काठमाडौं- काठमाडौंको चक्रपथमा मोनोरेल सञ्चालनको लागि चीनको कम्पनी सीआरसीसीसँग काठमाडौं र ललितपुर महानगरपालिकाबीच सहमति भएको छ।
केही महिनाअघि जेठ ११ गते नै काठमाडौं र ललितपुर महानगरपालिकाले उक्त चिनियाँ कम्पनीसँग प्रारम्भिक अध्ययनका लागि सम्झौता गरिएको थियो।
सम्झौता अनुरुप कम्पनीले तीन प्रारम्भिक अध्ययन सकेर प्रतिवेदन बुझाइसकेको सो आयोजनाका नेपालका निर्देशक इन्जिनियर नवीन पोखरेलले बताए। ती दुई महानगरपालिकाले प्राप्त प्रारम्भिक अध्ययन प्रतिवदेन सरोकारवालाहरुसँग छलफल गर्ने जनाएको छ। विस्तृत छलफपछि आगामि एक महिनामा सीआरसीसीलाई आवश्यक पूर्वाधारसहित मोनोरेल सञ्चालनको लागि विस्तृत परियोजना प्रतिवेदन(डीपीआर) बनाउन स्वीकृति दिने तयारी भइरहेको छ।
‘स्वीकृति पाएपछि ६ महिनाभित्र डीपीआर तयार गर्ने प्रक्रियाको अगाडि बढ्न सकिनेछ,’ मोनोरेल सम्बन्धी बिहीबार काठमाडौंमा कम्पनीले तयार गरेको प्रतिवेदन महानगरपालिकाहरुलाई बुझाउने क्रममा ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले भने।
कम्पनीकाअनुसार प्रारम्भिक अध्ययनले काठमाडौंमा मोनोरेल सञ्चालनको लागि भौगर्भिक, वातावरणीय, प्राविधिक तथा आर्थिक दृष्टिकोणले सम्भव छ ।
अध्ययनअनुसार मोनोरेल सञ्चालनको लागि एक खर्ब १६ अर्ब रुपैयाँ लागत लाग्नेछ। करिब पाँच वर्षसम्ममा सम्पूर्ण प्राविधिक हिसाबले मोनोरेल सञ्चालनको काम पुरा गर्न सम्भव छ । उक्त परियोजना इपीसीएफ मोडलमा गरिनेछ।
काठमाडौंको कुल २७.५ किलोमिटर चक्रपथको सडकमा मोनोरेल सञ्चालन गरिने तयारी छ। पहिलो चरणमा कोटेश्वर-कलङ्की, कलंकी-महाराजगञ्ज, महाराजगन्ज–कोटेश्जवर गरी तीन खण्डमा मोनोरेल सञ्चालनको लागि तयारी गरिएको हो। काठमाडौंको चक्रपथमा निर्माण गरिने सो मोनोरेल सञ्चालनका लागि २१ स्थानमा यात्रु चढाउने र ओराल्ने स्टेशन राखिने छ।
गौशाला–चावहिल सडक खण्डमा समेत मोनोरेलको लागि पूर्वाधार निर्माण गर्न सकिने काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्द शाक्यको भानाइ छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४