काठमाडौं– आगामी मंसिर ४ मा हुन प्रतिनिधिसभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारहरुले सामाजिक सञ्जाललाई प्रचारको माध्यम बनाएका छन्।
निर्वाचन आयोगले सामाजिक सञ्जालबाट गरिने विज्ञापनको खर्चबारे उम्मेदवारले निर्वाचन सम्पन्न भएपछि कानुनबमोजिम पेस गर्ने निर्वाचन खर्च विवरणमा समावेश गर्न राजनीतिक दल र उम्मेदवारलाई आग्रह गरेको छ।
उम्मेदवारहरुले मनोनयनपत्र दर्ता कार्यक्रम सम्पन्न भएसँगै विभिन्न राजनीतिक दल र उम्मेदवारहरूबाट सामाजिक सञ्जालको समेत प्रयोग गरी प्रचारप्रसार र विज्ञापन गर्न थालेका हुन्। मेटाले नेपालमा ७ सेप्टेम्बरबाट पोलिटिकल एड ट्रान्सपरेन्सी टुल सुरु गरेसँगै दलका उम्मेदवार तथा स्वतन्त्र उम्मेदवारहरुले सामाजिक सञ्जाल फेसबुकलाई प्रचारको माध्यम बनाएका छन्।
आयोगले प्रतिनिधिसभा र प्रदेश सभा सदस्य निर्वाचन २०७९ का लागि आयोगले राजनीतिक दल र उम्मेदवारले गर्न पाउने निर्वाचन खर्चको हद निर्धारण गरिसकेको छ। पोलिटिकल एड ट्रन्परेन्सी टुलबाट कुन उम्मेदवार वा दलले कति सामग्रीहहरु कति डलरमा प्रचार गरेका छन् भन्ने हेर्न सकिन्छ।
निर्वाचन आचारसंहिता २०७९ को दफा १६ मा राजनीतिक दल तथा उम्मेदवारले निर्वाचन खर्चसम्बन्धी पालना गर्नुपर्ने आचरणहरूको व्यवस्था गरिएको छ। उक्त व्यवस्था अनुसार प्रत्यक्षतर्फ प्रतिनिधिसभाको एक उम्मेदवारले २५ देखि ३३ लाख र प्रदेशसभामा १५ देखि २३ लाख खर्च गर्न पाउनेछन्। त्यस्तै प्रतिनिधिसभाको समानुपातिकतर्फ बन्दसूचीमा रहेको एक उम्मेदवारले २ लाख खर्च गर्न पाउनेछन्। बन्दसूचीमा रहेका कुल उम्मेदवारका लागि पार्टीले दुई लाखका दरले खर्च गर्न पाउनेछ।
त्यस्तै प्रदेशसभाको समानुपातिकतर्फ आयोगले बन्दसूचीमा रहेको एक उम्मेदवारले १ लाख ५० हजार खर्च गर्न पाउनेछन्। पार्टीले प्रतिनिधिसभा र प्रदेशसभा गरेर जम्मा ५ करोड ५० लाखसम्म खर्च गर्न पाउने निर्वाचन आयोगले जनाएको छ। आयोगका अनुसार सो खर्चभित्र सामाजिक सञ्जालमा गरिएको खर्च पनि समावेश हुनेछ।
हालसम्म कसले कति खर्च गरे?
मेटाको तथ्याँक अनुसार हालसम्म राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारले प्रचारप्रसारका लागि कुल ६७ हजार ३६ डलर अर्थात ८६ लाख ४७ हजार ६६४ नेपाली रुपैंया खर्च गरेका छन्। सामाजिक सञ्जाल फेसबुक प्रयोग गरेर प्रचार गर्नेहरुमा सबैभन्दा धेरै स्वतन्त्र उम्मेदवारहरु रहेका छन्। हालसम्म सबैभन्दा धेरै सामाजिक सञ्जालमा खर्च गर्नेमा काठमाडौं ५ मा स्वतन्त्रबाट उम्मेदवारी दिएका श्री गुरुङ रहेका छन्। उनले २१ वटा सामग्रीका लागि ३ हजार १२५ डलर खर्च गरेका छन्। त्यस्तै भोजपुरका प्रतिनीधि सभा सदस्यका उम्मेदवार डा. सुरेस बस्नेतले ३७ वटा प्रचार सामग्रीको लागि २ हजार २११ डलर खर्च गरेका छन्। काठमाडौं–५ कै स्वतन्त्र उम्मेदवार सुशान्त श्रेष्ठले १०० वटा सामग्री प्रवर्धन गर्न १ हजार ९९४ डलर खर्च गरेका छन्। त्यस्तै काठमाडौं क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार किरण पौडेलले ६१ वटा प्रवर्धन सामग्रीका लागि १ हजार ३६५ डलर खर्च गरेका छन्। त्यस्तै नेकपा एसका प्रतिनीधि सभा सदस्यका लागि पाल्पा क्षेत्र नम्बर २ का सोमप्रसाद पाण्डेले १८ वटा प्रचार सामग्रीको लागि १ हजार २ सय ३१ डलर खर्च गरेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका काठमाडौं क्षेत्रनम्बर ७ का उम्मेदवार गणेश पराजुलीले २९ वटा निर्वाचन सामग्रीका लागि १ हजार ३२ डलर खर्च गरेका छन्। काठमाडौँ क्षेत्र नं. २ का प्रतिनिधिसभा स्वतन्त्र उमेद्वार अनुप बोहराले ३६ वटा प्रचार सामग्रीको लागि ८२९ डलर खर्च गरेका छन्।
त्यस्तै सप्तरी क्षेत्र नम्बर २ बाट प्रतिनीधि सभासदस्यका उम्मेदवार उपेन्द्र यादवले ३१ वटा प्रचार सामग्रीका लागि ८१४ डलर खर्च गरेका छन्। काठमाडौं क्षेत्र नम्बर ५ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार प्रदिप पौडेलले २३ वटा प्रचार सामग्रीका लागि ७१७ डलर खर्च गरेका छन्।
जसपाका मोहम्मद इस्तियाक राईले १३० वटा प्रचार सामग्रीको लागि ६७७ डलर खर्च गरेका छन्।
त्यस्तै काठमाडौं क्षेत्र नम्बर ५ की उम्मेदवार रञ्जु दर्शनाले ४८ वटा प्रचार सामग्रीको लागि ६६६ डलर खर्च गरेकी छिन्। त्यस्तै रविन्द्र मिश्रले ४४ वटा प्रचार सामग्रीको लागि ५३६ डलर खर्च गरेका छन्।
नेपाली कांग्रेस पार्टीको नामबाट ४४६ डलर र ह्वाई नेपाली कांग्रेसको नामबाट २६ वटा प्रचार सामग्रीको लागि ५३५ डलर खर्च भएको छ।
त्यस्तै नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं गोरखा–२ का उम्मेदार पुष्पकमल दाहालले ३ वटा प्रचार सामग्रीको लागि ११२ डलर खर्च गरेका छन्। कांग्रेसका शशांक कोइरालाले १०० डलरमा ८ वटा सामग्री प्रवर्द्धन गरेका छन्। कांग्रेसकै विश्वप्रकाश शर्माले १७७ डलरमा ३२ वटा विज्ञापन गरेका छन्। राप्रपा नेपालका कमल थापाले १०० डलरमा चारवटा सामग्री प्रवर्द्धन गरेका छन् । एमालेका अग्नि खरेलले १४९ डलर खर्च गरेर १५ वटा प्रचार सामग्री प्रवर्धन गरेका छन् । त्यस्तै मानुषी यमी भट्टराईले १९ वटा सामग्रीका लागि २९९ डलर खर्च गरेकी छन् ।जसपाका राजेन्द्र श्रेष्ठले ५४ वटा सामग्रीको लागि ७७१ डलर तिरेका छन्। त्यस्तै माओवादी केन्द्रकी पम्फा भुसालले १९ वटा सामग्री प्रवर्द्धनमा १८२ डलर खर्च गरेकी छन्। तथ्यांकअनुसार हालसम्म ५ हजार ५६० वटा प्रचार सामग्रीको लागि ६७ हजार डलर भन्दा बढी खर्च भएको छ।
दल र उम्मेदवारले फेसबुकलाई विज्ञापन गरेको र तिरेको रकम खर्चको विवरणमा समावेश नगरे कारबाही हुने आयोगले जनाएको छ। सामाजिक सञ्जालबाट गरिने विज्ञापनको खर्चबारे उम्मेदवारले निर्वाचन सम्पन्न भएपछि कानुनबमोजिम पेस गर्ने निर्वाचन खर्च विवरणमा समावेश गरे/नगरेकोबारे आयोगको अनुगमन संयन्त्रमा रहेको अभिलेखसँग भिडाई परीक्षण गरिने निर्वाचन आयोगले जनाएको छ। त्यसैले पनि सामाजिक सञ्जालमार्फत हुने विज्ञापनका सबै खर्च विवरणसमेत चुस्तदुरुस्त राख्न सम्बन्धित सबै राजनीतिक दल र उम्मेदवारलाई आयोगले आग्रह गरेको निर्वाचन आयोगका प्रवक्ता पौडेल बताउँछन्।
आयोगले जारी गरेको ‘निर्वाचन व्यवस्थापनमा सामाजिक सञ्जालको उपयोगसम्बन्धी नीति, ’२०७७’बमोजिम निर्वाचनका सबै चरण र प्रक्रियामा सामाजिक सञ्जालको समुचित उपयोग गरिने जनाइएको छ। सामाजिक सञ्जालमा सम्प्रेषित सूचना सामग्रीको प्रभावकारी नियमन, अनुगमन तथा मूल्यांकनसम्बन्धी आयोगको सचिवालय र मातहतका कार्यालयसमेतको संयन्त्र बनाई काम कारबाहीको निरन्तर अनुगमन र मूल्यांकन गर्ने कार्य भइरहेको निर्वाचन आयोगको प्रवक्ता शालिग्राम पौडेल बताउँछन्।
आयोगका उपसचिव कमल भट्टराईका अनुसार फेसबुकमा कुन उम्मेदवारले कति खर्च गरेको हो सहजै हेर्न मिल्छ। उम्मेदवारले खर्चको विवरणमा समावेश नगरे आयोगले जरिवाना लगाउँछ, त्यो रिपोर्ट ७ वर्षसम्म रहन्छ। आयोगले तोकेको खर्चको सीमाभन्दा बाहिर गएर दल र उम्मेदवारदले खर्च गरे नगरेको निगरानी गरिरहेको भट्टराई बताउँछन्। मेटाले राजनीतिक दलहरूलाई कस्तो सामग्री फेसबुकबाट प्रचारप्रसार गर्ने भनेर तालिमसमेत दिएको थियो। कुन उम्मेदवारले कति खर्च गरेका छन्? मिथ्या सूचना, दुष्प्रचार भए नभएको हेर्न फेसबुकको मातृ कम्पनी मेटाले नेपाली कर्मचारी राखेको छ। अन्य मिडियामा पैसा तिरेर प्रचारप्रसार गर्नुभन्दा फेसबुक सस्तो र सजिलो माध्यम भएकाले पनि सामाजिक सञ्जालमा प्रचार गर्नेको संख्या बढ्दै गएको आयोगका अधिकारीहरु बताउँछन्।