बुधबार, वैशाख १२, २०८१

सातौं पटकसम्म पनि प्रतिस्पर्धीविहीन लाग्छन् देउवा

२०४८ देखि निरन्तर चुनावी लडिरहेका/जितिरहेका देउवा पाँच पटक मुलुकको प्रधानमन्त्री र दुई पटक कांग्रेस सभापति बनिसकेका छन्। सातौं पल्ट गृहजिल्ला डडेल्धुराबाट चुनावी मैदानमा उत्रिएका देउवालाई गठबन्धन, एमालेभित्रको असन्तुष्टि र हेभिवेट प्रतिस्पर्धी नहुँदा सिंहदबार छिर्न सहजे हुने देखिँदै छ।
 |  शुक्रबार, कात्तिक २५, २०७९

तीर्थराज बस्नेत

तीर्थराज बस्नेत

शुक्रबार, कात्तिक २५, २०७९

डडेल्धुरा– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सातौं पटक चुनावी मैदानमा छन्। प्रधानमन्त्रीसमेत रहेका देउवा गृहजिल्ला डडेल्धुराबाट प्रतिनिधिसभाका उम्मेदवार बनेका छन्। यसअघि ६ पटक चुनाव लडिसकेका देउवाले आजपर्यन्त पराजय भोग्नुपरेको छैन।

triton college

२०४८ देखि निरन्तर चुनावी लडिरहेका/जितिरहेका देउवा पाँच पटक मुलुकको प्रधानमन्त्री र दुई पटक कांग्रेस सभापति बनिसकेका छन्। 

यस्तो अवस्थामा सातौं पटक चुनावी मैदानमा उत्रिएका देउवाले पासा पल्टाउलान् वा उनको युगको समाप्ति होला? प्रश्न उब्जिएको छ। तर डडेल्धुराको राजनीतिक मनोविज्ञान र अन्य दलका रणनीति हेर्दा देउवा सातौं पटक निर्वाचित हुने सम्भावना धेरै देखिन्छ। यसअघिका ६ वटा चुनावमा भन्दा यस पटकको जित सहज हुने विश्लेषण धेरैको छ। 

यस्तो विश्लेषण हुनुका पछाडि तीन कारण देखिन्छन्। पहिलो–बलियो प्रतिस्पर्धी नहुनु। दोस्रो– पाँच दलीय गठबन्धन हुनु र तेस्रो कारण हो–एमालेभित्रको किचलोको फाइदा देउवाले लिन सक्ने सम्भावना।

यसअघिका ६ वटा निर्वाचनमा जस्तो बलियो प्रतिस्पर्धी यस पटक नरहेको तर्क कतिपयको छ। कांग्रेसका पूर्वजिल्ला सभापति रहेका कांग्रेस बीपीका वरिष्ठ उपाध्यक्ष कर्ण मल्ललाई देउवाको मुख्य प्रतिस्पर्धी ठानिएको छ। उनलाई नेकपा एमालेले समर्थन गर्ने बताएको छ। तर मल्ललाई सहयोग गर्ने कुरामा एमाले डडेल्धुरामा एकमत छैन। एमालेले विद्रोह गरेर स्वतन्त्र उम्मेदवारी दिएका विक्रमबहादुर शाहीका लागि मत मागिरहेको छ। मल्ललाई एमालेको एउटा तप्का र स्वतन्त्र उम्मेदवारी दिएका नेकपा एकीकृत समाजवादीका नेता तारा जोशी समूहले समर्थन गरेको छ।

corrent noodles
Metro Mart

२०४८ देखि देउवाको संसदीय प्रतिस्पर्धालाई नजिकबाट नियालेका तर नाम उल्लेख नगर्न आग्रह गरेका नागरिक समाजका एक अगुवा भन्छन्, ‘एमालेले मल्ललाई समर्थन गरेको भए २० हजारसम्म मत ल्याउने अवस्था बन्थ्यो। महोल पनि बन्थ्यो तर त्यो अवस्था छैन। विक्रम शाही स्वतन्त्र उठेका छन्। एमालेको भोट शाहीले लग्ने देखिन्छ। केही भोट देउवाले लैजान्छन्। त्यस कारण मल्लले देउवालाई टक्कर दिने गरी मत ल्याउने देखिँदैन।’

२०४८ देखि निरन्तर चुनावी लडिरहेका/जितिरहेका देउवा पाँच पटक मुलुकको प्रधानमन्त्री र दुई पटक कांग्रेस सभापति बनिसकेका छन्। सातौं पल्ट गृहजिल्ला डडेल्धुराबाट चुनावी मैदानमा उत्रिएका देउवालाई गठबन्धन, एमालेभित्रको असन्तुष्टि र हेभिवेट प्रतिस्पर्धी नहुँदा सिंहदबार छिर्न सहजे हुने देखिँदै छ।
मल्ललाई एमालेको पूर्ण समर्थन रहेको भए देउवालाई कडा टक्कर दिने अवस्था बन्थ्यो। तर एमालेको पूर्ण समर्थन मल्लले पाउन सकेका छैनन्। यसको फाइदा देउवाले लिने देखिन्छ। स्वतन्त्र उम्मेदवारी दिएका सागर ढकाल पनि देउवाविरुद्ध चुनावी मैदानमा छन्। तर उनी देउवाका प्रतिस्पर्धी बन्ने सम्भावना देखिँदैन।  २०४८ को निर्वाचनमा देउवाका मुख्य प्रतिस्पर्धी थिए– एमालेका गोविन्द कलौनी। उनी पछि कर्णाली प्रदेशका प्रमुख पनि बनेका थिए। २०५१ मा भने देउवाविरुद्ध एमालेले उम्मेदवारी दिएन। जनवादी मोर्चाका उपाध्यक्ष खेमराज मायालुलाई एमालेले समर्थन गरेको थिए।

२०५६ मा एमालेले पूर्वप्रशासक बिडी चटौतलाई मैदानमा उतारेको थियो। तर तीन वटै निर्वाचनमा देउवाविरुद्ध एमालेले पासा पल्टाउन सकेन। १० वर्षे सशस्त्र द्वन्दपछि देउवाका सदावहार प्रतिस्पर्धी देखिए– नेकपा माओवादी केन्द्रका नेता खगराज भट्ट। यसअघिका निर्वाचनमा दोस्रो शक्ति बन्दै आएको एमाले माओवादीको उदयपछि तेस्रो शक्तिमा खुम्चियो। भट्टले देउवाविरुद्ध २०६४, २०७० र २०७४ मा प्रतिस्पर्धा गरे। दुई पटक एकल प्रतिस्पर्धामा उत्रिएका भट्ट २०७४ मा एमालेसमेतको सहयोगमा उम्मेदवार बनेका थिए। तर देउवासँगको प्रतिस्पर्धामा उनले सफलता भने पाउन सकेनन्। वाम गठबन्धन हुँदा भट्टलाई देउवाले ६ हजार ९५१ मतले पराजित गरेका थिए। देउवाले २८ हजार ४४६ मत पाउँदा भट्टले २१ हजार ४९८ मत प्राप्त गरेका थिए।

‘भट्टजी नै देउवालाई टक्कर दिन सक्ने नेता हुनुहुन्थ्यो। यस पटक उहाँ गठबन्धनबाटै प्रदेशसभा ’क’मा उम्मेदवार हुनुहुन्छ। एमाले तितरबितरको स्थितिमा छ। सोही कारण देउवा यस पटक बलियो प्रतिस्पर्धीबिनै चुनावी मैदानमा देखिनुहुन्छ,’ नागरिक समाजका ती अगुवाले भने।

डडेल्धुरा क्याम्पसमा प्रध्यापन गरिरहेका पुष्पराज जोशी यस पटक डडेल्धुरामा कडा चुनावी टक्कर नहुने तर्क गर्छन्। युवाहरूको मत सागर ढकाल र कर्ण मल्लले बाँड्ने सम्भावना रहेको अनि एमाले कन्फ्युजनमै रहेको अवस्थामा देउवासँग कडा टक्कर दिने उम्मेदवार नरहेको उनको विश्लेषण छ। त्यसो त, देउवाले यस पटक सेन्टिमेन्टको मत पनि बटुल्ने सम्भावना उत्तिकै छ। ‘देउवा उमेरले पनि बूढो भइसक्नुभयो। यो अन्तिम पटक भन्ने धेरैलाई परेको छ। त्यस कारण उहाँले सहानुभूतिको भोट पाउनुहुनेछ। सुदुपश्चिम आफैंमा विकट क्षेत्र हो। तर विकट क्षेत्रको ब्रान्ड शेरबहादुर देउवा नै हो। त्यसको बेनिफिट उहाँले लिने देखिन्छ,’ जोशीले भने, ‘एमालेमा किचलो छ। कहिले विक्रमजीलाई सघाउने भन्छ, कहिले कर्णजीलाई। यो किचलोको फाइदा पनि देउवाले लिने देखिन्छ। सागर ढकालको उम्मेदवारी नभएको भए युवाको मत कर्णजीलाई जान्थ्यो। तर अब युवाको मत पनि बाँडिने दिखिन्छ। एमालेको आफ्नै उम्मेदवार भएको वा कर्णजीलाई पूर्ण समर्थन दिएको र सागर ढकालको पनि उम्मेदवारी नभएको भए चुनावी टक्कर राम्रै हुन्थ्यो। तर अहिले त्यो स्थिति देखिँदैन।’ 

पर्शुराम नगरपालिकाको केन्द्र जोगबुढामा भेटिएका हरिश धामी देउवाका लागि यस पटकको चुनाव अघिल्ला चुनावभन्दा सहज रहेको सुनाउँछन्। ’देउवा दाइ पाँच पटक प्रधानमन्त्री हुनुभयो। जिल्लाको विकासमा कायापलट हुनुपर्ने हो तर भएको छैन। यद्यपि डडेल्धुराको मान्छे प्रधानमन्त्री हुनु हाम्रा लागि गर्वको कुरा हो,’ धामी भन्छन्, ‘अघिल्ला चुनावमा प्रतिस्पर्धीले राम्रै टक्कर दिन्थे। यस पटक कर्ण दाइ मुख्य प्रतिस्पर्धी हो। तर मतान्तरमा ठूलो खाडल हुने सम्भावना छ।’

देउवालाई यस पटकको चुनाव थप सहज हुनुमा गठबन्धनको मत पनि कारक हो। सत्तारुढ पाँच दलीय गठबन्धनको मत र एमाले–कांग्रेस बीपीबीचको मतान्तरमा ठूलो खाडल देखिन्छ। त्यसमाथि एमालेभित्रै पनि विवाद हुँदा त्यसको फाइदा देउवाले उठाउने देखिन्छ। गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा वडाध्यक्षहरूले ल्याएको मतलाई आधार मान्दा डडेल्धुरामा कांग्रेस पहिलो शक्ति हो। कांग्रेसले २१ हजार ७३५ मत ल्याउँदा माओवादीले १२ हजार ८७८ मत ल्याएको थियो। एमालेले १० हजार ४४९ मत ल्याउँदा नेकपा एसले ५ हजार ४१,  नेपाली कांग्रेस बीपीले ३ हजार ६०४ मत ल्याएको थियो। राप्रपाले ७१४ र जसपा १५६ मत पाएको तथ्यांक निर्वाचन आयोगको छ।

डडेल्धुरामा माओवादी र कांग्रेसको मात्रै मत जोड्दा ३४ हजार ६१३ हुन्छ। त्यसमाथि नेकपा एसको मत थपिनेछ। एमालेभित्रको अन्तरकलहको फाइदासमेत देउवाले पाउने सम्भावना छ। यसले सातौं पटक संसद् छिर्ने देउवाको प्रयासलाई सहज बनाउने देखिन्छ। 

भट्टलाई मुख्यमन्त्री घोषणा गर्नुको अन्तर्य के? 

देउवा यस पटक जिल्लाका ७ वटै पालिकामा भोट माग्न पुगे। उनले सदरमुकाम, गन्यापुरा, अजयमेरु गाउँपालिका, भागेश्वर गाउँपालिका, नवदुर्गा गाउँपालिका, आलिताल गाउँपालिका र पर्शुराम नगरपालिकामा ४ दिनसम्म बसेर चुनावीसभालाई सम्बोधन गरे। देउवाको अन्तिम चुनावीसभा पर्शुराम नगरपालिकाको जोगबुढामा थियो। जहाँ उनले तीन वटा निर्वाचनमा आफैंसँग प्रतिस्पर्धा गरेका र अहिले प्रदेशसभा ‘क’मा उम्मेदवार बनेका भट्टलाई मुख्यमन्त्री बनाउने वचन दिए। ‘भट्टजीलाई मत दिएर जिताउनुहोला। मलाई पनि मत दिएर जिताइदिनुस्। भट्टजीलाई मुख्यमन्त्री बनाउने हो। हाम्रो पार्टीमा मैले भनेपछि नमान्ने भन्ने हुँदैन,’ देउवाले भनेका थिए। 

देउवाले भट्टलाई मुख्यमन्त्री बनाउने वचनसहित भोट माग्नुको कारण गठबन्धनको भोट तलमाथि हुन नदिनका लागि हो। ‘गठबन्धनको भोट तलमाथि नहोस् भनेर उहाँले भट्टजीलाई मुख्यमन्त्री  बनाउने घोषणा गर्नुभएको हो। उहाँले नेता–कार्यकर्तासँग पनि यही कुरा भन्नुभएको छ। डडेल्धुराको प्रधानमन्त्री र मुख्यमन्त्री राम्रै हुन्छ भन्ने उहाँको बुझाइ छ,’ कांग्रेस डडेल्धुराका एक नेताले सुनाए। 

देउवाले चार दिने जिल्ला बसाइका क्रममा विकास निर्माणका एजेन्डा अघि सारेका छन्। ‘डडेल्धुराको विकासका लागि मत दिनुस्। गर्न बाँकी अधुरा काम पाँच वर्षभित्रै पूरा हुनेछन्,’ देउवाले भनेका छन्।

चुनावअघि आक्रोश, मतदानका दिन भोट

जिल्लामा आशातीत विकास हुन नसकेकामा डडेल्धुराबासी असन्तुष्ट देखिन्छन्। भौतिक पूर्वधार विकासमा डडेल्धुराले फड्को मार्न नसकेको र पाँच पटक प्रधानमन्त्री हुँदा पनि चासो नदेखाएकामा देउवाप्रतिको असन्तुष्टिको ग्राफ बढ्दै गएको छ। निर्वाचनको समयबाहेक देउवा बिरलै गृहजिल्ला पुग्छन्। त्यस कारण पनि मतदाता देउवाप्रति असन्तुष्ट देखिन्छन्। देउवा पाँच पटक प्रधानमन्त्री हुँदा जिल्लाको विकासले गति लिन नसकेकोप्रति असन्तुष्टि जनाउनेहरू पनि भेटिन्छन्। तर असन्तुष्टि रहे पनि भोट भने देउवालाई नै हाल्ने तर्क उनीहरूको छ।

‘देउवा दाइ पाँच पटक प्रधानमन्त्री हुनुभयो। तर डडेल्धुराको विकास भने सोचेअनुसार अघि बढ्न सकेन। निर्वाचनका बेला मात्रै हो उहाँलाइ हामीले यहाँ देख्न पाउने,’ पर्शुराम नगरपालिकाका डिल्लीराज चटौतले भने, ‘हरेक चुनावअघि उहाँप्रति असन्तुष्टि हुन्छ। भयंकर विरोध भएको पनि सुनिन्छ। तर पहिलो राउन्ड उहाँलाई देखेपछि असन्तुष्टि आधा मत्थर हुन्छ। दोस्रो राउन्ड देखेपछि असन्तुष्ट नै लाइन बसेर मत दिन्छन्। यस पटक पनि हुने त्यही हो।’

डडेल्धुरा क्याम्पसमा प्रध्यापन गरिररहेका जोशी यस पटक देउवालाई केही हुन्छ भन्ने आशले भन्दा पनि डडेल्धुराको शानका रूपमा चित्रित गरेर मतदाताले मत हाल्ने दाबी गर्छन्। ‘काम हेर्दा मतदाता सन्तुष्ट  देखिँदैनन्। तर उमेर र परिचयको हिसाबले देउवाजीलाई सहज हुने देखिन्छ। काम हुने आशमा भन्दा पनि उपेक्षित क्षेत्रको ब्रान्डका रूरुपमा मत उहाँले पाउने देखिन्छ,’ जोशीले भने, ‘देउवाजीको उदय हुनुअघि अन्य क्षेत्रका मान्छेले डडेल्धुराको नाम पनि उच्चारण गर्न जान्दैन थिए। तर उहाँले डडेल्धुराको र सुदूरपश्चिमको गरिमा उँचो बनाइदिनुभएको सत्य हो। यसै आधारमा पनि मतदाता खुसी देखिन्छन् र मत दिने गरेका छन्।’

प्रकाशित: Nov 11, 2022| 13:16 शुक्रबार, कात्तिक २५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...