काठमाडौं- यही मंसिर ४ गते हुन गइरहेको संघीय र प्रदेशसभाको निर्वाचनमा हिमाली जिल्ला रसुवामा सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेस र नेकपा एमालेका उम्मेदवारबीच मुख्य प्रतिपर्धा देखिएको छ।
निर्वाचनको मिति नजिकिएसँगै राजनीतिक दलहरुले आफ्नो चुनावी अभियानलाई तीव्र बनाएका छन्। प्रतिनिधसभाका लागि १ र र प्रदेशसभामा दुई निर्वाचन क्षेत्र भएको यस जिल्लामा कांग्रेसबाट मोहन आचार्य र एमालेबाट छोवाङ तेन्जिङ तामाङ चुनावी प्रतिपर्धामा छन्।
प्रतिनिधसभाका लागि यस क्षेत्रमा विभिन्न दलका १० जना र प्रदेशसभाका लागि २६ जना उम्मेदवार चुनावी मैदानमा छन्। गत स्थानीय तह निर्वाचनको परिणामलाई आधार मान्ने हो भने कांग्रेस र एमालेबीच तीव्र प्रतिस्पर्धा हुने देखिएको छ। नेपाली कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका आचार्य निवर्तमान सांसद समेत हुन्। अघिल्लो चुनावमा आचार्य १४ हजार ४५३ मत प्राप्त गरी प्रतिनिधिसभा सदस्य बनेका थिए। उनका निकटतम प्रतिद्वन्द्वी एमालेका जनार्दन ढकालले १० हजार २ सय ७८ मतमात्रै प्राप्त गरेका थिए।
उक्त निर्वाचनमा नेपाली कांग्रेस र बाबुराम भट्टराई नेतृत्वको तत्कालिन नयाँ शक्ति पार्टी नेपालका बीचमा गठबन्धन भएको थियो। नयाँ शक्ति पार्टीका तर्फबाट प्रेम तामाङ प्रदेशसभा सदस्यको उमेदवार बनेका थिए । त्यतिबेला कांग्रेसलाई राप्रपाले पनि सहयोग गरेको थियो, जसले गर्दा बाम गठबन्धन भएको अवस्थामा पनि नेपाली कांग्रेस नेतृत्वको गठबन्धनले जित हात पारेको थियो। तर पछि नयाँ शक्ति पार्टीको रसुवा जिल्ला कमिटी नै नेपाली कांग्रेसमा प्रवेश गरेपछि कांग्रेस एक्लै रसुवामा प्रभावशाली बनेको छ।
पहिलो पटक प्रत्यक्षतर्फ टिकट पाएका तामाङ एमालेका पुराना नेता हुन्। अघिल्लो निर्वाचनमा पराजित भएका एमालेका ढकालले सघाउने भए पनि तामाङले प्रतिनिधिसभाको प्रत्यक्षतर्फ टिकट पाएका हुन्। उनी २०७० सालमा भएको दोस्रो संविधानसभाका समानुपातिक सभासद हुन्।
गत स्थानीय तहको निर्वाचनमा कांग्रेस एमालेभन्दा ७९९ मतले अगाडि देखिन्छ। कांग्रेसले ११ हजार ८ सय ३९ मत प्राप्त गर्दा एमालेले ११ हजार ४० मत पाएको थियो। यसैगरी माओवादी केन्द्रले ४ हजार ३४२ मत पाएको थियो। स्थानीय तहको मतपरिणामलाई आधार मान्ने हो भने कांग्रेस, माओवादी र नेकपा एसबीच गठबन्धन रहेकाले आचार्य सहज अवस्थामा देखिन्छन्। तर, स्थानीय निर्वाचन र संघीय निर्वाचनको मतपरिणाम फरक पर्न सक्ने भएकाले ढुक्क हुने अवस्था नभएको बताइन्छ।
२०७४ को प्रतिनिधिसभा निर्वाचनमा विजयी कांग्रेस उम्मेदवार मोहन आचार्यले रसुवाको समृद्धिका लागि रसुवागढी नाका व्यवस्थापन, सडक, जलविद्युत्, पर्यटनलगायतलाई चुनावी मुद्दा बनाएका छन् भने एमाले उम्मेदवार छोवाङ तेन्जिन तामाङले रसुवामा हुने गरेको पैसाको राजनीतिलाई हटाएर विकास निर्माणलाई प्राथमिकता दिने एजेन्डा अघि सारेका छन्।
उक्त निर्वाचनमा यस क्षेत्रमा रहेका पाँच गाउँपालिकामध्ये नेपाली कांग्रेसले ३ र एमालेले २ गाउँपालिका प्रमुखमा जित हासिल गरेका थिए। नौकुण्ड, कालिका र आमाछोदिङ्मो गाउँपालिका प्रमुख कांग्रेसले जित्दा एमालेले उत्तरगया र गोसाइँकुण्ड गाउँपालिका जितेको थियो ।
यसैगरी प्रदेशतर्फ गठबन्धनबाट प्रदेश ‘क’मा नेपाली कांग्रेसका प्रभात लामा र नेकपा एमालेको तर्फबाट कुलप्रसाद भट्ट मुख्य चुनावी प्रतिपर्धामा छन्। नेमकिपाबाट बाबुकाजी माकजु, राप्रपाबाट महेशकुमार डङ्गोल, मङ्गोल नेशनल अर्गनाइजेशनका जितमान तामाङलगायत उम्मेदावर पनि चुनावी दौडमा छन्।
प्रदेश ‘ख’मा गठबन्धनले नेकपा माओवादी केन्द्रका इन्द्रप्रसाद गौतमलाई उम्मेदवार बनाएको छ। नेकपा एमालेका तेम्व्रेल तामाङ गौतमका प्रमुख प्रतिस्पर्धी हुन्। राप्रपाका हरिप्रसाद घिमिरे, नेमकिपाका तुल्सीराम ग्वाछा र स्वतन्त्र चेसाङ तामाङ पनि चुनावी प्रतिपर्धामा रहेका छन्।
कांग्रेस र एमाले दुवै दलका नेताहरुले रसुवाको विकासलाई प्रमुख चुनावी मुद्दाको रुपमा अगाडि बढाएको देखिन्छ। जिल्लाको विकास-निर्माण र समृद्धिका लागि भूमिका खेल्दै आएका आचार्यले आफू निर्वाचित भए आफ्ना पुराना कामहरुलाई निरन्तरता दिने बताउँदै आएका छन्। रसुवागढी नाका व्यवस्थापन, सडक, जलविद्युत, पर्यटन, जडिबुटी खेती, पशुपालन, कृषि, स्वास्थ्य, शिक्षा, खानेपानी, रोजगारी लगायतका क्षेत्रमा काम गर्दै यहाँका बासिन्दाको जीवनस्तरमा सुधार ल्याउने उनले प्रतिवद्धता व्यक्त गरेका छन्।
एमालेका उम्मेदवार तामाङले भने जिल्लामा पैसाको राजनीति अन्त्य गर्दै गरिब किसानका छोराछोरी राजनीतिमा आउनका लागि पहल गर्ने बताएका छन्। यसैगरी यस क्षेत्रको शिक्षा, स्वास्थ्य, पर्यटन र जलविद्युतमा महत्वपूर्ण भूमिका खेल्ने बताउँदै आएका छन्। निर्वाचन आयोगले यस निर्वाचन क्षेत्रमा ५२ मतदान केन्द्र र ३४ मतदानस्थल तोकेको छ। ३९ हजार ४ सय ५९ मतदाता रहेको यस निर्वाचन क्षेत्रमा २० हजार १ सय १८ पुरुष र १९ हजार ३ सय ४० महिला मतदाता रहेका छन्। उम्मेदवारहरुको समावेशी विवरण हेर्ने हो भने ५० प्रतिशत खस आर्य, ४० प्रतिशत आदिबासी जनजाति र १० प्रतिशत दलित रहेका छन्।