काठमाडौं- २०६४ मा ८७ सिट जितेर राष्ट्रिय राजनीतिमा ठूलो तरंग ल्याएका मधेस केन्द्रित दल चोइटिँदै, टुक्रिँदै संकटापन्न अवस्थामा पुगेका छन्। त्यसताका केन्द्रीय राजनीतिमा ठूलो प्रभाव पारेका मधेसी जनअधिकार फोरम, तराई मधेस लोकतान्त्रिक पार्टी, सद्भावना पार्टी र नेपाल सद्भावना पार्टी २०७० सम्म पटक–पटक फुटे र १२ सिटमा सीमित भए।
२०७२ मा भारतले लगाएको नाकाबन्दी तथा फोरम र राजपाको चुनावी तालमेलले मधेसवादी दल केही जुर्मुराए। उक्त समय तत्कालीन राजपा १५ र संघीय समाजवादी फोरम १७ सिटमा लडेकोमा राजपाले १० तथा फोरमले ९ सिट जितेको थियो। त्यसपछि पुनः टुटफुटका कारण ४ मंसिरको आमनिर्वाचनपछि मधेसको राजनीतिक रूपरेखा बदलिने देखिन्छ।
हुन त, मधेसवादी दलको सत्तालिप्ता पुरानै हो। २००७ को आन्दोलनले राणा शासन अन्त्य गरेसँगै मधेसवादी दल नेपाल तराई कांग्रेस अस्तित्वमा आएको थियो। मधेसका मुद्दा सघन रूपमा उठाएर उदाएका वेदानन्द झा २०१५ को आमनिर्वाचनमा २ ठाउँबाट पराजित भए। त्यसपछि मधेसका मुद्दा छाडेर राजा महेन्द्रको कृपादानमा रमाएको भन्दै उनको आजपर्यन्त आलोचना हुने गरेको छ। त्यसपछि चोटबाट चुटिँदै आएको मधेसमा २०४० पछि मात्रै राजनीतिक गतिविधि देखिए।
२०४७ मा गजेन्द्रनारायण सिंहको नेतृत्वमा स्थापित नेपाल सद्भावना पार्टी दलगत रूपमा उदायो। सिंहको शेषपछि कार्यवाहक अध्यक्ष बनेका बद्री मण्डलले मधेस मुद्दालाई किनारा लगाएर दरबारबाट मन्त्री थापे।
त्यसयता धेरै पटकको टुटफुटसँगै २०६२/६३ को जनआन्दोलन र त्यसपछि सुरु भएको मधेस आन्दोलनपपछि मात्रै मधेसवादी दल केन्द्रीय राजनीतिमा उदाए। मधेस आन्दोलनले राष्ट्रिय राजनीतिमा तरंग ल्याएका कारण मधेसलाई धरोहर बनाएर राजनीति गरिरहेका कांग्रेस, एमालेलगायतका नेताहरूसमेत मधेस केन्द्रित दलमा लागे। तर मधेसको मुद्दामा एकाकार भए पनि राजनीतिक रूपमा एक हुन सकेनन्।
उपेन्द्र यादव नेतृत्वको मधेसी जनअधिकार फोरम एउटा ध्रुवमा देखियो भने मधेस आन्दोलन सफल भएपछि कांग्रेस छाडेर आएका महन्थ ठाकुर, शरतसिंह भण्डारीहरूले तराई मधेस लोकतान्त्रिक पार्टी गठन गरे। कांग्रेस पृष्ठभूमिका विजय गच्छदार र जयप्रकाशप्रसाद गुप्ता भने मधेसी जनअधिकार फोरममा समाहित भए।
यी दुई दलका अतिरिक्त २०४७ मा गजेन्द्रनारायण सिंहले स्थापना गरेको सद्भावना पनि राजनीतिमा क्रियाशीलै थियो।
यति मात्र होइन, मधेस मुद्दामा एकाकार भएका यी नेताहरूको राजनीतिक पृष्ठभूमि र ‘स्कुलिङ’ बाट मधेसवादी दलमा पुगेका नेताहरू एकै ठाउँ रहन सकेनन्। यी दुई दल मात्र होइन, सद्भावना पनि गुटमा विभाजित भएर चोइटिँदै अहिलेको अवस्थामा पुगेको छ।
सत्तालिप्ता र मधेस केन्द्रित दल जमिनदारको कब्जामा रहेका कारण अन्ततः मधेसका चोटपटकमा मल्हमपट्टी नलगाई पुरानै ठूला दलको छत्रछायामा मिसिन पुगेका छन्। २०७४ मा एकै मोर्चाबाट चुनावी मैदानमा होमिएका संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टीबीचमा शक्ति आर्जनका लागि केहि समय एक भएर जनता समाजवादी पार्टी निर्माण भयो। तर संसद्को एक कार्यकाल पनि सँगै रहन सकेनन्। जसपामा रहेका तीन ध्रुवका नेता महन्थ, राजेन्द्र, शरतसिंहहरूले लोसपा गठन गरे। जसपामै रहेका बाबुराम भट्टराई र महेन्द्र राय यादवले नेसपा गठन गरे। अन्ततः २०७९ को चुनावमा यी दलहरू कांग्रेसले नेतृत्व गरेको गठबन्धन र नेकपा एमालेले नेतृत्व गरेको अर्को गठबन्धनमा टाँसिएका छन्। मधेस आन्दोलनबाट केन्द्रीय राजनीतिमा स्थापित उपेन्द्र यादव नेतृत्वको जसपाले नेकपा एमालेसँग गठबन्धन गरेको छ भने लोसपा सत्ता गठबन्धनसँग छ।
जसपाले एमालेबाट संघमा १७ र लोसपाले गठबन्धनबाट ७ क्षेत्र पाएको छ। फलस्वरुप मधेसमा २०७४ को भन्दा फरक परिणाम देखिने आकलन विश्लेषकहरूको छ।