शनिबार, वैशाख ८, २०८१

संखुवासभामा खड्का र गौतमको तेस्रो भिडन्त, कसले मार्ला दोस्रो बाजी?

लगातार तीन वटा निर्वाचनमा सँगै प्रतिस्पर्धामा रहेका खड्का सत्ता गठबन्धनका कारण आफ्नो जित हुने निश्चित भएको बताउँछन् भने गौतम आफूले संखुवासभाको विकास निर्माणलाई गति दिएकाले जित हुनेमा ढुक्क छन्।
 |  सोमबार, कात्तिक २८, २०७९

खिला कार्की

खिला कार्की

सोमबार, कात्तिक २८, २०७९

काठमाडौं– ४ मंसिरको निर्वाचन जति–जति नजिकिँदो छ, त्यति–त्यति संखुवासभाको चुनावी माहोल पनि तातिदै गएको छ । चिसो बढ्दै जाँदा संखुवासभाको चुनावी माहोल भने तात्दै गएको छ। मुख्य गरेर एउटा मात्र निर्वाचन क्षेत्र भएको यो जिल्लामा पूर्वराज्यमन्त्री, कांग्रेस संखुवासभाका सभापति दीपक खड्का र नेकपा एमालेका निवर्तमान सांसद राजेन्द्र गौतम चुनावी दौडमा छन्। लगातार तीन वटा निर्वाचनमा सँगै प्रतिस्पर्धामा रहेका खड्का र गौतम संखुवसभाबासीबीच परिचित हुन्। यसमा  खड्काले गौतमलाई एक पटक पराजित गरेका छन् भने गौतमले पनि खड्कालाई एक पटक पराजित गरेका छन्।

triton college

गठबन्धन नगरी चुनाव लड्दा खड्काले २०७० मा संखुवासभाको तत्कालीन क्षेत्र–२ बाट गौतमलाई पराजित गरेका थिए। २०७४ मा वाम गठबन्धन हुँदा गौतमले खड्कालाई पराजित गरेका थिए। नेकपा एमालेको किल्लाको रूपमा रहेको संखुवासभामा पहिलो पटक २०७० मा कांग्रेसको झन्डा फहर्‍याएका थिए। २०४८ यता सधैं एमालेको कब्जामा रहेको संखुवासभाका तत्कालीन दुई निर्वाचन क्षेत्रमध्ये क्षेत्र–२ मा खड्काले २०७० मा ५७९ मत अन्तरले गौतमलाई पराजित गर्दै कांग्रेसको झन्डा फहर्‍याएका थिए। 

२०७४ मा बाम गठबन्धन भएको अवस्थामा खड्का १ हजार १३० मतले पराजित भएका थिए। २०७४ मा गौतमलाई साथ दिएको माओवादी यस पटक कांग्रेसका खड्काको साथमा छ। अर्कोतर्फ एमाले विभाजित भएर नेकपा एकीकृत समाजवादी पार्टी बनेको अवस्थामा छ। खड्का प्रदेशमा नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीका उम्मेदवार लिएर चुनावी मैदानमा छन्। 

लगातार तीन वटा निर्वाचनमा सँगै प्रतिस्पर्धामा रहेका खड्का सत्ता गठबन्धनका कारण आफ्नो जित हुने निश्चित भएको बताउँछन् भने गौतम आफूले संखुवासभाको विकास निर्माणलाई गति दिएकाले जित हुनेमा ढुक्क छन्। 

सांसद र राज्यमन्त्रीका रूपमा आफूले गरेको जिल्लाको विकास प्रयासलाई अगाडि बढाउन आफ्नो जित अपरिहार्य रहेको कांग्रेस नेता खड्काको भनाइ छ। उनले २०७० मा चार वर्ष सांसद रहँदा त्यसबापत पाउने सबै तलब भत्ताबापतको २२ लाख रुपैयाँ बढी जिल्लाको विकासमा लगाएको स्मरण गरे। खड्काले वसन्तपुर–चैनपुर, लेगुवा–तुम्लिङटार र तुम्लिङटार–चैनपुर–माम्लिङ–आँखीभुइँ–केवाँ सडकमा गरी साढे २ अर्ब बढी बजेट विनियोजन गराएको तथा ग्रामीण भेग जोड्ने सडकमा बाह्रै महिना यातायातका साधन चल्न सक्ने बनाएको बताए।

यस्तै, तत्कालीन क्षेत्र–२ मा चक्रपथ निर्माण, विद्यालयमा भौतिक सुधार र आफैं मन्त्री बनेकाले खानेपानीमा पर्याप्त काम गरेको उनको भनाइ छ।

corrent noodles
Metro Mart

एमाले नेता एंव निवर्तमान सांसद राजेन्द्र गौतमआफूले संखुवासभाको मेरुदण्डको रूपमा रहेको जोगबनी–किमाथांका सडकको रोकिएको काम सुचारु गरेको दाबी गरे। कांग्रेसका पालामा जिल्लामा विकासको खासै काम नभएको गौतमको भनाइ छ। अर्को सडककै कुरा गर्दा पूर्व–पश्चिम राजमार्गसँग जोडिन तुम्लिङटार, लेगुवादेखि चतरा जोड्ने सडक निर्माणका लागि बजेट विनियोजन गराएको दाबी गौतमको छ। यीबाहेक जिल्लामा थुप्रै रणनीतिक सडक निर्माणका लागि काम गरेको गौतमले बताए। पर्यटन प्रवद्र्धनका लागि आफूले तुम्लिङटार विमानस्थललाई व्यवस्थित गर्ने प्रयास गरेको, जीर्ण रहेको  टर्मिनल भवन नयाँ बनाउन बजेट विनियोजन गरेको उनको भनाइ छ। 

खड्काका ७ प्रतिबद्धता 
- संखुवासभाको एक मात्र तुम्लिङटार विमानस्थललाई विस्तार र आधुनिकीकरण गर्ने

- संखुवासभाको पर्यटन र उद्योग क्षेत्रको विकासका लागि विशेष जोड दिने

- सबैखाले पर्यटन हिमाली, पर्वतीय, धार्मिक, सांस्कृतिक, पर्यावरण, जलयात्रा, पदयात्रा, अध्ययन, अनुसन्धानलगायत पर्यटन विकास गरी आन्तरिक र बाह्य पर्यटकलाई आकर्षित गर्ने नीति लिने 

- जिल्लाभित्रका हिमाल आरोहीलाई सम्मान गर्ने, पदमार्ग, होमस्टे र होटलको प्रवद्र्धन गर्ने, पर्यटनसम्बन्धी जानकारी लिन र प्रवद्र्धन गर्न मोबाइल एप्लिकेसन तयार गरिने

-  किमाथांका नाका सञ्चालनमा ल्याई आयात–निर्यातका लागि सुक्खा बन्दरगाह निर्माण गरिने 

- स्थानीय उत्पादन प्रवद्र्धनका लागि ‘उपहार घर’ सञ्चालनमा ल्याइने, विगतमा विविध कारणले बन्द हुन पुगेका र हालसम्म नजर पुग्न नसकेका तर प्रशस्त स्वदेशी, विदेशी पर्यटक भित्र्याउन सकिने सम्भाव्यता रहेका पदमार्ग सञ्चालनमा ल्याइने 

- भारत र चीनलाई छोटो दूरीमा जोड्ने जोगबनी–किमाथांका सडकको ट्रयाक १८ महिनामै सम्पन्न गर्ने 

गौतमका ६ प्रतिबद्धता 
पहिलो प्रथामिकता ५ वर्षमा थालेका कामलाई निरन्तरता र पूर्णता दिने  

- पहाडी र भिरालो भूगोल भएको जिल्लामा सडक नभई कुनै उपाय छैन। त्यस कारण सडक पूर्वाधारको राम्रो विकासलाई पहिलो प्राथमिकता

- शिक्षा क्षेत्रमा प्राविधिक र व्यावसायिक शिक्षामा जोड दिने। अहिलेको निरन्तर शिक्षालाई व्यवस्थित गर्ने र सबै स्थानीय तहसम्मै प्राविधिक र व्यावसायिक शिक्षा पाउने वातावरण तय गर्ने 

- कृषि तथा पशुपक्षीपालनको व्यावसायिकीकरणका लागि सीप विकास, बिमा योजना लागू गर्ने 

- मकालु हिमाल आरोहण  प्रतिबन्धित अवस्थामा छ। यसलाई खुलाउन पहल गर्ने, यस क्षेत्रमा पदमार्ग निर्माण गर्ने र पर्यटकलाई आकर्षित गर्ने 

- राष्ट्रियताको सवाल, सीमाको विषय, विदेश नीतिको सवालमा नेकपा एमालेले ल्याएको नीतिलाई पछ्याउने

प्रतिनिधिसभाका अन्य उम्मेदवार
प्रतिनिधिसभातर्फ संखुवासभामा खड्का र गौतमसहित १० जना चुनावी मैदानमा छन्। यीमध्ये केही साना दल र केही स्वतन्त्र उम्मेदवार बनेका हुन्। संघीय समाजवादी फोरमले यहाँ भवानीप्रसाद राईलाई खडा गरेको छ भने नयाँ शक्ति पार्टी नेपालले फरेन्द्र शर्मा (दाहाल)लाई उम्मेदवार बनाएको छ। राष्ट्रिय जनता पार्टी नेपालबाट ललित गुरुङ, एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) बाट गोपालराज पौडेलको उम्मेदवारी परेको छ।

राष्ट्रिय जनमुक्ति पार्टीले यहाँ भरत राईलाई उम्मेदवार बनाएको छ भने ग्रीन पार्टी नेपालले टंकप्रसाद न्यौपानेलाई चुनावमा उठाएको छ। नरेन्द्रराज राई मंगल नेसनल अर्गनाइजेसनबाट उम्मेदवार बनेका छन् भने गुप्तबहादुर विष्ट स्वतन्त्र उम्मेदवारी दिएर चुनावी मैदानमा छन् ।

प्रदेशसभाका उम्मेदवार 
प्रदेशसभामा (१) मा गठबन्धन दलबाट माओवादी केन्द्रका राजेन्द्र कार्की र नेकपा एमालेका भविश्वर गुरुङबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ। माओवादीका कार्कीलाई कांग्रेस, नेकपा एकीकृत समाजवादीको साथ रहेको छ। २०७४ मा माओवादी केन्द्रका पूर्णप्रसाद राईले १६ हजार ६६६ ल्याएर विजय भएका थिए भने कांग्रेसका टंकप्रसाद राईले १४ हजार ६३२ मत मात्र ल्याएका थिए।

२०६४ र २०७४ मा माओवादीले जितेको थियो। कार्की माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा संखुवासभा इन्चार्जको जिम्मेवारीमा छन् भने गुरुङ एमाले प्रदेश कमिटी सदस्य हुन्। प्रदेशसभा (१) प्रदेश सदस्यमा एक–एक स्वतन्त्रसहित ८ जनाले मनोनयन दर्ता गराएका छन्। प्रदेशसभा (१) मा माओवादी आफ्नो साख जोगाउने पक्षमा छ भने एमाले माओवादीको साख तोड्ने पक्षमा छ। प्रदेशसभा (१) मा दुवै नयाँ अनुहार हुन्।

त्यस्तै, प्रदेशसभा (२) मा गठबन्धन दलका तर्फबाट नेकपा एकीकृत समाजवादीकी सरिता थापा खड्का र एमालेका विदुरकुमार लिङ्थेपबीच प्रतिस्पर्धा हुने भएको छ। २०७४ निर्वाचनमा एमालेका तुलसीप्रसाद न्यौपाने र कांग्रेसका दीपककुमार लिम्बूबीच प्रतिस्पर्धा भएको थियो। एमालेका न्यौपानेले १७ हजार ५१४ ल्याएर विजयी भएका थिए भने कांग्रेसका लिम्बूले १६ हजार १४० मत पाएका थिए। प्रदेशसभा (२)मा दुवै नयाँ अनुहार हुन्। प्रदेशसभा (२) तर्फ स्वतन्त्र ३ सहित १० जनाले मनोनयन दर्ता गराएका छन्। जिल्लामा १ लाख १६ हजार ५५४ मतदाता छन्।

प्रकाशित: Nov 14, 2022| 13:32 सोमबार, कात्तिक २८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

राष्ट्रपतिको निर्वाचन कार्यतालिकाअनुसार मतदाताको नामावलीमा दाबी विरोध गर्न तोकिएको अन्तिम दिन बिहीबार मध्याह्नसम्म ५ वटा निवेदन परेका छन्।
राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

संघीय संसद्का ३३१ र प्रदेशसभाका ५५० जनाको नाम समावेश गरेर आयोगले ८८१ मतदाताको नाम सार्वजनिक गरेको हो।
८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

प्रतिनिधिसभा सदस्य २७५, राष्ट्रिय सभा सदस्य ५९ र प्रदेशसभा सदस्य ५५० गरी राष्ट्रपति निर्वाचनमा ८८४ जनाले मतदान गर्ने भएका हुन्।
राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

निर्वाचन आयोगले आगामी २५ फागुनको राष्ट्रपति निर्वाचन र ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनका लागि संघीय संसद् भवन रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसरमा कार्यालय स्थापना गरेको...
चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आयोगले प्रतिनिधिसभाका निवर्तमान सांसद रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरेपछि रिक्त चितवन २ मा १० वैशाखमा हुने भनिएको उपनिर्वाचनका दल दर्ता गर्न आह्वान...