुरानालाई ‘रिप्लेस’ गर्ने अवसर पाइने हुँदा स्वतन्त्र उम्मेदवारप्रति कलाकार आशक्त भएका हुन सक्छन्।’ विश्लेषक विश्वकर्मा कलाकार स्वतन्त्रप्रति आशक्त हुनुमा विद्रोही चेत ठान्छन्।
विद्रोही चेत हुन सक्छ
नेपाली गीत–संगीत र फिल्म क्षेत्रका कलाकारको ठूलो हिस्सा खास राजनीतिकमा संलग्न रहेको नौलो होइन। तर पछिल्लो छिमलका कलाकार भने मन परेका उम्मेदवार अथवा स्वतन्त्र उम्मेदवारलाई साथ र समर्थन देखाउँदै भोट मागिरहेका छन्। यस्तो हुनु भनेको सर्जक तथा कलाकारमा विद्रोही चेत देखिनु पनि हो।
पछिल्लो समय धेरैलाई ठूला पार्टीका पुराना नेतासँग वितृष्णा छ। यस्तो अवस्थामा कलाकारले नयाँ अनुहार र युवालाई आफ्नो रोजाइमा राखेका छन्। पाठकका अनुसार कलाकारको विद्रोही चेत राजनीतिमा देखिएको हो। उनी भन्छन्, ‘लामो समयदेखिको असन्तुष्टिबाट जन्मिएको विद्रोही चेतले कलाकारले युवा तथा स्वतन्त्र उम्मेदवारका पक्षमा उभिएका हुन्।’
चर्चित अभिनेत्री रेखा थापाका लागि कलाकारले खुलेर भोट नमाग्नुका कारण पार्टीसँग गरेको विद्रोह चेत ठान्छन्, विश्लेषक विश्वकर्मा।
स्वतन्त्रहरूले के खोजेका हुन् भन्ने बुझाउन सकेनन् भन्ने छ, कतिपय कलाकारलाई। तर स्वतन्त्रले नेता र दलहरूप्रति जनतामा रहेको आक्रोशलाई क्याच गर्न खोजेको सत्य हो। यही आक्रोशमा कलाकारले आफ्नो विद्रोही चेत मिसाएझैं लाग्छ, उनलाई।
‘पश्चगामीतर्फ लागिरहेको पार्टीले नयाँ कुरा गर्छ भनेर पत्याउन गाह्रो भएकाले रेखालाई कलाकारले भोट मागेनन्’, विश्वकर्मा भन्छन्, ‘राप्रपा राजसंस्थाको संरक्षण गर्ने पार्टी हो। त्यसैले रेखाका लागि भोट मागेनन्। यदि स्वतन्त्र उठ्थिन भने कलाकारको ठूलो जमात उनका पछाडि हुन्थ्यो। तर नयाँ पार्टीबाट देखिएका जुझारु युवालाई भने कलाकारले भोट मागेका छन्। यसको उदाहरण सोभिता गौतम नै हुन्।’
कलाकार स्वतन्त्रप्रतिको आशक्तिसँगै जुझारु युवा अनुहारप्रति पनि लोभिएको देख्न सकिन्छ। यसो हुनु कलाकारमा आएको परिवर्तन ठान्छन्, विश्वकर्मा ।
स्वतन्त्रप्रतिको आशक्ति देखिनु राजनीतिक चेत आउनु पनि हो। कलाकार मासको भोको हुन्छ। आफ्ना सेलिब्रिटीपनलाई मासमा प्रदर्शन गरिरहन चाहन्छन् र त्यसको सदुपयोग गर्दै राजनीतिक यात्रा तय गरेका उदाहरण प्रशस्त छन्।
‘कलाकार समयअनुसार परिवर्तनशील हुन्छन्। राजनीतिक माहोल बनाउन पनि चाहन्छन्। स्वतन्त्रप्रतिको आशक्ति राजनीतिज्ञप्रतिको वितृष्णा पनि हो’, पाठकले भने।