बिहीबार, वैशाख १३, २०८१

प्रदीपले मत मागे, मतदाताले विश्वास

काठमाडौं क्षेत्र नम्बर ५ बाट नेपाली कांग्रेसका उम्मेदवार प्रदीप पौडेलको घरदैलो कार्यक्रममा देखिएको दृश्य थियो यो। बिहीबार पौडेलको घरदैलो अभियान गंगालाल अस्पतालको गेट अगाडिबाटै सुरु भएको थियो। रोचक के भने केही समय बिना उम्मेदवार घरदैलो कार्यक्रम चल्यो।
 |  बिहीबार, कात्तिक २४, २०७९

कौशल काफ्ले

कौशल काफ्ले

बिहीबार, कात्तिक २४, २०७९

काठमाडौं- बाँसबारीस्थित सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रको शैय्यामा छटपटाइरहेका बिरामी र तिनका आफन्त सुखमा थिएनन्। आनन्दमा थिएनन्। हुन पनि स्वाभाविक हो, आफन्त दुःखमा पर्दा नजिकका मान्छेलाई दुख्छ। अस्पताल परिसरभित्र ओहोरदोहोर गरिरहेका ‘बिरामी कुरुवा’को अनुहारमा देखिएको छटपटाहटले यस्तै जनाउँथ्यो। 

triton college

अस्पताल परिसर बाहिर भने अलि फरक दृश्य देखियो। जहाँ ‘जनताको दुःखमा साथ दिने’ प्रतिबद्धता घन्किरहेको थियो। अस्पतालको गेटअगाडि भेला भएको एउटा समूहले जनताको सुख–दुःखको साथी भन्दै गीत बजाइरहेको थियो– 

‘भोट के’मा रुखमा, प्रदीप पौडेल सुखदुःखमा

हाम्रो प्रदीप दाइ सुखदुःखमा

हाम्रो प्रदीप भाइ सुखदुःखमा...’

corrent noodles
Metro Mart

पृष्ठभूमिमा गीत बजाउँदै कार्यकर्ता मत मागिरहेका थिए। गंगालाल अस्पतालअगाडि भेला भएका टोली मत माग्दै साई मार्गतर्फ हिँड्ने तरखरमा थियो। अस्पतालमा आउजाउ गरिरहेका कतिपय मानिसले पनि केही छिन अडिएर यो दृश्य हेरिरहे। कतिले ‘नेताहरुको काम छैन’ भन्दै बेवास्ता गरेर हिँड्थे भने कतिले प्रदीप युवा भएकोले आश गर्ने ठाउँ रहेको बताउँथे।

जो यहाँका मतदाता नै थिएनन्, उनीहरुले समेत प्रदीपलाई शुभेच्छा व्यक्त गरे। ‘युवा भएकोले केही गर्छ कि भन्ने हो। जितेपछि बिग्रिएन भने त राम्रो हो। अरु त के भनौँ र खै? पुरानाले भन्दा त नयाँले नै जितोस्,’ अस्पतालबाहिर उभिएका झापाका तोयानाथ शर्मा प्रदीपप्रति सकारात्मक सुनिए। 

केही मानिस स्वतन्त्रले जितोस् भन्ने चाहन्थे। केहीले प्रदीपलाई नै ‘स्वतन्त्रजस्तै’ भनेर परिचय दिन्थे। जस्तो– अस्पतालकै गेट अगाडि उभिएका दुईजनाको वार्तालाप रोचक थियो। गठबन्धनको नाचगान हेर्दै त्यहाँ रहेका एकजनाले ‘अब त स्वतन्त्रले जित्नुपर्छ’ भनेर दलहरुको आलोचना गरे। तत्काल छेउमै उभिएका अर्कोजनको जवाफ आइहाल्यो– ‘यी पनि स्वतन्त्रजस्तै राम्रा छन् रे। जित्छन् भन्छन्।’ त्यसपछि हामीले थप कुरा गर्न खोज्दा उनीहरुले इन्कार गरे। यता गठबन्धनको टोली साई मार्गतर्फ अघि बढिरहेको थियो।


काठमाडौं क्षेत्र नम्बर ५ बाट नेपाली कांग्रेसका उम्मेदवार प्रदीप पौडेलको घरदैलो कार्यक्रममा देखिएको दृश्य थियो यो। बिहीबार पौडेलको घरदैलो अभियान गंगालाल अस्पतालको गेट अगाडिबाटै सुरु भएको थियो। रोचक के भने केही समय बिना उम्मेदवार घरदैलो कार्यक्रम चल्यो। गणेशमान सिंहको स्मृति दिवसमा आयोजित एक कार्यक्रममा पौडेल गएकाले प्रदेशका उम्मेदवारले नै घरदैलो अभियान सुरु गरेको कार्यकर्ताको भनाइ थियो। 

प्रदेशसभाका उम्मेदवार श्याम बहादुर खड्काले घरदैलो सुरु गरे पनि गीत र नारा भने प्रदीपकै नाममा घन्किएको थियो। साई मार्गका घरमा खड्का डुल्दा पृष्ठभूमिमा संगीत गुञ्जिरह्यो–

‘आजसम्म कोही आएन देश बनाउने खाले

प्रदीपजस्तो नेता चाहियो भन्छन् जनताले

नेता भनेकै प्रदीप पौडेल हो...’

साई मार्गका घरहरु घुमेर सकिँदासम्म प्रदीप आएका थिएनन्। तर जब धापासी मार्गमा टोली पुग्यो, त्यहाँबाट छिर्ने गल्लीको मुखमा उनको गाडी आएर रोकियो। कानमा फोन लाउँदै गाडीबाट ओर्लिएका प्रदीपलाई कार्यकर्ताले घेरिहाले। अघिसम्म खड्काको अघिपछि रहेकाहरु अब प्रदीपको वरपर आए। डोर्याउँदै घरघर डुलाउन थाले।

अब भने चुनावी घरदैलो केही तात्तिएजस्तो देखियो। प्रदीपले घरमा बस्नेहरुसँगमात्र हैन, सडकमा हिँडिरहेकालाई पनि हात जोड्न थाले। मुसुक्क मुस्कुराउँदै मतको अपिल गर्न थाले। उनको पछिपछि लागे प्रदेशसभा उम्मेदवार खड्का।

‘सुरेन्द्रको घर यता हो।’ भीडबाट कसैले भन्यो। प्रदीप रोकिए। सुरेन्द्रको घरका सदस्यलाई कुरे। मतको अपिल गरेर पुनः बाटो तताए। काठमाडौं–५ का मतदातासँग घुलमिल नभएकोले उनी स्वयंले घरहरु चिन्दैनथे। तर त्यहाँ घरमुलीलाई चिनेका स्थानीयले बाटो देखाउने काम गरेका कारण सहज भइरहेको थियो। त्यसैले स्थानीय कार्यकर्ताले जसोजसो भन्यो, उसैउसै प्रदीप हिँड्थे। 


‘ओइ आशिष!’ भीडबाटै कसैले घरको सदस्यलाई बोलाइदिन्थ्यो। ‘राकेश... राकेश...’ भन्दै कसैले चिच्याउँथ्यो। त्यसपछि उनीहरु झर्थे, भेट गर्थे। उनीहरु नभएको अवस्थामा घरका अन्य परिवारहरुले मत हाल्ने विश्वास दिलाएर प्रदीपलाई पठाउँथे।

बिहानको समय भएकोले कतिपय भने चिया खान क्याफेतिर निस्किसकेका हुन्थे। घरमा नभेटिएकालाई त्यहीँ गएर प्रदीपले मत माग्थे। स्थानीय कार्यकर्ताले चिनाइदिन्थे। कतिपय भने अफिसको लागि निस्किसकेका हुन्थे। मान्छेहरु घरमै नहुने वा ननिस्किने जस्तो गरेको पनि देखियो। त्यसबेला कार्यकर्ताहरुबाट जवाफ आउँथ्यो, ‘यो भीआईपी एरिया परेकोले पनि मान्छेहरु निस्किन खोज्दैनन्। कम्पाउन्डवाला घरमा यस्तै हुन्छ। फेरि अफिस जाने टाइम पनि भइसक्यो।’

बिहीबार बिहान पौडेलले घरदैलो अभियान चलाएको क्षेत्र नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतको घर भएको क्षेत्र थियो। त्यहाँ महतलाई लिएर कार्यकर्ताले ठट्टा पनि गरे। ‘प्रकाशशरण दाइको घर यहीँ तल हो नि। तर के गर्ने भोटै छैन। महामन्त्री भएर के गर्नु?’ एक कार्यकर्ताले ठट्यौली पारामा भने। केही छिन हाँसो गुञ्जियो। तर प्रदीपले भने यस विषयमा कुनै चासो देखाएनन्। मत माग्न व्यस्त देखिन्थे उनी।

राष्ट्रिय मुद्दाहरुमा बहस गर्ने, सार्वजनिक चासोको विषयमा धारणा राखिहाल्ने भएकोले पनि होला, अधिकांशका लागि उनी नौलो भने थिएनन्। अनुहार नचिन्नेले पनि नाम सुनेपछि ‘ए ए...’ भन्दै परिचित झैँ व्यवहार गर्थे। एकजनाले त मुखै फोरेर भनिहालिन्– ‘नाम त सुनेको थिएँ। तपाईं नै हो? राम्रो लाग्छ मलाई...।’

शुभेच्छुकसामु नरम सुनिएका उनले घरदैलो भन्दा सामूहिक भेट गर्नुपर्ने भन्थे। स्थानीय कार्यकर्तालाई घरदैलोमा फाट्टफूट्ट मान्छे भेटिएकोले एउटा सामूहिक अन्तरक्रिया कार्यक्रम मिलाउनु भनेर अह्राउँथे।

प्रदीपको टोली कटेपछि पनि त्यहाँ रहेका अन्यले पनि थप कुरा राखे। रामप्रसाद अधिकारी भनेर परिचय दिएका स्थानीयबासीले प्रदीपले गलत पार्टी छानेकोसम्म भने। उनी दलहरुले गर्ने व्यवहारबाट वाक्क सुनिए। ‘मान्छे त ठिक हुन्। तर कांग्रेस सम्झिएसी झ्याउ लाग्छ। एमाले पनि उस्तै हो। बरु स्वतन्त्र उठेको भए हुने थियो,’ उनले भने।

त्यतिन्जेल मूल सडक छोडेर प्रदीपको टोली स–साना गल्लीभित्र छिरिसकेको थियो। हामी पनि भिडलाई पछ्याउँदै उनीसामु पुग्यौँ। आफ्ना कार्यकर्तासँग गल्लीको बाटो धेरै नै सानो भएको गुनासो गरिरहेका थिए। ‘गल्ली नै सानो–सानो रैछ। सुरुमै ध्यान नदिँदा अब सधैँ समस्या हुन्छ,’ उनले भन्दै थिए। कुरा सकिन नपाउँदै एक कार्यकर्ताले भनिहाले,– केही छैन दाइ अब जितेपछि फराक पार्नुपर्छ।’

घरदैलोका क्रममा प्रदीपले भोट माग्थे, मतदाताले विश्वास। ‘ल भोट पक्का भयो। तर हाम्रो भोटको सम्मान हुनुपर्यो,’ मतदाताको आग्रहमा प्रदीपको जवाफ हुन्थ्यो, ‘हुन्छ। गर्ने नै त्यही उद्देश्य छ।’

भेटघाटको क्रममा जिल्लाबाहिर चिनिएका कतिपय मान्छे पनि त्यहाँ भेट हुन्थे। मखमली मार्ग पुग्नै लाग्दा बाटोमा एकजना मतदाता आए। उनले आफूले प्रदीपलाई सहयोग गरेको सम्झिए। ‘दाइ तपाईंलाई एउटा कुरो था छ? सप्तरी जाँदा कञ्चनपुर बस्नुभएको था छ? तपाईं हामीसँगै बस्नुभएको थियो नि,’ कार्यकर्ताले यसरी चिनाउँदा अंगालो हाल्दैै उनले भने, ‘हो नि, तपाईंहरुले त्यो दिन कत्रो रेक्स्पेक्ट गरिदिनुभयो।’

यसरी उनी कार्यकर्ता र मतदातासँग निकटता बढाउँदै थिए। समय माग्नेहरुलाई ‘समय छैन’ भनेर नभन्दिन आफ्ना सहयोगीलाई आग्रह गर्थे। यो प्रसंग पनि मखमली मार्गको हो। एकजनाले उम्मेदवारसँग समय माग्दा घरदैलोका कारण असम्भव रहेको बताएका थिए। त्यसपछि ती कार्यकर्तालाई सम्झाउँदै उनले भने, ‘टाइम माग्नेहरुलाई टाइम छैन भन्ने हैन के! मिलाइहालिन्छ नि!’

शुभेच्छुकसामु नरम सुनिएका उनले घरदैलो भन्दा सामूहिक भेट गर्नुपर्ने भन्थे। स्थानीय कार्यकर्तालाई घरदैलोमा फाट्टफूट्ट मान्छे भेटिएकोले एउटा सामूहिक अन्तरक्रिया कार्यक्रम मिलाउनु भनेर अह्राउँथे। हतारमा भेट्नुभन्दा मज्जाले बसेर मतदाताको कुरा सुन्न रुचि रहेको उनको भनाइ थियो।

यसअघिको मतपरिणाम

काठमाडौं क्षेत्र नम्बर ५ मा काठमाडौं महानगरपालिकाका २, ३, ४ र ५, बूढानीलकण्ठ नगरपालिकाका ३, ४, ५, ६, ७ र टोखा नगरपालिकाका २, ३, ४, ५, ६, ७ नम्बर वडाहरु पर्छन् आसन्न निर्वाचनमा प्रतिनिधिसभातर्फ काठमाडौं–५ मा दलहरुबाट १५ र स्वतन्त्र १४ गरी २९ जना प्रतिस्पर्धामा छन्।

गत स्थानीय तहको मतलाई आधार मान्दा यस क्षेत्रमा एमाले बलियो देखिन्छ। यद्यपि वडाको मतको आधारमा प्रतिनिधिसभा चुनावको विश्लेषण नहुने विश्लेषकहरु बताउँछन्। निर्वाचन आयोगका अनुसार वडाध्यक्षको मतले एमालेका पक्षमा १९ हजार ७०३ मतदाता देखिन्छन्। यस्तै कांग्रेसको पक्षमा १४ हजार ८५३, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को पक्षमा २ हजार ८२२, नेकपा एकीकृत समाजावदीको पक्षमा १ हजार ८२७, नेकपा माओवादी केन्द्रको पक्षमा १ हजार १६८ र जनता समाजवादी पार्टी (जसपा) ५८ मत छ। 

२०७४ को प्रतिनिधिसभा निर्वाचनमा यस क्षेत्रमा कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतलाई पराजित गर्दै ईश्वर पोखरेल प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए। उनले कुल खसेको मतमध्ये २३ हजार २९ मत र डा. महतले १३ हजार १६९ मत प्राप्त गरेका थिए। यसपालि पनि उनै पोखरेल प्रतिस्पर्धामा छन्।


प्रकाशित: Nov 10, 2022| 20:19 बिहीबार, कात्तिक २४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

राष्ट्रपतिको निर्वाचन कार्यतालिकाअनुसार मतदाताको नामावलीमा दाबी विरोध गर्न तोकिएको अन्तिम दिन बिहीबार मध्याह्नसम्म ५ वटा निवेदन परेका छन्।
राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

संघीय संसद्का ३३१ र प्रदेशसभाका ५५० जनाको नाम समावेश गरेर आयोगले ८८१ मतदाताको नाम सार्वजनिक गरेको हो।
८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

प्रतिनिधिसभा सदस्य २७५, राष्ट्रिय सभा सदस्य ५९ र प्रदेशसभा सदस्य ५५० गरी राष्ट्रपति निर्वाचनमा ८८४ जनाले मतदान गर्ने भएका हुन्।
राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

निर्वाचन आयोगले आगामी २५ फागुनको राष्ट्रपति निर्वाचन र ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनका लागि संघीय संसद् भवन रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसरमा कार्यालय स्थापना गरेको...
चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आयोगले प्रतिनिधिसभाका निवर्तमान सांसद रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरेपछि रिक्त चितवन २ मा १० वैशाखमा हुने भनिएको उपनिर्वाचनका दल दर्ता गर्न आह्वान...